विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर कमिटीले कमिटीको कार्यविभाजन टुङ्ग्याएको छ । जसमा युवा नेता चन्दनकुमार मण्डललाई एकैसाथ दुईवटा जिम्मेवारी दिइएको छ। पार्टीको महानगर समितिले गरेको निर्णयअनुसार मण्डलले वडा र योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्व गर्ने अवसर पाएका छन् ।

महानगर पार्टी अध्यक्ष दिनेश राजवंशी (देव) द्वारा जारी परिपत्रअनुसार, चन्दनकुमार मण्डललाई विराटनगर महानगरपालिका वडा नं. १ को इन्चार्ज तोकिएको छ। पार्टीको युवा संगठन वाइसिएल नेपालको विराटनगर महानगर संयोजकको भूमिका पनि उनैले निर्वाह गर्ने भएका छन्।

गत असार ३ गते अध्यक्ष राजवंशीको अध्यक्षता र केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णय कार्यान्वयनका लागि असार १६ गते परिपत्र जारी गरिएको छ ।
बैठकले अन्य नेताहरूको पनि कार्यविभाजन गरेको छ। क्षेत्र नम्बर ४ अन्तरगत पर्ने महानगर क्षेत्रको जिम्मेवारी धर्मलाल माझी र चन्द्रबहादुर वनको नेतृत्वमा, क्षेत्र नम्बर ५ अन्तरगत पर्ने महानगर क्षेत्रको जिम्मेवारी सनोजकुमार यादव र सोनु केवटको नेतृत्वमा र क्षेत्र नम्बर ६ अन्तरगत पर्ने महानगर क्षेत्रको जिम्मेवारी दिनेशकुमार कामत र मनिष सोनीलाई दिने निर्णय गरिएको छ ।

त्यस्तै, विभिन्न विभागीय प्रमुखहरू पनि तोकिएका छन् । स्कुलिङ विभाग प्रमुखमा महेन्द्रप्रसाद मण्डल, स्वास्थ्य विभाग प्रमुखमा मो. रेहान र आर्थिक विभाग प्रमुखमा मनिस सोनीलाई जिम्मेवारी दिइएको छ। खेलकुद विभाग द्वारिका रेग्मी, शिक्षा विभागमा पराशर भट्टराई, प्रशासन विभाग रेणुकान्त यादवको नेतृत्वमा गठन गर्ने निर्णय गरिएको छ ।

परिपत्रमा श्रावण १५ गतेभित्र महानगरको नियमित बैठक, वडा बैठक, वाइसिएल नेपाल महानगर सम्मेलन र टोल कमिटी निर्माण जस्ता संगठनात्मक कार्ययोजना सम्पन्न गर्न निर्देशन दिइएको छ। साथै, पार्टी कार्यालयका लागि भवन खोज्ने र बैठकका लागि लेवी उठाउने जस्ता आर्थिक निर्णयहरू पनि गरिएका छन्।