विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षीय सांसदहरू नै असन्तुष्ट देखिएका छन् । आइतबार बसेको नेपाली कांग्रेस कोशीको संसदीय दलको बैठकमा कांग्रेसका सांसदहरूले बजेटप्रति चरम असन्तुष्टि व्यक्त गरे । बैठकमा केही सांसदले पदबाटै राजीनामा दिएर जानेसम्मको धम्की पनि दिए ।
पूर्व आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका शमशेर राइले कांग्रेससमेत सहभागी भएको बजेट चित्त बुझ्दो नभएको बताए । उनले बैठकमा सांसद पदबाटै राजीनामा दिने चेतावनी दिएका हुन् । कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउनुपर्छ । ‘ठूला दल भएर ल्याएको बजेट न केन्द्रमा सन्तुलित देखियो न प्रदेशमा । बजेट जनताका लागि हुनुपर्छ कि मन्त्रीका लागि ? यो मन्त्रीका लागि बनाइएको बजेटमा हामी जान सक्दैनौं भनेर उहाँले कडा आलोचना गर्नुभयो’, बैठकमा सहभागी एक सासदले भने ।
बैठकमा सहभागी सांसदहरुका अनुसार केहीले बजेट संशोधन गर्नुपर्ने आवाज पनि उठाएका छन् । उनीहरुले बजेट संशोधन गर्न नसक्ने भए कांग्रेसले आफ्ना मन्त्रीहरु फिर्ता गर्नुपर्ने बताएका थिए । बैठकमा व्यक्त पूर्वमन्त्री राईले व्यक्त गरेको भनाई उद्धृत गर्दै एक सांसदले भने, ‘बजेट करेक्सन गर्न सक्दैनौं भने संसदीय दलले मन्त्री फिर्ता बोलाउ, त्यो पनि सक्दैनौं भने संसदीय दलबाट राजीनामा देऊ, त्यो सबै कुरा हुँदैन भने हाम्रो राजीनामा स्वीकृत गर भनेर बैठकमा उहाँले कडा आलोचना गर्नुभयो ।’
अहिलेसम्म गरिएका राजनीतिक नियुक्तिहरूमा सन्तुलन नभएको भन्दै बैठकमा नेतृत्वकोसमेत आलोचना गरिएको थियो ।
बजेट निर्माणमा २०१५ साल विपि कोइरालाले ल्याएको बजेटको प्रभाव देखेर आर्थिक व्यवस्थापनको नमूना व्यक्तिका कारण कांग्रेसी भएको र आज त्यसैका पार्टीले बजेट बनाउँदा असन्तुलित बनाएको भन्दै सांसदहरुले सरकारमा सहभागी भएका मन्त्रीहरुप्रति आक्रोस पोखेका थिए ।
बजेट जनताका लागि हुनुपर्छ मन्त्रीका लागि होइन भन्दै बैठकमा सासहरुदले प्रश्न उठाएको बैठकम सहभागी प्रदेशसभा सदस्यहरुले बताए । बैठकमा मन्त्रीहरु निरिह देखिएका थिए । उनीहरुले बजेट निर्माणमा आफूहरुबाट त्रुटि भएको स्वीकार गरे । सडकमा जति मान्छे उफ्रिएका छन् ठूला दलहरूले सरकार चलाउँदा गरेका त्रुटिहरूका कारणले भएको भन्दै सांसदहरुले बजेट माथिको जारी छलफल रोक्न माग गरेका थिए ।
संसदीय दलका उपनेता हिमाल कार्की, अमृत अर्याललगायताका नेताहरुले बजेट सैद्धान्तिक मर्म भन्दा फरक ढंगबाट निर्माण भएको आरोप लगाएका थिए । ‘नीतिगतरूपमा बजेट ठिक ठाउँबाट आएन, धेरै सांसदहरुले प्रश्न उठाउनुभयो, यो बजेट कुनै पनि कोणबाट ठिक देखिएन,’ उनीहरुले भनेका थिए ।
प्रदेश सभा सदस्य मान बहादुर लिम्बूले पर्यटन मन्त्री सदान्नद मण्डलले आफ्नो क्षेत्रमा मात्रै पर्यटनको बजेट लगेको भनेर चर्को विरोध जनाएका थिए । कोशीमा नेपाल कांग्रेका चार मन्त्रालयमा तीन जना मन्त्री छन् । भौतिक पूर्वधार र स्वास्थ्य मन्त्रालय भने भुपेन्द्र राईले हेरिरहेका छन् । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम छन् । राई र हाङ्गामाले भने सबैलाई समेटेर बजेट ल्याएको लिम्बूले बताए । ‘एमालेकै मन्त्री भएका मन्त्रालयले तपाइँहरुका क्षेत्रका बजेट के के छन् भनेर माग्नु भएको थियो,’ लिम्बूले भने ‘पर्यटन, वन तथा वातावरण मन्त्रीले फोन पनि नउठाउने, भेट पनि नदिने भनेर प्रश्न उठेका छन् ।’ कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने छ ।
‘मन्त्रीहरुबाटै कमजोरी भयो’
गत असार १ गते आर्थीक वर्ष २०८२-०८३ का लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेश गरेका थिए । उनले आफैंले ल्याएको बजेटमा केही गल्ती भएको स्वीकार गरेका छन् । बजेट बनाउने बेलामा केहि मन्त्रीहरुले प्रदेशभरिकै मन्त्री हुँ भनेर बिर्सदा त्रुटि भएको बताए ।
उनले भने, ‘म १४ जिल्लाको मन्त्री हो भन्ने सोचाइ नपुगेको पनि हुनसक्छ, कतिपय कुराहरू आगामी दिनमा सुधार्नुपर्ने देखिन्छन् ।’ दुईवटा बजेट हेर्दा मन्त्रीजीहरूको क्षेत्रमा अलि बढी गयो अरूमा गएन भन्ने परिस्थितिलाई नकार्न गाह्रो हुने उनले बताए । मन्त्रीहरुको नाम नलिए पनि पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वधार विकास मन्त्रीको क्षेत्रमा अधिक बजेट जाँदा सन्तुलित बन्न नसकेको महशुस उनले गरेको देखिन्थ्यो । मन्त्री मगरले बजेटप्रतिको विरोधलाई भने सामान्य लिएका छन् । आफूले मागेजति पाइएन भनेर असन्तुष्टि व्यक्त हुनु स्वभाविक हुने उनको भनाइ थियो ।