विराटनगर ।कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्षमा गरेका प्रगति विवरणसहितको आर्थिक सर्भेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनु पूर्व शनिबार सार्वजनिक गरिएको आर्थिक सर्भेक्षण प्रतिवेदनमा सडक, पुल, खानेपानी, सिंचाईलगायत स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको प्रगतिको विवरण उल्लेख छ । प्रतिवेदनमा प्रदेश सरकारले सुशासन र आर्थिक अनुशासनमा पनि सुधार गर्दै लगेको तथ्याङ्क छ ।
प्रतिवेदनका अनुसार कोशी प्रदेशमा हाल ३ लाख ५९ हजार ९६० हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । जसमध्ये वर्षैभरी सिंचाइ सुविधा पुगेको क्षेत्रफल ३७.३ प्रतिशत छ । साना सिंचाइ कार्यक्रम मार्फत प्रदेश सरकारले १ हजार १५७ वटा कृषक कुलो सुधार भएर २० हजार ४ सय हेक्टर जमिनमा सिंचाइ सुविधा व्यवस्थित गरेको छ । प्रदेशमा हालसम्म ३९० किलोमिटर तटबन्ध निर्माण भएको छ भने ८३ वटा पहिरो व्यवस्थापनको काम भएको छ ।
यस्तै प्रदेश सरकारबाट निर्माणाधिन ७७ वटा बहुवर्षीय सडक आयोजनामध्ये २०८१ चैत सम्ममा ३९ वटा सडक निर्माण सम्पन्न भएको छ । ती सडकको जम्मा लम्बाई ४४८.६४ किलोमिटर रहेको छ । यस्तै कोशी प्रदेश सरकार स्थापनाभए यता गत चैत मसान्तसम्ममा ९३ वटा मोटरेवल पुल, २२४ झोलुङ्गे पुल निर्माण भएको छ । यस अवधिमा १ हजार ४२०.५७ किलोमिटर ग्राभेल, १ हजार २ सय किलोमिटर कच्ची सडक र ६१२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।
यस्तै प्रदेशले यो अवधिमा जनता आवास कार्यक्रम मार्फत ७ हजार २८४ वटा घर निर्माण गरी आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायको नागरिकलाई हस्तान्तरण गरेको जनाएको छ ।कोशी प्रदेशका ९३.०६ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको सुविधा पुगेको छ । प्रदेश सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाबाट मात्रै ४५ लाख ९ हजार ४३० जनसंख्या लाभान्वित भएका छन् ।
अरु प्रगति के के छन् ?
कोशी प्रदेशको कूल जनसंख्यामध्ये ९९.३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । जबकी पाँच वर्ष अगाडि ८२.४३ प्रतिशत जनसंख्यामा मात्रै विद्युत्को पहुँच पुगेको थियो । कोशीमा आर्थिक वर्ष २०७७–७८ मा जम्मा २८० मेगावट विद्युत् उत्पादन हुन्थ्यो भने आर्थिक वर्ष २०८१–८२ को फागुनसम्ममा विद्युत् उत्पादन ६३१ मेगावाट पुगेको छ । कोशी प्रदेशमा स्वास्थ्यको पहुँचमा पनि वृद्धि हुँदै गएको छ । प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरिएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा कोशी प्रदेशमा विभिन्न व्यक्तिले अन्तरंग, बहिरंग र आकस्मिक सेवा गरी ७५ लाख ३३ हजार पटक स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । प्रदेशको सरदर आयु ७०.४ वर्ष रहेको छ । यस प्रदेशको नवजात शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा २० रहेका छ । प्रति लाख जीवित जन्ममा मातृ मत्युदर कोशी प्रदेशमा १५७ रहेको छ ।
कोशी प्रदेशका सबै तहका अस्पताल २२५ र आधारभूत स्वास्थ्य सेवा केन्द्र १ हजार ४५७ गरी १ हजार ६३५ वटा स्वास्थ्य संस्था रहेका छन् । आयुर्वेद स्वास्थ्य संस्थाको संख्या ११८ वटा रहेको छन् । कोशी प्रदेशमा विगत सात वर्षमा २४८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
कोशी प्रदेश सरकारले बेरुजू फस्र्यौट प्रगति पनि बढाउँदै लगेको छ । कोशी प्रदेश सरकारले सात आर्थिक वर्षको लेखापरीक्षणमा भने ८ अर्ब ४२ करोड २१ लाख बेरुजू रहेकोमा ३ अर्ब २ करोड १५ लाख फस्र्यौट गरी ५ अर्ब ४० करोड ६ लाख रुपैयाँ बाँकी रहेको छ । जसमध्ये पनि ३ अर्ब ७६ करोड ३३ लाख रुपैयाँ (६९.६ प्रतिशत) पेश्की बेरुजु रहेको छ ।
प्रदेशमा रहेका मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ७९ करोड ८५ लाख राजस्व संकलन गरेको छ । गत वर्ष याही अवधिमा ३ अर्ब ५० करोड ५० लाख राजस्व संकलन भएको थियो । जसमा पूँजीगत लाभकरको हिस्सा ३३.७ प्रतिशत थियो ।
कोशी प्रदेशमा हालसम्म ठूला २५२, मझौला ३९९ र साना ८५ हजार २७० वटा गरी जम्मा ८५ हजार ९१९ वटा उद्योग संचालनमा छन् । कोशीमा २०८१ चैत मसान्तसम्ममा लघु, घरेलु तथा साना उद्योगको संख्या ९८ हजार ६ सय १४ रहेको छ । ती उद्योगमा प्रस्तावित कूल लगानी १ खर्ब २४ अर्ब ७१ करोड र कूल प्रस्तावित रोजगारी १ लाख ५५ हजार ३ सय २२ रहेको छ ।
कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जालमा भएको विस्तारका कारण बैंकिङ सेवामा जनताको पहुँच बढ्दै गएको छ । मोबाइल बैंकिङ सेवा लिने ग्राहकको संख्या आर्थिक वर्ष २०७६–७७ मा १६ लाख ११ हजार रहेकोमा क्रमशः वृद्धि हुँदै २०८१–८२ को चैतसम्म ३८ लाख ५८ हजार पुगेको छ ।
२०८१ फागुनसम्म कोशी प्रदेशमा कुल ४९१ बीमक संख्या रहेका छन् । उक्त संख्या मुलुकको कुल बीमक संख्याको १६.४ प्रतिशत हो । कोशी प्रदेशमा २०८१ फागुनसम्म बीमा प्रिमियम बापत संकलन भएको रकम १६ अर्ब १ करोड पुगेको छ ।
सन् २०२३ मा कोशी प्रदेशमा ठूला हिमाल पर्वतारोहीको संख्या ८ सय ५८ रहेको थियो । सन् २०२४ मा पर्वतारोहीको संख्या २० प्रतिशतले वृद्धि भई १ हजार ३२ पुगेको छ । आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा पर्ने हिमाल पर्वतारोहणबाट १ अर्ब ३९ करोड ३५ लाख रोयल्टी संकलन भएको छ । प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजनाबाट आर्थिक वर्ष २०७५–७६ देखि २०८०–८१ सम्म १ हजार ७४ वटा पर्यटकीय पूर्वाधार निर्माण सम्पन्न भएको छ भने ९६ वटा आयोजनाको विस्तृत अध्ययन गरिएको छ ।
प्रदेशमा २०८० चैत्रसम्ममा १६० वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन रहेको थियो । २०८१ चैत्रसम्म १७९ विद्यालयमा विस्तार भएको छ । यस कार्यक्रमबाट १ लाख ५६ हजार विद्यार्थी लाभान्वित भएका छन् । प्रदेश स्थापना भएदेखि २०८१ चैत्र मसान्तसम्म जम्मा ६७ वटा ऐन, ३३ वटा नियमावलीहरू, ५ वटा गठन आदेश, ३ वटा नीतिहरू र ८८ वटा अन्य कानूनहरू निर्माण भएका छन् ।
आर्थिक सूचकहरु
कोशी प्रदेशमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान छ । संघीयता कार्यान्वयनको ७ वर्षमा कर्णाली प्रदेशको औसत आर्थिक वृद्धिदर सबैभन्दा बढी ४.३ प्रतिशत रहेको छ भने बागमती प्रदेशको सबैभन्दा कम ३.१ प्रतिशत छ । यस अवधिमा कोशी ्रदेशको औसत आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहेको छ ।
कोशी प्रदेशको कूल गार्हस्थ उत्पादन ९ खर्ब ७० अर्ब ७४ करोड रहने अनुमान छ । जसमा कृषि क्षेत्रको योगदान ३४.१ प्रतिशत रहेको छ । पछिल्लो ७ वर्षमा कोशी प्रदेशको कूल गार्हस्थ उत्पादनमा द्धितीय क्षेत्रको हिस्सा घट्दै गएको छ भने सेवा क्षेत्रको हिस्सा बढ्दै गएको छ । यस अवधिमा कोशी प्रदेशको कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्र, द्धितीय क्षेत्र र सेवा क्षेत्रको ओसत योगदान क्रमशः ३४.३, १६.६ र ४९.१ प्रतिशत रहेको छ ।
कोशी प्रदेशको प्रति व्यक्ति आय १ हजार ४०१ अमेरिकी डलर रहने अनुमान छ । राष्ट्रिय आय भने १ हजार ४९६ अमेरिकी डलर रहेको छ । प्रदेशगत रुपमा हेर्दा बागमती र गण्डकी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान छ । अन्य प्रदेशको भने न्यून हुने अनुमान छ ।