विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा सडक निर्माणलाई प्राथमिकता नदिई पुल, भवन, अस्पताल भवन र रुग्ण आयोजनालाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई अन्तिम चरणमा पुर्याउँदै गर्दा बजेटको आकार र प्राथमिकताहरु पनि करिब निश्चित गरेको हो ।
प्रदेश सरकारले आगामी वर्षको बजेट चालु आर्थिक वर्ष २०८१÷८२ को भन्दा केही ठूलो आकारमा ल्याउने तयारी गरेको छ । कोशी प्रदेश सरकारले यस पटक असार १ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको छ ।
आगामी आर्थिक वर्षमा सरकारले अगाडि सारेको नीति तथा कार्यक्रमका विषयमा प्रदेशसभामा झण्डै एक साता छलफल गरी पारित गरेको छ । यस्तै बजेटका सिद्धान्त र प्राथमिकताहरु प्रदेशसभाबाट पारित गरिसकेको छ ।नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलपछि स्थगित भएको कोशी प्रदेशसभा बैठक आज शुक्रबार बस्दै छ । शुक्रबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले कोशी प्रदेशको आर्थिक सर्वेक्षण सभामा पेश गर्ने कार्यसूचि तय भएको छ । बजेट सम्बन्धी सबै पूर्वतयारी सम्पन्न गरी कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको आम्दानी र खर्चको अनुपातका आधारमा बजेट ल्याउने तयारी गरेको जनाएको छ ।
सरकारले मन्त्रालयहरुलाई २८ अर्ब ८५ करोडको सिलिङमा आधारित भएर योजना प्रविष्ट गर्न निर्देशन दिएको थियो । सोही आधारमा मन्त्रालयहरुबाट योजनाहरु प्राप्त हुने मन्त्रालयको अनुमान छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेशको यथार्थ आम्दानीमा आधारित भएर बजेट तर्जुमा गरी पेश गरिने जानकारी दिनुभयो । उनले प्रदेश योजना बैंकमा समावेश भएका योजनाहरुलाई मात्र बजेटमा समावेश गरिने जानकारी दिए । योजना बैंकमा करिब ४५ हजार योजनाहरु दर्ता भएका छन् ।
सरकारले आउँदो बजेटमा प्रदेशसभा सदस्यहरुबाट करिब २ अर्ब रुपियाँ बराबरको योजनामा बजेट विनियोजन गर्ने तयारी गरिरहेको सरकार निकट स्रोतहरुले बताएका छन् । प्रत्यक्ष निर्वाचित सांसदहरुबाट जनही २ करोड ५० लाख र ३७ जना समानुपातिक सांसदबाट जनही १ करोड ५० लाखका दरले थप योजना माग गरेको बताइएको छ ।
सरकारले आगामी वर्षका लागि पनि गत वर्षको भन्दो केही बढाएर करिब ३६ अर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि कोशी सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँको बजेट ल्याएको थियो ।
संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान बढ्दै जानुपर्नेमा निरन्तर घट्दै गइरहेको र सशर्त र विषेश अनुदान रकम पनि घट्ने सम्भावना रहेकोले सरकारले बजेटको आकारलाई गतवर्षको भन्दा धेरै बढाउन सक्ने अवस्था भने नरहेको मन्त्रालयले जनाएको छ ।
आगामी वर्षको बजेटमा केही बहुवर्षे योजनाहरु थप गर्ने तयारी सरकारले गरेको छ । विशेष गरेर सडकमा भन्दा पुल निर्माणलाई आगामी वर्ष प्राथमिकतामा राख्ने छ । त्यस्तै सरकारी भवन, जिल्ला अस्पताल भवनहरु बजेटको प्राथमिकतामा पर्ने आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले जानकारी दिनुभयो । मन्त्री रानाले भने, ‘बजेट निर्माण प्रक्रिया करिब टुप्पामा पुगेको छ । आउने बजेटमा विगतको भन्दा केही प्राथमिकताहरु परिवर्तन हुनेछन् । केही बहुवर्षे आयोजनाहरु थपिने छन् । सरकारी भवन निर्माणलाई जोड दिइने छ, जिल्ला अस्पतालका भवनहरुमा जोड रहनेछ । रुग्ण भएका आयोजनाहरु सम्पन्न गर्नेतिर जोड दिइने छ भने पर्यटन वर्षको कार्यक्रममा पनि सरकारले विशेष ध्यान दिनेछ । यस्तै यस वर्ष आयोजना गर्न नसकेको चिया सम्मेलनलाई पनि जोड दिइने छ ।’
चालु आर्थिक वर्षको बजेट बनाउँदा गतवर्ष संघीय सरकारबाट प्राप्त हुने सशर्त र विषेश अनुदानबाहेक २९ अर्ब यथार्थ आम्दानी हुने अनुमान प्रदेश सरकारले गरेको थियो । तर उक्त लक्ष्य अनुसार सरकारले आम्दानी भने गर्न सकेको छैन । चालु वर्षको जेठ २४ गतेसम्म कोशी प्रदेश सरकारले २८ अर्ब ९२ करोड ८३ लाख ३२ हजार ४९१ रुपियाँ आम्दानी गरेको छ । कोशी सरकारले समानीकरण अनुदान तर्फ कोशी प्रदेशले ८ अर्ब २० करोड, ६२ लाख, ८० हजार ३२० रुपियाँ प्राप्त गरेको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ४० करोड ५१ लाख ७ हजार ३२९ रुपियाँ आम्दानी गरेको छ । जसमा सशर्त चालुतर्फ १ अर्ब ६६ करोड ३८ लाख ८४०, सशर्त पुँजीगत तर्फ १ अर्ब ७४ करोड १३ लाख ६ हजार ४८९ रुपियाँ आम्दानी गरेको छ । विशेष अनुदानतर्फ ४५ करोड ७७ लाख ७६ हजार र समपूरक अनुदानतर्फबाट ४३ करोड २३ लाख रुपियाँ आम्दानी गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । आन्तरिक राजश्व भने सरकारले लक्ष्यको करिब ९० प्रतिशत संकलन गरिरहेको जनाएको छ । प्रदेशले आन्तरिक राजस्व ४ अर्ब ९८ करोड संकलन गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेश सरकारले चालु वर्षमा बढीमा अनुमानको ८५ प्रतिशत मात्र आम्दानी हुने जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले जेठ २४ गते प्रकाशन गरेको विवरणअनुसार चालुतर्फ ११ अर्ब ४ करोड ६१ लाख १५ हजार ८०७ रुपियाँ सरकारले खर्च गरेको जनाएको छ । यस्तै पुँजीगततर्फ ८ अर्ब ५ करोड ६५ लाख, ४ हजार ७२५ रुपियाँ गरी जम्मा १९ अर्ब १० करोड २६ लाख २० हजार ५३३ रुपियाँ खर्च गरेको छ । यो खर्च कुल अनुमानको जम्मा ५४.१५ प्रतिशत मात्र हो । आर्थिक वर्षको अन्तिममा बढी भुक्तानीको चाप पर्ने भएकोले बाँकी रहेको ४ हप्तामा थप ८ अर्बजति भुक्तानी दिनुपर्ने अवस्था रहेकोले कोशी प्रदेश सरकारले चालु वर्षमा झण्डै ८२ प्रतिशत बजेट खर्च गर्ने अनुमान गरेको छ ।