विराटनगर । मिटरब्याजको नाममा सर्वसाधारणलाई ठगी गरी करोडौं असुलेको आरोपमा दुई वर्ष जेल बसेर सफाइ पाएका विराटनगरका संजयप्रसाद रौनियार उर्फ ‘मन्टु’ले जेलबाट छुटेपछि फेरि त्यही पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिने, पैसा माग्ने र कानुनी कारबाहीको डर देखाएर त्रास फैलाउने गरेको आरोप पीडितहरुले लगाएका छन् ।
मोरङ जिल्ला अदालतबाट ठगी र आपराधिक लाभको मुद्दामा सफाइ पाएपछि छुटेका मन्टु हाल पुनः मोरङका विभिन्न गाउँका सर्वसाधारणलाई हुलाकमार्फत धम्कीपूर्ण चिठी पठाएर रकम माग्न थालेका हुन् । पीडितहरूका अनुसार, उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी तिर्नुपर्ने भन्दा बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए । तर, अब फेरि मन्टुले अझै पैसा तिर्नु बाँकी छ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर गुनासो गरेका हुन् ।

हुलाकमार्फत पत्र पठाउने र भनेजतिको पैसा नदिए प्रहरी प्रशासन लगाएर कानुनी कारवाही गर्ने धम्की मन्टुले दिने गरेको मोरङको सुनवर्षी नगरपालिका ४ का अमितकुमार यादवले पत्रकार सम्मेलनमा बताए । अमितका बुवा महावीरले मन्टुसँग ६ वर्ष अगाडि १ बिघा १ कठ्ठा १५ धूर जग्गा राजीनामा पास गरेर २ लाख रुपैयाँ ऋण लिएका थिए । मन्टुसँग लिएको दुई लाखको ब्याज र साँवा गरेर २० लाख रुपैयाँ तिरसके । तर मन्टुले अझै २० लाख रुपैयाँ दिएपछि मात्रै महावीरको जग्गा फिर्ता गरिदिने बताए । त्यसपछि महावीरसहित मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ लिएको भन्दै जाहेरी दिए । २९ मंसिर २०७७ मा मोरङ प्रहरीले मन्टुलाई पक्राउ गर्यो ।
मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि १३ माघ २०७७ मा मन्टुविरूद्ध मुद्दा दायर भयो । मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको थियो । मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ ।

त्यसपछि अदालतमा दायर भएको अभियोग पत्र अनुसार मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजालशले मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिए । त्यसपछि उनी मोरङ कारागार चलान भए । कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधरणलाई उनले आफू जग्गा फिर्ता गर्न तयार भएको सन्देश पठाए । त्यसबेला निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक छलफल भयो । मन्टुले सहमतिको पत्रमा हस्ताक्षर गर्नका लागि श्रीमति ज्योती रौनियारलाई अख्यितारी दिए । वडा कार्यालयमा निवेदन दिने १७ जना र मन्टुको तर्फबाट श्रीमति ज्योतीले निवेदकहरुलाई नै जग्गा बिक्री गर्ने सहमति २०७७ चैत ८ गते गरिन् । मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने सहमति बन्यो । मन्टु त्यसबेला पूर्पक्षका लागि थुनामा रहेकोले उनको श्रीमति रौनियारलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए ।
‘यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमार्फत २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेको छ । नदिए कानुन अनुसार कारवाही गर्ने भन्दै धम्कीपूर्ण पत्र पठाएको छ,’ पत्रकार सम्मेलनमा उनले मन्टुले जेठ १४ गते बुधबारको दिन पठाएको पत्र देखाउँदै भने, ‘जेलबाट छुटेपछि फेरि मन्टुको पुरानो मिटरब्याज र असुली धन्दा चलाउन थालेको रहेछ । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्रचार गरेर पैसा माग्दैछन् । यो गैरकानुनी धन्दाको विरुद्ध हामी फेरि पीडितहरु संगठित भएर न्यायको खोजीमा जानेछौं ।’
२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतको तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजालशले मन्टुलाई ठगी र अपराधिक लाभ मुद्दाबाट सफाइ दिने फैसला गरेका हुन् । फैसला बमोजिम जेलबाट मन्टु छुटेर आएपछि अहिले प्रहरी प्रशासान आफ्नो पक्षमा रहेको भन्दै मैले भनेजति पैसा नदिए थुनामा पठाउने भन्दै धम्की दिने गरेको पत्रकार सम्मेलनमा विराटनगर ८ का गणेश रायले गुनासो गरे । मन्टुले हुलाकमार्फत पत्रचार गरेर २५ लाख रुपैयाँ दिनुपर्ने भन्दै पठाएको पत्र उनले देखाए । गणेशका अनुसार उनका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कठ्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए । विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रुपैयाँ दिए । पछि मन्टु जेलगएपछि उनको श्रीमतीलाई २५ लाख रुपैयाँ दिएर एक कठ्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए । ‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घरभाडा बापत ९ लाख रुपैयाँ नबुभाएको भन्दै मुद्दा हाले । मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने पैसला पनि गर्यो । तर, अदालतले भनेजति पैसा तिर्न नसकेपछि ज्वाइँ महानन्द राय १३ असोज २०८१ मा जेल गए । उनलाई बिगो बराबरको दुई वर्ष कैद सजाय भयो । जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो,’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावमा रहनुभएको थियो । मन्टुले दिएको तनावले ज्वाइँको मृत्यु भयो ।’
धनपालथान १ नोचाका गुल्जार मियाँले आफ्नो बावु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र आफूले नलिएको बताए । ‘उनले भनेजति पैसा दिएपछि जग्गा बुवा इनुस मियाँको नाममा आएको छ । अहिले फेरि मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले हामीले नबुझेका हौं ।’
यसरी अहिले मन्टुले आफूविरुद्ध प्रहरीमा उजुरी दिने ११ जनालाई पैसा माग्दै पत्रचार गरेको उनीहरुले बताए । मन्टुले पठाएको पत्रमा सबैलाई एकै प्रकारको भाषा प्रयोग गरिएको छ ।
मन्टुले पत्रचार गरेको मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दा हुन् । उनीहरुले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर, मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन गाउँमा एजेन्ट नै खटाउने गरेका थिए ।
विक्री गरेको जग्गाको पैसा मागेको हुँ : मन्टु

मन्टु भनिने संजयप्रसाद रौनियारले भने आफूले कसैलाई दुःख दिने नियतले नभएर विक्री गरेको जग्गाको पैसा माग्न पत्र पठाएको बताएका छन् । उनले आफूमाथि लागेको अरु सबै आरोप भने अस्वीकार गरेका छन् । उनले भने, ‘म जेलमा हुँदा जग्गा बिक्री भएको थियो, तर त्यसको पैसा अहिलेसम्म पाएको छैन । मैले चिठी पठाएर धम्की दिएको होइन, आफ्नो पैसा मागेको मात्रै हो ।’

उनको दाबी अनुसार, सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । ‘यदि पैसा दिइएन भने कानुनी प्रक्रिया अगाडि बढाउँछु,’ उनले भने, ‘मैले चिठी पठाएर धम्की दिने गरेको छैन । कारागारमा भएको बेला जग्गा बेचेको र त्यतिबेलाको सहमति अनुसार मेरो खातामा पैसा नहालिदिएका कारण अहिले मागेको हुँ । मैले बिक्री गरेको जग्गाको एक पैसा पनि पाएको छैन, त्यही पैसा मैले खोजेको हुँ, कसैलाई धम्की दिएको छैन ।’ उनले अहिले कसैलाई पनि मिटरब्याजमा पैसा नलगाएको दाबी पनि गरे ।