नेप्सेले घट्दा कारोबार बढ्यो

विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक ९.०८ अंक घटेर २६५५.३८ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । बुधबार ९ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख २ हजार ८९५ पटकको कारोबारमा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको २ करोड ८६ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

पियोर इनर्जीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ७४ रुपैयाँ ९० पैसा बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावरको शेयरमूल्य ५ दशमलब ९९ प्रतिशतले बढेको छ । कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलब ९० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ७५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।

बिहिबार, ३० जेठ, २०८२, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर