इलाम । सूर्योदय नगरपालिका ३ मा रहेको बुद्धपार्कमा पछिल्लो समय भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुन थोलेको छ । पर्यटकीय जिल्लाको नामले चिनीने इलामको कन्याम, पशुपतिनगर र श्रीअन्तुपछि भारतीय पर्यटक धेरै पुग्ने गन्तव्यमा गनिन थालेपछि बुद्धपार्क नयाँ पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि गठन भएको कोशी प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासमा क्रमिक रुपमा लगानी बढाउदै गएपछि यहाँको बुद्धपार्क नयाँ पर्यटकीय गन्तब्यमा विकसित भएको हो । यसअघि बुद्धपार्कमा सामान्य पर्यटकीय गतिविधि मात्रै हुँदै आएको थियो । पछिल्लो समय बुद्धपार्क मात्र नभएर यसबेला इलामका अधिकांश ग्रामीणभेगका हरेक गौंडा आन्तरिक र वाह्य पर्यटकका लागि रमणीय स्थल बन्न पुगेका छन् ।

फिक्कल पशुपतिनगर सडकमा पर्ने बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमासँगै पर्यटन पूर्वाधार निर्माण गरिएको छ । बुद्धपार्क क्षेत्रमा हरियाली चियाबारी पनि छ । यो दृश्यले बुद्ध पार्कको रमणीय परिवेशलाई अझै कसि लगाउने काम गरेको छ ।
यहाँको चियाबारीसँगै पार्क क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकहरुको आवतजावत बढ्दै गएको सूर्योदय नगरपालिका ३ का वडाध्यक्ष लोकबहादुर प्रधानको दावी छ ।

प्रधानको भाषामा ‘पार्क निर्माणपछि भारतीय पर्यटकले यो स्थानलाई इलाममा आफ्नो पहिलो गन्तव्य बनाएका छन् ।’ सीमा क्षेत्र पशुपतिनगरबाट छोटो दुरीमा आइपुग्ने बुद्धपार्क निर्माणमा कोशी प्रदेश सरकारको ६० र स्थानीय सरकारको ४० प्रतिशत लगानी छ ।यो पार्क निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारले ले अहिलेसम्म ४ करोड भन्दा बढी लगानी गरिसकेका छन् । यो पार्क निर्माणका लागि अनुमानित ८ करोड रुपैयाँ खर्च हुने वताइएको छ ।

बुद्धपार्क निर्माणमा खटिदै आएकी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू भन्छिन्, बुद्ध पार्क निर्माण पूर्णता नपाउँदै भारतीय पर्यटकहरुको भीडभाड बढेको छ ।’ प्रदेश सरकार गठन भएपछि प्रथम आर्थिक वर्षको बजेटबाट समपुरक अनुदानमा १ करोड ३० लाख लगानी भएको थियो । प्रदेश सरकारले दोस्रो आर्थिक वर्षमा १ करोड, तेस्रो आर्थिक वर्षमा ७लाख र चौथो आर्थिक वर्षमा २९ लाख रुपैयाँ लगानी गरेको गरिसकेको छ ।

बुद्धपार्क निर्माणको थालनी तत्कालीन मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले आर्थिक वर्ष २०७२÷०७३ मा सुरु गरेको थियो । क्रमागत रुपमा संचालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि कोशी प्रदेश सरकारले स्वामित्व लिएको थियो । १७ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको पार्कमा अहिले भारतीय पर्यटकका लागि आफ्नो पहिलो गन्तव्य भएको सूर्योदय नगरपालिका ३ का पूर्व अध्यक्ष होमबहादुर कार्कीले बताए ।

इलामकै सन्दकपुर गाउँपालिका ५ मा रहेको जौबारी बजार नेपाल–भारत सीमा क्षेत्रमा रहेको ऐतिहासिक बजार हो । यो बजारले पनि अहिले पूर्वाधार विकासले मुहार फेरेको छ । विस २०२४ सालदेखि अस्तित्वमा रहेको यो बजार नेपालमा उत्पादन भएको घिउ, छुर्पी, अलैँची, खाध्यान्नलगायतका सामग्रीको खरिद हुने प्रमुुख बजारका नामले चिनिन्छ ।

यो बजार पुग्न भारतीयले मात्र नभएर स्थानीयले पनि भारतीय सडक प्रयोग गर्नुको विकल्प थिएन । भौगोलिक विकटताका कारण यो बजार छाँयामा पर्दै आएको थियो । तर मुलुक संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकारका कारण अहिले यो बजारको गुल्जार भएको छ ।स्थानीय थेक्तेन लामा भन्छन्– ‘देश संघीयतामा गएपछि स्थानीय र प्रदेश सरकारको लगानीले हाम्रो गाउँको मुहार फेरिएको छ ।’ हामी भारतीय पर्यटकहरुको भरमा बाँचेका थियौ । उनले भने–‘प्रदेश सरकारबाट मेची राजमार्गको फिक्कलबाट नयाँ बजारसम्म कालोपत्रे गरेको र नयाँ बजारबाट जौबारीसम्म सडक स्तरोन्नती भएपछि यसवेला जौबारी आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षक थलोमा परिणत भएको छ ।’

जौबारी जोड्ने सडकको १९ किलोमिटर कालोपत्रे र १२ किलोमिटर सडक स्तरोन्नति प्रदेश सरकारबाट भएको हो । जौबारीसम्म सन्दकपुर गाउँपालिकाले पनि सडकले जोडेको छ । सडक स्तरोन्नति भएर जौबारी जोडिएपछि खाद्यन्नको कारोवार गर्दै आएका व्यवसायीहरु पनि पर्यटन व्यवसाय तर्फ आकर्षित भएको सन्दकपुर ५ का वडा सदस्य कुमार गुरुङ्गले बताए । पछिल्ला दिनमा पर्यटन व्यवसायमा संलग्न भएका मध्येकी एक हुन् लक्की शेर्पा । उनी भन्छिन्–‘खाद्यन्न खरिद बिक्रि गर्ने हामी पर्यटकको चहलपहल भएपछि व्यवसाय सुरु गरेपनि चल्ने नचल्ने आाशंका थियो । अहिले त खाद्यन्नको कारोबार भन्दा पर्यटन व्यवसाय भरपर्दो भएको छ ।’

सन्दकपुर गाउँपालिका पर्यटकीय गाउँ भएकाले अहिले आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकहरु पनि आउने क्रम बढेको छ । जसले गर्दा स्थानीयबासीले गुणस्तरीय सेवा दिन होटल र लजमा लगानी गर्न थालेपछि हिजोअस्तिको सानो वस्तीले अहिले बजारको रुपम लिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।

पूर्वको मुस्ताङका नामले चिनिने जौबारी पुग्न दशक पहिला असाध्यै कठिन थियो । अहिले यात्रा सहजभएको छ । गुरुङ्गले भने आउजाउमा सहज भएसँगै यो जौवारी पर्यटकीय स्थलमा रुपान्तरण भएको छ । पछिल्लो समय प्राय पर्यटक इलामको फिक्कलहुँदै नयाँ बजारबाट जौबारी पुग्ने गरेको उनको भनाई छ ।

सूर्योदय नगरपालिकाको बुद्धपार्क र सन्दकपुरको जौबारी मात्रै होइन । मुलुक संघीय संरचना गएपछि इलामका अन्य पर्यटकीयस्थलमा पनि पूर्वाधार विकास भएसँगै आन्तरिक र बाह्य पर्यटकको भीड बढ्न थालेको छ । कोशी प्रदेश सरकारबाट बिषयगत मन्त्रालय मातहत इलाममा पूर्वाधार र प्रवद्र्धनमा लगानी हुँदै आएको छ । इलामका पर्यटकीय स्थलमा सडक, पदमार्ग र खानेपानीका क्षेत्रमा कोशी प्रदेश सरकारको लगानी बढी छ । भारत सडकहुँदै दैनिक सयौँ पर्यटक पुग्ने कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडामा शौदर्यीकरण र पदमार्ग निर्माण गरिएपछि पर्यटक थप आकर्षित भएका छन् ।
प्रसिद्ध कनकाईमाई नदीको मुहानक्षेत्र सन्दकपुर डाँडामा प्रदेश सरकारबाट पर्यटकको सुविधाका लागि आवश गृह निर्माण गरेपछि पर्यटकको थप आकर्षण बढेको छ । सन्दकपुरबाट नजिकै रहेको आहालडाँडा क्षेत्र जोड्ने पदमार्ग निर्माणले पर्यटकको पदयात्रा सहज भएको छ । माई नदीको मुहान क्षेत्रमा सौन्दर्यीकरणसँगै शौचालयलगायतका अन्य पूर्वाधार निर्माण भएको पर्यटन व्यवसायी पासाङ रिञ्जिशेर्पाले बताए । उनी भन्छन्– ‘पदमार्ग निर्माणले पर्यटकहरुको सन्दकपुर बसाइ लम्ब्याउन सहयोग पुगेको छ ।’ यहाँको खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारबाट लिप्टिङ्ग प्रविधिको खानेपानी आयोजना निर्माण पनि धमाधम भइरहेको छ ।

३६ सय ३६ मिटर उचाइँमा रहेको सन्दकपुर डाँडाबाट नेपाल, भारत, भुटान र चीनको तिब्बतमा अवस्थित ६० बढी हिमश्रृङ्खलाहरुको दृश्यमा रमाउन सकिन्छ । यहाँ नेपालबाट सहजै पर्यटक पुर्याउन इलाम बिब्याँटे माबु कालपोखरी हुँदै सडक कालोपत्रे कोशी प्रदेश सरकारबाट हुँदै आएको हो । सडक खण्डको २४ किलोमिटर कालोपत्रेका लागि प्रदेशको लगानी छ । २४ किलो मिटरमध्ये १२ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको सन्दकपुर ४ का वडाध्यक्ष ढालबहादुर गुरुङ्गले बताए । सन्दकपुर डाँडामा मात्रै पर्यटन पूर्वाधार निर्माणमा २ करोड प्रदेश सरकारबाट लगानी भएको हो । प्रदेशको लगानीसँगै अहिले नेपाली सडक भएर आन्तरिक र बाह्य पर्यटकहरु सन्दकपुर पुग्ने क्रम बढेको सन्दकपुर २ का वडासदस्य अमृत राईले बताए ।

सन्दकपुर २ को छिन्टापु ‘प्राकृतिक ग्रेटवाल’ मा परिचय पाएको छ । गुराँसको राजधानीले परिचित छिन्टापु क्षेत्रमा पदमार्ग निर्माण प्रदेश सरकारले गरेको छ । पर्यटकहरु पदयात्रा गर्न र बिरामी भएमा साना सवारी साधनबाट उद्धार गर्न मिल्ने गरी छिन्टापु पदमार्गले जोडिएको वडाध्यक्ष सनम राईले बताए । कोशी प्रदेश सरकारबाट अहिले छिन्टापुमा १ करोड लगानी भएको हो ।
कोशी प्रदेश सरकारबाट भएका पर्यटन पूर्वाधार निर्माणले इलामको पर्यटन प्रवद्र्धन र विकासमा ठुलो योगदान पुगेको छ । पर्यटकको आवतजावत बढेपछि सवारी पार्किङस्थलको अभाव थियो । नेपाल, भारत र भुटानका पर्यटकहरुले खचाखच हुने हाँसपोखरी–पाथिभरा क्षेत्रमा र रोङ गाउँपालिका–३ को पाथिभरा, हाँसपोखरी क्षेत्रमा पार्किङस्थल निर्माण भएको हो । पार्किङस्थल निर्माणले पर्यटकहरु बोक्ने सवारी साधान पार्किङमा सहज हुँदा मेची राजमार्ग क्षेत्रमा हुने ट्राफिक जाम हटेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुबास) ले बताए ।

९० प्रतिशतकाम सम्पन्न भएको पार्किङस्थलमा सिजनमा दैनिक ५ सय बढी गाडी पार्किङ हुने गरेको अध्यक्ष तामाङले बताए । उनले भने– ‘नेपाल र भारतबाट सानो पाथिभरा दर्शन गर्न आउने पर्यटकहरुले प्रयोग गरेका गाडी पार्किङ हुन्छन् । पर्यटकहरु सानो पाथिभरा दर्शन गरेपछि फर्किने भएकाले दिनमा पार्किङ सुविधा लिने गाडिको संख्या सयौँ हुन्छ । पार्किस्थल निर्माणमा प्रदेश सरकारको १ करोड ७२ लाख लगानी छ ।

रोङ गाउँपालिकाको वडा नम्बर ५ को किराँत पार्कमा प्रदेश सरकारको लगानी छ ।किराँतपार्कमाआर्थिक २०८०÷०८१ मा ५० लाख लगानी भएको थियो । प्रदेशको बजेटबाट पूर्वाधार निर्माण भएको छ । जसका किराँत समुदायमा आस्था राख्ने पर्यटकहरुको आवतजावत बढेपछि गाउँपालिकाले पर्यटन व्यवस्थापनका लागि समुदायमा होमस्टे प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।
प्रदेश सरकारबाट पर्यटकीय संभावना भएका तर प्रचारमा नआएका पर्यटकीय गन्तव्यहरुको पूर्वाधार निर्माणले ग्रामीण पर्यटकीय गन्तव्य थपिदै गएका छन् । सूर्योदय नगरपालिका १० स्वामीपार्क, सूर्योदय नगरपालिका ३ को तीनतने झरना, माईजोगमाई गाउँपालिकाको थुम्केरानी, सन्दकपुर गाउँपालिका १ को बिखेभञ्ज्याङ्ग पछिल्ला उदाहरण हुन् । इलामका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका ४ जनार समानुपातिक १ गरी ५ जना प्रदेशसभा सदस्यहरुले पर्यटन पूर्वाधार क्षेत्रमा लगानीलाई प्राथमिकता दिएका छन् । जसका कारण पर्यटकीय संभावना भएका गन्तव्यहरुमा पूर्वाधार निर्माणले नयाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

सुर्योदय नगरपालिका १० स्वामीपार्क अहिले युवा पुस्तादेखि अध्यात्म क्षेत्रमा लाग्ने पर्यटकहरुको भीड हुने गरेको छ । इलामको पुरानो करफोक माध्यमिक विद्यालयसँगै रहेको जंगलमा पर्ने स्वामीपार्क क्षेत्रमा दैनिक १ सयजनासम्म आन्तरिक पर्यटक पुग्दै आएका छन् । स्वामीपार्कमा पूर्वाधार निर्माण पर्यटकहरु आवतजावत बढेपछि स्थानीयका घरमा होमस्टे व्यवसाय संचालन भएको छ । मेची राजमार्ग नजिकै रहेको स्वामीपार्कमा पर्यटकको चहपहल बढेपछि होमस्टे संचालनले आम्दानी राम्रो भएको स्थानीय बोझोघारी होमस्टेका संचालक देवराज तामाङले बताए । उनी भन्छन्–‘स्वामीपार्क, सुन्दर चियाबारी, सिमपानी, पञ्चकन्या मन्दिरलगायतका क्षेत्रमा भ्रमण गरी बास बस्ने पर्यटकहरुलाई सेवा गर्दा परिवार चलाउन सहजै भएको छ ।’
प्रदेश सरकारको बजेटबाट प्रवद्र्धन भएको पर्यटकीय गन्तव्यमाई जोगमाई गाउँपालिका २ मा पर्छ । नेपाल, भारतका पर्यटकीय क्षेत्र, ग्रामीण बस्तिको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने थुम्केरानीमा पर्यटकीय पूर्वाधार निर्माणपछि अहिले दैनिक ५० जनासम्म पर्यटक पुग्न थालेका छन् ।

पर्यटकीय क्षेत्र जौबारी जोड्ने सडकमा रहेको थुम्केरानीमा पर्यटकको चहलपहलले होमस्टे व्यवसाय पनि फस्टाएको माईजोगमाई १ की कुसुम दाहालले बताइन् । इलामका पर्यटकीयस्थलमा प्रचारप्रासार र होमस्टे संचालनबारे प्रदेश सरकारको पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आएको छ । पर्यटन कार्यालय काँकरभिट्टाले होमस्टे व्यवसायमा प्रवद्र्धन गर्न पूर्व तयारी कक्षा, आथित्य सत्कार, गाइड, पोटर र सवारी चालकलाई पर्यटनबारे तालिम दिदै आएको छ ।

सूर्योदय नगरपालिका ११ को पञ्चकन्या मन्दिर क्षेत्रमा करफोक खलङ्गा होमस्टे संचालनमा दिएको प्रोत्साहानमुलक कार्यक्रमले नयाँ पर्यटकीय गन्तव्य विकास भएको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।पूर्वाधारको क्षेत्रमा पर्यटन वन तथा वातावरण मन्त्रालयसँगै रहेको पर्यटन विकास आयोजनाबाट हुँदै आएको हो । पर्यटकीय क्षेत्र जोड्ने सडक, खानेपानीको व्यवस्थाको काम सम्बन्धित मन्त्रालय मातहतका कार्यालयबाट हुँदै आएको छ । प्रदेशको लगानीमा पर्यटकीयस्थलमा पूर्वाधार थपिएसँगै पर्यटकहरुको चहलपहल बढेको पर्यटन केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले बताए ।

पुर्वाधार निर्माणसँगै कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणापछि इलामका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । प्रदेश सरकारबाट लगानी भई पर्यटकको चहलपहल हुँदै गरेका पर्यटकीय गन्तव्यहरुमा थप प्रचार प्रसार हुन थालेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले बताए ।

इलामको कन्याम

अन्तु, रामसार क्षेत्रमाई पोखरी, छिन्टापु, सन्दकपुर, जौबारी, तुम्लिङ, पाथिभरा, मेघमा, मानेभञ्ज्याङलगायत दर्जनौं पर्यटकीयस्थलमा प्रदेश सरकारबाट पूर्वाधार विकासमा लगानी भएको छ । पूर्वाधार र प्रवद्र्धनको कामले इलाममा वनजंगल र वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धनको काम पनि हुँदै आएको छ । इलाममा प्रकृति, सास्कृतिक, धार्मिक, साहासिक पर्यटन व्यवसायको प्रचुर संभावना रहेको छ । वन्यजन्तु, सिमसार, चराहरु र हिमश्रृङ्खलाको दृश्यमा रमाउने पर्यटकीय गन्तव्यहरु पनि धेरै रहेको इलामका १० स्थानीय तहमध्ये सन्दकपुर गाउँपालिकाले पर्यटन (क्यालेण्डर) पात्रो नै सार्वजनीक गरेर पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रहेको सन्दकपुरमा मात्र १५ वटा बढी पर्यटकीय गन्तव्य छन् ।

इलामका पर्यटकीय क्षेत्रमा झापाको काँकरभिट्टा र इलामको पशुपतिनगरबाट बाह्य पर्यटकहरु नेपाल भित्रन्छन् । पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार कोशी प्रदेशको इलाममा पर्यटकीय पूर्वाधार थपिएपछि भारतीय पर्यटकहरु भ्रमणमा आउने क्रम बढेको हो । इलाम आउने पर्यटकहरु धेरै मात्रामा प्राकृतिक सुन्दरतामा रम्न आउने गरेको होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराईले बताइन् ।

इलाम भित्रने पर्यटकहरुमा भारतको पश्चिम बंगाल राज्यका धेरै छन् । ग्रामीण पर्यटकीय गन्तव्यमा कोशी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि आन्तरिकसँगै बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको छ । पूर्वाधार निर्माणसँगै प्रवद्र्धनका क्षेत्रमा थप लगानी भएमा पर्यटन व्यवसायबाट इलामको आर्थिक विकासमा ठुलो टेवा पुग्ने देखिन्छ । रोङ गाउँपालिकाको जोरकलसमा रहेको पर्यटन सूचना केन्द्रका कर्मचारी गगन घिमिरेका अनुसार मेची राजमार्ग भएर इलाममा १ लाख ४१ हजार ५१७ जनापर्यटक चालु वर्षको १० महिनामा इलाम प्रवेश गरेका छन् । त्यसमा महिला ६९ हजार ३९३ र पुरुषको ७२ हजार १ सय २४ जना छन् । आन्तरिक १ लाख १७ हजार ७४० जना रहेका छन् । बाह्य पर्यटकहरुमा १० हजार महिला सहित २३ हजार ७ सय ७७ जनापर्यटक जोरकलसबाट प्रवेश गरेका छन् ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा १ लाख ३२ हजार २८ जना पर्यटक जोरकलसबाट इलाम प्रवेश गरेका छन् । जसमा महिला ६६ हजार १२९ जनापुरुष ६५ हजार ९४ जना र बालबालिका १ हजार ३ सय जना रहेका छन् । तथ्याङ्क अनुसार आन्तरिक ९२ हजार ९७६ जना र बाह्य ३९ हजार ५२ जनाले इलाम भ्रमण गरेको तथ्याङक छ । बाह्य पर्यटकहरुले इलामको श्रीअन्तु, कन्याम, बुद्धपार्क, सन्दकपुर, जौबारी क्षेत्र बढी मात्रामा भ्रमण गर्दैआएको तथ्याङ्कले पुष्टि गरेको छ ।

भारतीय पर्यटकहरु पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्यामा पनि वृद्धि हुँदै आएको छ । पशुपतिनगरबाट आर्थिक वर्ष २०८०÷०८१ मा ४९ हजार ७ सय ३५ जना पर्यटकहरुले इलाम भ्रमण गरेका थिए । यो संख्या अहिले बढेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै ४५ हजार ७४९ पर्यटक यो नाकावाट नेपाल प्रवेश गरेको पशुपतिनगर सुचना केन्द्रकी रचना तामाङले बताइन् ।