विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।
आज रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।’
आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका छन् ।
पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।
‘‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भने ।
उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए ।