विराटनगर । कोशी प्रदेश सरकारले पूर्व प्रधानमन्त्रीहरूको घर संरक्षण गर्न बजेट छुट्याउने तयारी गरेको छ । पूर्व प्रधानमन्त्री तथा राजनीतिक आन्दोलनमा योगदान गरेको उच्च तहका नेताहरुको जन्मस्थल र घरहरूको संरक्षण गर्न आवश्यक पर्ने बजेट छुट्याउने तयारी सरकारले गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा आवश्यक रकम विनियोजन गर्ने तयारी सरकारले गरिरहेको जनाएको छ । जेठ ६ गते सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यस विषयलाई प्रदेश सरकारले महत्वका साथ प्रस्तुत गरेको थियो ।
प्रदेश सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ ‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूति, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनुहुने व्यक्तिहरूको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने छ ।’कोशी प्रदेशमा जन्मिएका वा यहाँका भएका राष्ट्रिय व्यक्तित्वहरूको सूचि प्रभावशाली छ । पूर्व सभामुख सुवास नेम्वाङ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल, नगेन्द्रप्रसाद रिजाल र सूर्यबहादुर थापा सबै कोशी प्रदेशका हुन् । वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली पनि कोशी कै हुन् । उनको घर दमकमा छ भने जन्मघर तेह्रथुममा पर्छ ।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले दिवंगत भएका पूर्व प्रधानमन्त्रीहरूको घर संरक्षण गर्ने नीति अनुसार काम गरिने बताए । ‘उहाँहरूले सरकारलाई हस्तान्तरण गर्नुभयो भने हामी संरक्षण गरिदिन्छौं भनेका हौं,’ उनले भने ‘पछि कसैले अध्ययन गर्छाैं भन्यो भने त हामीले संरक्षण गरिदिनु पर्याे नि !’
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले सरकारले यो योजनालाई बजेटमै समावेश गर्न लागेको पुष्टि गरे । ‘देशका लागि योगदान गर्ने नेताहरूको जन्मघर संरक्षणका लागि उहाँहरूको परिवारले चाहनुभयो भने संरक्षण गरिदिन्छौं भनेको हो,’ उनले स्पष्ट पार्दै भने ‘हामीले नीति तथा कार्यक्रममा कसको घर संरक्षण गर्नुपर्छ भनेर पनि सोध्न खोजेका हौं ।’
विशेष रूपमा, ताप्लेजुङमा रहेको मदन भण्डारीको जन्मथलो ढुंगेसाँघुमा रहेको घरको संरक्षणका लागि पार्टीका साथीभाइहरूले आग्रह गरेको मन्त्री रानाले बताए । उनले प्रष्टीकरण दिँदै भने ‘पूर्व राष्ट्रपति विद्या भण्डारीको नामजोडेर राख्नु नपरेको र नेताकै नामले पनि संरक्षण गर्न सकिने बताए । मदन भण्डारी एमालेका पूर्व महासचिव थिए र २०५० सालमा त्रिशूली नदीमा गाडी दुर्घटनामा परेर उनको निधन भएको थियो । उनी सांसद बाहेक कुनै राजकीय पदमा पुगेका थिएनन् ।
यो कार्यक्रमको विरोध पनि सुनिन थालेको छ । प्रमुख प्रतिपक्षी दलले यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको तेह्रथुमको जन्मघरलाई संरक्षण गर्ने उदेश्यले ल्याइएको आरोप लगाएको छ । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘पूर्व प्रधानमन्त्री भएकाहरूको घर नै संरक्षण गरिदिनु पर्ने अवस्था अहिलेसम्म कसैको देखिएको छैन,’ सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति नै हाम्रो विरोध छ । ’
प्रधानमन्त्री ओलीको जन्मघर तेह्रथुमको आठराई हो । उनी १२ वर्षको उमेरमा तेह्रथुमबाट झापामा परिवारसहित बसाइँ सरेका थिए । उनको जन्मघरलाई पहिले नै ट्रस्टमा लगिसकिएको छ । ‘केपी ओली ट्रस्ट’ बनाइसकिएको छ । यस्तै सूर्यबहादुर थापाको घर भने भत्किसकेको अवस्थामा छ । सुवास नेम्बाङ र झलनाथखनालको घर पनि इलाममा नै हो । कोइराला निवास विराटनगमा छ ।
मन्त्री रानाले ठूलो बजेट विनियोजन नहुने बताए । यद्यपि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनौपचारिक कुराकानीका क्रममा कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री सूयबहादुर थापाका छोरा सुनिल थापाले सरकारलाई घर संरक्षणका लागि जग्गा हस्तान्तर गर्ने प्रस्ताव गरेको बताउने गरेका छन् । सोही कारण सरकारले यो नीति अगाडि सारेको हो । ताप्लेजुङ स्थित मदन भण्डारीको घर विगतबाटै कोशी प्रदेश सरकारले संरक्षण गर्न लगानी गरिरहेको छ ।
प्रदेशको संरचनाप्रति आलोचना भइरहेको बेलामा त्यसलाई थप वितृष्णा बढाउने गरी यस्ता अनावश्यक कार्यक्रम गर्न जरुरी नभएको विपक्षी दलहरुको भनाइ छ । बढ्दै गइरहेका बेला सरकारले भने उनीहरुलाई मलजलबनाउने गरी कार्यक्रमल्याएको विपक्षीहरुको आरोप छ ।
प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा ध्यानदिएर जनताको जीवनयात्रा सुधार गर्ने काममा प्राथमिकता दिनुपर्ने बेलामा सरकारले नेताहरुको घर संरक्षण गर्ने भनेर थप वितृष्णा बढाएको विपक्षीहरुको भनाइ छ नेताहरूको घर संरक्षण गर्नुभन्दा पहिले जनताका आधारभूत आवश्यकताहरू पूरा गर्नु पर्ने प्रदेशका अगुवाहरु बताउँछन् ।
पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको परिवारबाट कुरा आएपछि मुख्यमन्त्रीले यो कार्यक्रम अगाडि बढाउन खोजेको मुख्यमन्त्रीका प्रेस सल्लाकार विक्रम लुइँटेलले बताए ।