विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्
मधेश प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका उक्त योजनाको शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् ।
यसरी ६४ वटा महत्त्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेश प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ ।
तीन वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको सो पक्की सडक निर्माणका लागि कुल रु १२ अर्ब ७० करोड खर्च हुने प्रदेश सरकारले जनाएको छ ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले भने, ‘स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ, आजको शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिन्छ ।’
उनका अनुसार यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, बाँकी भागको सडक निर्माण तीव्र रूपमा बढाइने छ ।