विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयमा चरम बेथिति देखिएको छ ।
भगवान भरोसाका आधारमा चलेको कार्यालयमा कार्यरत कर्मचारी अन्यत्र सरुवा भए पनि जान मान्दैनन् । कतिपयले शक्तिकेन्द्रको आडमा सरुवा रोक्छन् । सरुवा भएर गइहाले भने कार्यालयको सरसामान र कागजात नै लिएर हिंड्ने गरेको पाइएको छ ।
कार्यालयबाट जिन्सी सामग्री हराउने, तिनको हिसाब किताब नमिलाउने तथा नभएका सामग्री बुझाउन दबाब दिनेजस्ता गतिविधिसमेत देखिएको कार्यालयकै कर्मचारी बताउँछन् ।कार्यालयबाट तीन वटा मोटरसाइकल र ६ वटा ल्यापटपसमेत गायब भएका छन् । यी सामग्रीहरू कहाँ गए भन्नेबारे कार्यालयलाई कुनै जानकारी छैन ।
राजनीतिक नियुक्ति भएका ५० बढी कर्मचारीहरू आकस्मिक (पटके) तलब खान्छन् । सुपरभाइजर र कम्प्युटर अपरेटरलगायत पदमा कार्यरत यी कर्मचारीहरूलाई सबै ओभरसियरको तलबको ३० दिनको भाग गरेर उपलब्ध गराउने गरिएको छ । तिनलाई दैनिक हाजिरीमा काम लगाउने गरिएको छ । उनीहरुले काम गरेको दिनको मात्र सेवा सुविधा पाउँछन् ।
साइट इन्चार्ज कडा भए काम नगरेको दिनको हाजिरी गरिदिँदैनन् । तर, उच्च अधिकारीहरूले भने विदाको दिनकोसमेत हाजिरी प्रमाणित गरिदिने गरेको कर्मचारी बताउँछन् ।
कार्यालयमा कार्यरत जिन्सी शाखा प्रमुख (सुब्बा) युवराज रेग्मीको केही महिना अगाडि नै भौतिक पूर्वाधार कार्यालय पाँचथरमा सरुवा भएको थियो । उनी त्यहाँ जान नमानेपछि कृषि मन्त्रालयमा सरुवा गरियो । तर, उनी त्यहाँसमेत जान मानिरहेका छैनन् ।
रेग्मी सरुवा रोक्न शक्तिकेन्द्रमा दौडधूप गरिरहेको कर्मचारी बताउँछन् । भौतिक पूर्वाधार कार्यालयमा जिन्सी तथा प्रशासन हेर्ने एक जना प्रशासनिक कर्मचारीको मात्र दरबन्दी छ । कार्यालयमा जिन्सी हेर्ने गरी प्रदीप बरालको सरुवा भएको थियो ।
रेग्मीले उल्टै मुख्यमन्त्री कार्यालयमा दौडधूप गरेर बरालको नाम पूर्वाधार कार्यालयबाटै सरुवा गर्ने सूचिमा राखेको स्रोतको दाबी छ । मुख्यमन्त्रीको सचिवालयले बरालको नाम सरुवा गर्ने सूचिमा राखिएको भनेर सूचनासमेत निकालेको छ ।
अझ रोचक त के छ भने रेग्मीले आफूले कार्यालयका लागि खर्च गरेको रकम उठाएपछि मात्रै सरुवा गरेर जाने बताउँने गरेका छन् । ‘कार्यालय नजिकैको एक किराना पसलमा १ लाख १० हजार रुपैयाँ तिर्न बाँकी छ भनेर उहाँले कार्यालयमा भन्नुभएको थियो,’ एक कर्मचारीले भने, ‘बुझ्दा २० हजार मात्र रहेछ । कार्यालय प्रयोजनका लागि खर्च भएको भनेर कहीँकतै उल्लेख गरिएको छैन ।’
आर्थिक मामिला मन्त्रालयले पूर्वाधार कार्यालयले लिलामी गर्ने सामग्रीको सूचि पठाउन भनेपछि भौतिक विकास मन्त्रालयले बरालालाई त्यहाँ पठाएको थियो । २०८१ मंसिर २० गते उनको सरुवा भएको थियो । तर, रेग्मीले १ महिनापछि मात्र आउन भनेपछि पुस ११ गते बराल कार्यालय गएका थिए ।
रेग्मीले सामग्री नै नदेखाइ बराललाई विवरण बुझ्न दबाब दिए । तर, बरालले सामग्री नभई नबुझ्ने अडान लिएपछि सरुवा गर्नका लागि रेग्मी शक्ति केन्द्रमा धाइरहेको कर्मचारीहरु बताउँछन् । उनलाई मुख्यमन्त्रीको सचिवालयका केही व्यक्तिहरूको संरक्षण रहेको स्रोतको दाबी छ।
यता, रेग्मीले भने अब केही दिनमै सरुवा भएको मन्त्रालयमा जाने बताए । तपाईंले किन जिन्सी सामग्रीको बरबुझारथ नगर्नु भएको भनेर प्रश्न गर्दा उनले ‘केही दिनभित्र गर्ने’ जवाफ दिए । शक्ति केन्द्रसँग सम्बन्ध राम्रो भएकै कारण सुब्बा पदमा कार्यरत रेग्मीले आफ्नो सरुवा आफूले भनेकै ठाउँमा गराउने गरेको कर्मचारीहरू बताउँछन् ।
यतिमात्र होइन पूर्वाधार कार्यालयमा दैनिक ज्यालादारीमा राखिएका कर्मचारीका निजी मोटरसाइकल कार्यालय प्रयोजनमा प्रयोग गर्ने गरिएको छ । जसले गर्दा कार्यालयका मोटरसाइकल भने सर्भिस सेन्टरमा थन्काएर राखिएको बताइएको छ ।
विराटनगरस्थित पुष्पलाल चोकमा रहेको एक मोटरसाइकल सर्भिस सेन्टरमा तीनवटा मोटरसाइकल थन्काएर राखिएको ती कर्मचारीले बताए । यस विषयमा जिन्सी शाखा प्रमुख रेग्मीले भने स्पष्ट जवाफ दिएनन् । उनले सबै सामग्री कार्यालयमै रहेको दाबी गरे ।
कार्यालय प्रमुख सुशील श्रेष्ठले रेग्मीको सरुवा भएपनि अन्यत्र जान नमानेको स्वीकार गरे । ‘सरुवा भएपछि जानुभएन, मैले विदामा बस्नुस भनें । कम्प्युटर पनि नचलाउने भएकोले उहाँबाट कार्यालयले काम लिन नसकेर हामी नै हैरान भइसकेका छौं ।’
कोही सरुवा भएको ठाउँमा नजाने त कसैले सरुवा भएर जाँदा कार्यालयको महंगा सामग्री नै बिनाजानकारी उठाएर लैजाने गरेको समस्या पनि कार्यालयमा देखिएको छ । यातायात पूर्वाधार निर्देशनालय इटहरीमा सरुवा भएर गएका यामकुमार प्रधानले ल्यापटप फिर्ता गरेका छैनन् । तर, उनले ल्यापटप यातायात पूर्वाधार निर्देशनालयमै हस्तान्तरण गरिदिन पत्र पठाइसकेको दाबी गरे ।
कार्यालयकी इन्जिनियर पूनम बजाजको गत फागुनमा सरुवा भएको थियो । उनले एसी, पलङ, स्कुटरलगायत सामग्री कार्यालयमा फिर्ता गरेकी छैनन् । ती सामग्री उनले निजी कोठामा प्रयोग गरिरहेको बताइएको छ ।
सामान किन फिर्ता नगर्नुभएको भन्ने प्रश्नमा उनले भनिन् ‘म त्यो कार्यालयबाट सरुवा भएपछि नयाँ कार्यालयमा आउँदा सवारी साधन नपाएसम्म केही दिन स्कुटर चलाउँछु भनेर हाकिमलाई भनेको छु । अन्य सामग्री त कार्यालयले लगे भइहाल्यो नि । एसी, पलङ कार्यालयले नै उठाएर लगे भइहाल्छ ।’
कार्यालय प्रमुख श्रेष्ठले भने स्कुटर उनी सरुवा भएको कार्यालयमा नै हस्तान्तरण गरिने बताए । अन्य सामग्री फिर्ता गर्नका लागि पत्र पठाउने उनको भनाई छ ।