तस्करी रोक्न नीतिगत सुधारमा जोड

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले तस्करी नियन्त्रण लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

प्रदेश प्रहरीको नेतृत्व सम्हालेको १५ दिनपछि सोमबार प्रदेश प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिआईजी कार्कीले लागूऔषध र अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै राज्यका नीतिहरुमा परिवर्तन भए मात्र दीर्घकालीन समाधान हुने दावी गरे । तस्करी नियन्त्रणका लागि नीतिमा आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।
डिआइजी कार्कीले तस्करीको समस्यालाई केवल सुरक्षाको दृष्टिकोणबाट होइन, आर्थिक संरचना र नीतिको परिप्रेक्ष्यबाट पनि बुझ्न जरुरी रहेको धारणा राखे । ‘जब सीमा वारिपारी मूल्यमा ठूलो अन्तर रहन्छ, तब तस्करी स्वाभाविकजस्तै हुन्छ’ उनले भने, ‘एउटा देशको भौगोलिक अवस्थिति मात्र होइन, त्यस देशको नीति पनि तस्करी बढ्ने वा घट्ने कुरामा निर्णायक हुन्छ ।’

नेपालले बनाउँदै आएका केही नीतिहरु परिमार्जन गरिएमा सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न सकिने कार्कीको भनाइ छ । ‘राज्यले बनाउने नीति व्यवहारिक र वर्तमान समयको आवश्यकतालाई समेट्न सक्ने हुनुपर्छ,’ उनले भने ।
नेपाल सरकारले सीमा सुरक्षा व्यवस्थापनमा तीन तहको संरचना बनाएको छ । पहिलो तहमा भन्सार तथा राजस्व विभाग, दोस्रो तहमा सशस्त्र प्रहरी बल, र तेस्रो तहमा नेपाल प्रहरी रहने व्यवस्था छ । तर, डिआइजी कार्कीका अनुसार, नेपाल प्रहरी तेस्रो तहमा मात्र सीमित नरही, धेरैपटक पहिलो तहको भूमिकासमेत निर्वाह गर्दै आएको बताए ।

‘हामी तेस्रो तहमा बसेर पनि पहिलो तहको परिणाम दिन सफल भएका छौं । सीमामा हामीले गरेका हस्तक्षेप, नियन्त्रण तथा अनुसन्धानले त्यसको पुष्टि गर्छ’ कार्कीको दावी छ । कोशी प्रदेशमा लागूऔषध समस्या अत्यन्त गम्भीर अवस्थामा रहेको जनाउँदै उनले यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताए । ‘ड्रग्सको सहज उपलब्धता, विशेष गरी सीमावर्ती भारतीय बजारबाट नेपाल भित्रिने प्रवृत्ति, हाम्रो लागि चिन्ताको विषय हो,’ उनले भने ।

लागूऔषधको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वयमा रहेर संयुक्त कार्यक्रम संचालन गर्ने कार्कीले बताएका छन् । भारतसँग सिधा सिमा जोडिएका जिल्लाहरुमा लागूऔषधको अबैध ओसारपसार बढेको उल्लेख गर्दै उनले भारतीय पक्षसँग काउन्टरपार्ट मिटिङमार्फत गम्भीर छलफल भइरहेको जानकारी दिए ।

डिआइजी कार्कीले १५ दिनमा कोशी प्रदेश प्रहरीले अपराध नियन्त्रणको क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको दाबी गरेका छन् । १५ दिनको छोटो अवधिमा ४५ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जानकारी दिँदै उनले अपराध नियन्त्रणमा प्रहरी गम्भीर रहेको बताए ।

तस्करी नियन्त्रण, चोरी निकासी रोकथाम, र भन्सार छल गर्नेहरुको विरुद्धमा गरिएको कारवाहीबाट प्रदेश प्रहरीले ४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको डिआइजी कार्कीले जानकारी दिए । ‘प्रहरीले कानुन कार्यान्वयनको सिलसिलामा गर्दा गरेको हस्तक्षेपले राज्यको राजस्व वृद्धिमा पनि प्रत्यक्ष योगदान दिएको छ,’ उनले भने ।

सोमबार, १३ जेठ, २०८२, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर