लोड हुँदैछ...

मेनु

राजस्व छली काण्डमा अनुसन्धान गहिरिँदै

राजस्व छली काण्डमा अनुसन्धान गहिरिँदै

विराटनगर । विरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीमा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेको आरोप खेप्दै आएका न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झा राजस्व छलेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्ने डरले भारततर्फ भागेका झालाई विराटनगर आएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरेको हो । उनीमाथि ठूलो परिमाणमा राजस्व छलेको आरोप छ । पक्राउ परेलगतै सोही आरोपमा उनीमाथि अनुसन्धान अगाडि बढाएको बताइएको छ । यद्यपि झालाई पक्राउ गरेको विषयलाई भने राजस्व अनुसन्धान कार्यालयले गुपचुप राख्ने प्रयत्न गरेको छ ।
उच्च अदालत विराटनगरमा आइतबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भए पनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

घटनाको सुरुवात २०८१ साल पुस २८ गतेदेखि भएको हो । विराटनगर ६ स्थित बीएफएम पूर्व भूमि मार्गमा रहेको झाको तीन तलाको घरमा प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयले संयुक्तरुपमा छापा मारेको थियो । झाले आफ्नो घरको भुइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर ठूलो परिमाणमा तस्करी गरेर ल्याएको खाद्यपूरक सामग्री भण्डारण गरेका थिए ।

छापाका क्रममा उक्त गोदामबाट १४ भन्दा बढी प्रकारका न्युट्रास्युटीकल र विभिन्न कम्पनीका मल्टी भिटामिनहरू बरामद गरिएको थियो । चकित पार्ने कुरा के थियो भने, बरामद भएका सबै खाद्य पूरक सामग्रीहरूको म्याद सकिसकेको थियो । तर, यी म्याद सकिएका उत्पादनहरूमा नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गरिँदै आएको खुलेको थियो ।

आश्चर्यजनक कुरा के थियो भने, यति ठूलो घोटाला पत्ता लागे पनि अनुसन्धानको जिम्मा पाएको राजस्व कार्यालयले मुख्य अभियुक्त झालाई छोडेर उनका कार चालकलाई मात्र पक्राउ गरेको थियो । यसको फाइदा उठाउँदै झा बिरामी परेको बहाना गरेर भारत फरार भए । उनी त्यहाँ तीन–चार महिनासम्म लुकेर बसे ।

घटना सामसुम भएको ठहर गरेपछि झा विराटनगर फर्किए । राजस्व अनुसन्धान कार्यालयले निरन्तर अनुसन्धान गर्दै जाँदा झाले राजस्व छली गरेर खाद्यपूरक सामग्री र मल्टी भिटामिनहरू ल्याएको पत्ता लागेपछि उनलाई बिहीबार पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा झाले एक दशकदेखि न्युट्रास्युटिकल आयात गर्ने सप्लायर्सको व्यवसाय चलाउँदै आएका थिए । उनले साक्षी मेडिलिङ्कमार्फत भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याएर यहाँ आफैंले खरिद गरेको भन्दा दश गुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पाइएको छ ।

वैधरूपमा आएको देखाउन थोरै परिमाणमा भन्सार तिरेर ल्याउने र धेरै न्युट्रास्युटिकल भरिया प्रयोग गरेर तस्करी गरेर ल्याउने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । एक अनुसन्धान अधिकृतका अनुसार २८ पुसमा झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटिकल बरामद गर्नुका साथै एक जना भरियालाई पनि पक्राउ गरेपछि पत्ता लागेको बताए ।
झाको अपराधिक गतिविधि यतिमा सीमित थिएन । उनले म्याद सकिएको न्युट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको थियो । केमिकल प्रयोग गरेर पुराना मितिहरू मेटाएपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने स्टिकर टाँसेर बजारमा पठाउने गरेको पाइएको छ । ‘झाको गोदामबाट मूल्य तोक्ने स्टिकर पनि बरामद भएको छ । यसले उनको यो अपराधिक गतिविधि व्यवस्थित र योजनाबद्ध रूपमा भएको देखाउँछ,’ अनुसुन्धान अधिकृतले भने ।

यस घोटालामा केही चिकित्सकहरूको पनि संलग्नता रहेको पाइएको छ । स्वास्थ्य क्षेत्रका जानकारका अनुसार झाले भारतमा ५० रुपैयाँमा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफैले मूल्य तोकेर पाँच सयसम्म बिक्री गर्दछन् । विक्री गरेको पनि भ्याट बिल प्रयोग नगरेर प्यान बिल दिने गरेका थिए ।एक फार्मेसी संचालकका अनुसार, ‘चिकित्सकलाई धेरै प्रकारका मल्टी भिटामिन लेख्न लगाउने र एउटै पर्चीमा पाँच हजारसम्मका न्युट्रास्युटीकल लेख्ने गरेको पाइएको छ ।’ चिकित्सकले लेखिदिएपछि बिरामीले खरिद गर्छन् । सस्तोमा खरिद गरेको न्युट्रास्युटीकल यहाँ ल्याएपछि महँगोमा बिक्री गरेको पैसाबाट न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि हिस्सा दिने गरेका छन् ।

यस घोटालाले विरामीलाई दोहोरो नोकसान पुर्याएको छ । एकातिर सरकारी राजस्वमा चोरी भएको छ भने अर्कोतिर बिरामीहरूको स्वास्थ्यमा खतरा निम्त्याएको छ । म्याद सकिएका खाद्यपुरक सामग्रीले स्वास्थ्यमा असर पुर्याउने चिकित्सकले बताएका छन् । झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटिकल सप्लाइ गर्दै आएका थिए । एक पत्ता न्युट्रास्युटिकलमा दश गुणासम्म मुनाफा राखेर बिक्री गर्ने गरेको पाइएको छ । यसरी चाँडै पैसा कमाउने धन्दामा लागेका झाले नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटीकल बरामद भएको बेला बरामद गर्न आएको टोलीलाई बताएका थिए ।

राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख उत्तम कुमार घिमिरेले राजस्व छली गरेको विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र भन्न मिल्छ । झाले कति राजस्व छली गरे त्यो भने अझै खुलिसकेको छैन,’ उनले भने, ‘पछि अनुसन्धान सकिएपछि मात्रै भन्न मिल्छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds