अर्ग्यानिक खेती : अनिवार्य वा रहर ?

‘एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग’ । केहि महिनाअघि गोरखापत्रमा प्रकाशित सामाचारको एउटा शीर्षक हो यो । ती संक्रमितहरु कोही नभएर विगत डेढ दशकदेखि आधुनिक तरकारी खेती गर्दै आएका गाँउका थिए । आधुनिक तरकारी खेतीका लागि विषादीको प्रयोग गरेकै कारण यस्तो दर्दनाक अवस्था आएको अनुमान धेरैले लगाए । केहि महिनाअघि बिर्तामोडको कृषि बजारमा रहेको प्रयोगशालाको परीक्षणले विषादीको उच्च मात्रा देखिएपछि बेच्न ल्याइएको ब्रोकाउली नष्ट गरेको समाचार आयो । सोहि समयमा काठमाण्डौमा विषादीको उच्च मात्रा देखिएपछि सयौं केजी हरियो तरकारी नष्ट गरिएको थियो । ‘रायोको सागमा ८७ प्रतिशतसम्म विषादीको मात्रा भेटियो’ यस्तै अनेक । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । दिनहुँजसो विषादीसँग जोडिएका घातक रोग र स्वास्थ्य समस्याका बारेमा समाचारहरु आइरहेका हुन्छन् । एउटा अध्ययनले नेपालमा क्यान्सरका कारण दिनहुँ करीब ४० जनाको मृत्यू हुने गरेको छ । जसमध्ये अस्वस्थ खानपीनलाई प्रमुख कारण मानिएको छ । त्यसमा पनि ताजा तरकारीमा हुने विषादीको उच्च मात्रालाई जिम्मेवार मानिएको छ । घातक रोग लगायतका स्वास्थ्य समस्यामा विषादीको प्रयोग या विषादी प्रयोग गरिएका तरकारी फलफुलको उपभोग एउटै मात्र कारण त नहोला तर आधुनिक र व्यवसायिक तरकारी र फलफुल खेती गरिएका ठाँउहरुमा यस्ता घटना बाक्लै सुनिदै आएकाले यो सामान्य चर्चाको विषय मात्रै रहेन । विगत एक दशकमा विषादीको वार्षिक आयात चार लाखबाट बढेर पैंतीस लाख किलोग्राम पुगेबाट पनि यसको पुष्टि हुन्छ । जसमा धानमा विषादिको प्रयोगको हिस्सा धेरै छ । झण्डै छ लाख किसानले तरकारीमा विषादीको प्रयोग गर्दछन् । तीमध्ये आधाजसोले गम्भीर हानीकारक विषादि चलाउँछन् । प्रतिबन्धित विषादिको प्रयोग गर्नेको संख्या पनि कम छैन ।

आधुनिकता र व्यवसायिकताका नाममा बालीनालीमा अत्याधिक र असन्तुलित रुपमा प्रयोग गरिएका विषादि र रासायनिक मलहरुले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर र नोक्सानी मात्रै गरेको छैन पशुपन्छी, खोलानाला, तालतलैया, पोखरीलगायत पानीका स्रोत, माटो, हावा र समग्र वातावरणलाई नै प्रदूषित बनाउदै लगेका छन् । कतिपय ठाँउमा मल विषादीकै कारण पिउने पानी असुरक्षित र अयोग्य बनेका छन् । बजारमा पाइने तरकारी, फलफुल, माछा, मासु र दुधमा समेत विषादीको अवशेष भेटिएका समाचार हामी नियमित पढिरहेका हुन्छौ, सुनिरहेका हुन्छौ । व्यवसायिक र आधुनिक तरकारी खेती गर्नेहरुले आफ्नो घरका लागि छुट्टै तरकारीबारी लगाउने र बजार लैजाने तरकारीबाट निस्किएका पात, हाँगा, विरुवा लगायतका अवशेषहरु गाइवस्तुलाई समेत खान नदिने गरेका किस्साहरु पक्कै पनि काल्पनिक मात्रै होइनन् । अत्याधि विषादी प्रयोग गरिएका काउली, सिमी आदिकोे बोटपात लगायतका अवशेष पशुलाई खुवाउँदा पशु नै बिरामी परेको, मरेको वा गर्भ तुहिएको चर्चा पनि बेला बेलामा सुनिने गरिन्छ । दक्षिण एशियाली मुलुकहरु भरत, पाकिस्तान र बंगलादेशका तुलनामा नेपालमा प्रतिहेक्टर विषादि प्रयोग नगण्य रहेतापनि जनस्वास्थ्य तथा पर्यावरणीय संवेदनशीलताका कारण यसलाई अनदेखा गर्न मिल्दैन । बर्सेनि करिब ३० अर्ब बढीको ताजा तरकारी मात्रै नेपालले भारतबाट आयात गर्दै आएकाले विषादिको जोखिम उच्च रहेको देखिन्छ । अझै यो मूल्यमा आलु र प्यासलाई समेटिएको छैन । नीतिगत रुपमा यसरी आयात गरिने ताजा तरकारीको विषादी परीक्षण गर्नुपर्ने भएपनि उपलब्ध परीक्षण पुर्वाधार, क्षमता, खुला सिमा, अवैध पैठारी लगायतका बाहनामा सुनिश्चित भएको पाइदैन । केही वर्ष पहिले सर्वोच्च अदालतले परीक्षण गर्न आदेश नै जारी गरेबाट यो कुरा प्रष्ट हुन्छ ।

अझै पनि गाँउघरमा त धेरैजसो आफ्नै करेसाबारीमा फलेको तरकारी उपभोग गरिन्छ । करेसाबारीमा आफ्नो पारिवारिक उत्पादनका लागि फलाउने ताजा तरकारीमा रासायनिक मल र विषादि हाल्ने चलन छैन । निर्वाहका लागि गरिने तरकारी स्वतः प्राङ्गारिक नै हुन्छ । घरकै लागि थोरैतिना गरिने करेसाबारी खेतीका लागि प्राङ्गारिक मल नै काफी हुन्छ । गाँउघरतिर एक दुई पाल्तु पशु हुन्छन् नै, कुखुरा वा बाख्रा पालेकै हुन्छन् । नभएपनि भान्साबाट निस्कने फोहोरलाई कुहाएर भएपनि तरकारीमा लगाउने मल पुग्छ । रैथानेबालीका लागि रासायनिक मल विषादि हालिरहनै पर्दैन । जेजति फल्छ त्यसैमा चित्त बुझाउने हो । अचेल त शहरतिर पनि करेसाबारी वा कौशीमा तरकारी फलाउने चलन बढ्दै छ । अलिअलि भएपनि घरायशी खपतलाई त्यसले पुरा गरिरहेको देखिन्छ । यद्यपि गाँउ–गाँउसम्म सडक यातायातको सञ्जाल र बजार पहुँच तथा गाँउबाट युवा जनशक्ति विदेश पलायनको क्रम बढेसँगै किनेर उपभोग गर्नेको परिवार संख्या पनि उल्लेख्य बढ्दै गएको छ । आफ्नो करेसाबारीमा जे जस्तो छ, फलेको छ त्यसैले काम चलाउने चलन विस्तारै कम भएर मौसमी र बेमौसमी ताजा तरकारी टाढा नजिकका बजारबाट किनेर ल्याउने परिपाटी झाङ्गिदै छ । यसले गर्दा ताजा तरकारीको व्यवसायिकरणलाई थप बढवा दिएको छ । टनेल, ग्रीन हाउस लगायतका हाइटेक प्रविधिको उपलब्धता र बजारमुखी उत्पादन प्रणालीले रासायनिक मल र विषादिको खपतलाई बढाएको छ । मुख्य कुरो त रासायनिक मल विषादि बजारमा सहजै पाइन्छ । गोबर, जुत्तो, लिदी, मुत्रादि, कम्पोष्ट आदि बोक्ने र हाल्ने दुःख गर्नेै परेन । हातगोडामा फोहोर लाग्ने त कुरै भएन । रासायनिक मल विषादीका लागि नगद खर्च बढी गर्नु परेपनि सजिलो हुन्छ । पहिलेजस्तो नगद अभाव नहुने र तत्कालै असर देखिने भएकाले पनि व्यवसायिक किसानको नजर रासायनिकतर्फ देखिन्छ । रासायनिक मल विषादि प्रयोग गरी उत्पादन गरिएका फसलहरु हेर्दा सलक्क र आकर्षक देखिन्छन् । रोग वा किराको प्रकोप नभएकाले झ्वाट्ट हेर्दा उपभोक्ता त्यसमै लोभिन्छन् । तर अन्धधुन्द तरिकाले अत्याधिक र असन्तुलित रासायनिक मल विषादिको प्रयोगले फाइदाको सट्टा नोक्सानी ज्यादा गरेको हुनसक्छ । अतिरिक्त उत्पादनको तुलनामा अतिरिक्त लागत बढ्ने, जनस्वाथ्य, पाल्तु पशुपन्छी र मौरी लगायतलाई पु¥याउने क्षति, दीर्घकालिन रुपमा माटोको उर्वराशक्तिमा हुने क्षयीकरण, बाली विरुवा र पर्यावरणका सहयोगी मित्रजीवको नोक्सानीको हिसाव नगरी गरिने मल विषादिको प्रयोग समग्र कृषि प्रणालीको नै चुनौती हो ।
तर, यति भनेर मात्रै धर छैन । निरपेक्ष रुपमा विषादी प्रयोग गर्नै हुदैन भन्ने पनि होइन । कृषिलाई केवल निर्वाहको माध्यमको रुपमा मात्रै लिएर हुदैन । रहर या सोखले मात्रै जिविको चल्दैन । किसानले गरेको श्रम र बगाएको पसिनाको उचित प्रतिफल नमिलेसम्म कृषि पेशा सक्षम र दिगो हुदैन । बरु विषादीको सुरक्षित विधि, प्रविधि, प्रयोग र विकल्पबारे यथेष्ट ध्यान दिन जरुरी हुन्छ । विषादी केवल रासायनिक नै हुनु पर्दछ भन्ने होइन । विषादीका जैविक विकल्प, विधि र प्रविधिमा पर्याप्त अनुसन्धान र विकास जरुरी रहेको छ । ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित हाम्रो देशमा वार्षिक अर्बौको कृषि उत्पादन आयात गर्नु परिरहेको सन्दर्भमा हामीले कृषिलाई व्यवसायिक र आधुनिक बनाउदै नलगी हुदैन । उत्पादन र उत्पादकत्व धेरै बढाउनु छ, प्रविधि र व्यवसायिकता बढाएर लाखौंको संख्यामा रोजीरोटीका लागि विदेसिने युवाहरुलाई स्वदेशमा नै आम्दानी र रोजगारीको सुनिश्तिता गराउनु पर्नेछ । सँगसँगै निरोगिता र स्वस्थ वातावरण बचाउनु पर्नेछ । विषादी र रासायनिक मल प्रयोग नगर्दा उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने वा बालीनाली बचाउने भन्ने कुराको भरपर्दो विकल्प किसानमाझ पु¥याउनु पर्ने चुनौति त छदैँछ ।

पछिल्लो समय विशेषत शहरी उच्च मध्यम वर्गीय उपभोक्ताहरुमा अग्र्यानिक कृषि उत्पादनप्रतिको आकर्षण बढ्दै गएको छ । पोषण र स्वास्थ्य प्रतिको सचेतनाका कारण ती वर्गको रोजाईमा अग्र्यानिक वा प्राङ्गारिक रुपमा उत्पादन गरिएका उपजहरु पर्ने गरेका छन् । यो वर्ग बजारमा त्यस्ता उत्पादनलाई तुलनात्मक रुपमा केही बढी मूल्य तिर्न पनि तयार हुन्छन् । तर, सामान्य निम्न वर्गीय उपभोक्ताको कमाईको अंशले अग्र्यानिकका लागि अतिरिक्त मूल्य तिर्न सामथ्र्य राख्न सक्दैन । स्वभावत अग्यानिक उत्पादनको प्रति इकाई लागत शुरुमा रासायनिकको तुलनामा बढी हुन्छ । यसले गर्दा बजारमा फसलको मुल्य पनि तुलनात्मक रुपमा बढी नै हुने गर्दछ । तर बजारमा अग्र्यानिक र रासायनिक वीचको भेद आम उपभोक्ताहरुमा खुट्ट्याउने चलन बसीसकेको छैन । जसले गर्दा अग्र्यानिक फसललाई रासायनिक मल विषादि प्रयोग गरि उत्पादन भएकासँग प्रतिस्पर्धा गर्न कठिन छ ।
तर उपभोक्तामा बढ्दै गएको स्वास्थ्य र पोषण सचेतनाले अग्र्यानिक उत्पादनको बजार तीब्र गतिमा बढ्दै गइरहेको छ । एक अध्ययनले अबको एक दशकभित्र अग्र्यानिक उत्पादनको बजार ५५० अर्ब अमेरिकी डलर बढी पुग्ने अनुमान गरेको छ । अहिले पनि एशिया प्रशान्त क्षेत्रीय बजारको ४२ प्रतिशत हिस्सा अग्र्यानिक उत्पादनकै रहेको छ । युरोप, अमेरिका, जापान लगायतका विशित मुलुकहरुले उच्च अग्यानिक मापदण्ड बनाएर आयात निर्यातलाई कडा रुपमा नियमन गरिरहेका छन् । दक्षिण एशियाली राष्ट्र भुटानले अग्र्यानिक मुलुकका रुपमा घोषणा गरेको छ । भारत, चीन लगायतका ठूलो अर्थतन्त्र भएका देशहरुमा पनि अग्र्यानिक उत्पादन र उपभोगको क्रम तीव्र रुपमा बढीरहेको छ । जसले गर्दा नेपालले निर्यात भइरहेका र भविश्यमा गर्न सक्ने कृषि उपजहरु अग्र्यानिक या विषादि रहित भएको प्रमाणित गर्नु पर्ने बाध्यता हाम्रो सामु रहेको छ । बजार माग र उपभोक्ताको रुची एवं प्राथमिकतालाई दृष्टिगत नगरी कृषि व्यवसायिक बन्न सक्दैन । भविष्यको बजार अग्र्यानिक उत्पादन नै भएकाले यो प्रणाली नअपनाई कृषि दिगो हुनै सक्दैन ।

केही वर्षदेखि नेपालमा पनि अग्र्यानिक कृषि फस्टाउदै गएको छ । अहिले नेपालमा झण्डै २६ हजार हेक्टरमा अग्र्यानिक खेती भइरहेको तथ्यांकले देखाएको छ । स्वदेशको खपतबाहेक चिया, अलैंची, कफी, ताजा तरकारी लगायतका वस्तुहरु युरोप, अमेरिका, मध्यपुर्व लगायतका देशहरुमा निर्यात समेत भइरहेको पाइन्छ । काठमाण्डौ, पोखरा, धरान, बुटवल, सुर्खेत, नेपालगञ्ज लगायतका मुख्य शहरहरुमा अग्र्यानिक ताजा तरकारीको बजारीकरणका लागि सुपरमार्केट, रैथाने कृषि बजार, किसान बजारहरु जस्ता आउटलेटहरु खुलेका छन् । अग्र्यानिक कृषि फर्महरुको संख्या पनि दिनानुदिन बढ्दै छ । यस अलावा खुद्रा पसल, होटेल रेष्टुरेन्टहरु, अनलाईन प्लेटफर्महरु खुल्ने क्रम बढीरहेको छ । स्थानीय रुपमा जिल्ला , स्थानीय तह र गाँउहरुलाई विषादिमुक्त वा अग्र्यानिक घोषणा गर्ने क्रम समेत बढीरहेको छ । कर्णाली प्रदेश यसमा सबैभन्दा अगाडी छ । यो प्रदेशले समग्र प्रदेशलाई नै अग्र्यानिक बनाउने अभियान नै चलाएको छ । जुम्लाले आजभन्दा डेढ दशक पहिले नै रासायनिक मल विषादिमा प्रतिबन्ध लगाएर नेपालकै पहिलो अग्र्यानिक जिल्ला भएको घोषणा गरेको थियो । यस्तै बाजुरा, मुस्ताङ, मनाङ, सोलुखुम्बु लगायतका जिल्लाहरुले यस अघिदेखि नै अग्र्यानिक अभियान चलाउदै आएका छन् । चिया, कफी, मह, अदुवा, ताजा तरकारी, स्याउ लगायतका उत्पादनहरु अग्र्यानिक प्रमाणीकरण भएर आन्तरिक र बाह्य बजारमा गइरहेका छन् । खासगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुले पनि यसमा उल्लेख्य भूमिका खेलेका छन् ।

एउटा रोचक कुरा, केहि साल पहिले आएको कोभिड–१९ को विश्वव्यापी माहामारी पछि अग्र्यानिक उत्पादन र उपभोग गर्ने क्रम अझै बढेको छ । यसका खास केही कारणहरु छन् । धेरै मानिसहरु शहरबाट गाँउ फर्किए जहाँ वर्षौदेखि खाली रहेको जमीनमा सानै स्केलमा भएपनि तरकारी खेती गरे । बजार बन्द भयो मान्छेहरुले करेसाबारी र कौशीमै भएपनि घरायशी खपतका लागि ताजा तरकारी फलाए । आफ्नो र परिवारको स्वास्थ्य प्रति थप सजग भए । आयात निर्यात सिमित भयो । जसले गर्दा अग्र्यानिक उत्पादनलाई प्रोत्साहन मिल्न गयो । यो एक प्रकारको बाध्यता नै थियो भन्दा पनि हुन्छ ।

तर व्यवसायको आँखाबाट हेर्दा अझै पनि अग्र्यानिक वा प्राङ्गारिक उत्पादन चुनौतिपुर्ण नै छ । सबैभन्दा ठूलो कुरा त अग्र्यानिक वा प्राङ्गारिक खेती गर्दा उत्पादन थोरै हुन्छ, रोगकिराको प्रकोप धेरै हुन्छ, श्रम धेरै खर्च हुन्छ, लागत धेरै उठ्छ र बजारमा उपभोक्ताको रोजाई कम हुन्छ भन्ने मनोविज्ञान व्यप्त रहेको छ । अहिलेको यथार्थलाई हेर्ने हो भने यो केवल मनोविज्ञान मात्रै नभएर यथार्थ पनि हो तत्कालका लागि । अग्र्यानिक वा प्राङ्गारिक खेती प्रणाली एउटा दिगो अभ्यास र स्थानीय स्रोतहरुको समुचित व्यवस्थापनमा आधारित हुन्छ । रासायनिक मल र विषादिले जस्तो आजको भोलि फाइदा दिइहाल्दैन । रासायनिक अभ्यास गरीरहेका ठाँउमा अग्र्यानिक गर्दा माथि भनिए झै उत्पादन घट्छ नै । लागत पनि बढ्ला । रासायनिक मल विषादि भनेको माटो र बोट विरुवालाई नशा जस्तै भएको छ । तत्काल कायापलट गरी परिवर्तन गर्न कठिन पनि छ । तर विस्तारै विस्तारै रासायनिक मल विषादी घटाउदै प्राङ्गारिक र जैविक विधिहरु अपनाउदै जाँदा यो परिवर्तन गर्न सकिन्छ । बोटविरुवालाई चाहिने खाद्यतत्वको पर्याप्तता र असल कृषि अभ्यासको पालनाले बालीनालीको उत्पादन, स्वस्थपना र स्वच्छता वृद्धि गर्न सकिन्छ जो अग्यानिक वा प्राङ्गारिक विधिबाट पनि पूर्णतः सम्भव हुन्छ । तर समय लाग्छ । वर्षौदेखि बिग्रिएको माटोलाई सुधार गर्न केहि समय अवश्य लाग्छ । क्षणिक रुपमा लागतमा केही वृद्धि हुने भएपनि स्थानीय स्रोत सामग्रीको समुचित् उपयोग गर्न सकेमा दीर्घकालमा यो लागत घटाउन सकिन्छ । अझ रासायनिक मल विषादिको परनिर्भरतालाई घटाउदै कृषि प्रणालीलाई नै आत्मनिर्भर बनाउन सकिन्छ ।

नेपालका पहाडी र हिमाली क्षेत्रहरुमा अझैपनि अधिकतर खेती रासायनिक मल विषादि विना नै भइरहेको छ । खासगरी चिया, अलैंची, अदुवा, कफी, ताजा तरकारी, मह, जडिबुटी, किबी, एभोकाडो, सुन्तला लागतयका उच्च मुल्यका कृषि वस्तुहरु प्रशस्त पाइने कोशी प्रदेश अग्र्यानिक उत्पादनका दृष्टिले अझै सम्भावनायुक्त रहेको छ । साथै यहाँका रैथाने तथा स्थानीय बालीहरु कोदो, फापर, जौ, आलु, बेसार, स्थानीय लसुन, सिलाम, इस्कुस, तोरी, कागती, तरुल, मह, हरियो तरकारी आदिको अग्र्यानिक ब्राण्डिङ गरी मूल्य अभिवृद्धि गर्न सकिने देखिन्छ ।

असल कृषि अभ्यासको अनुसरण गर्न सक्ने हो भने अग्र्यानिक वा प्राङ्गारिक खेती पनि एउटा उच्च फाइदा दिने व्यवसाय बन्न सक्छ । त्यसमा पनि अग्यानिक ताजा तरकारीको बजार अन्य कृषि उपजको तुलनामा बढी लाभदायक बन्न सक्छ । रासायनिक मल विषादी प्रयोगबाट उत्पादन गरिने ताजा तरकारी बजारमा किनेर खाने उपभोक्ताका लागि मात्रै होइन स्वयम् उत्पादक किसानको स्वास्थ्यका लागि समेत चुनौती हो । हरेकका घरको भान्सामा दिनहुँ कम्तिमा दुइपटक पाक्ने र उपभोग गरिने ताजा तरकारी अग्र्यानिक हुनुपर्ने कुरा केवल उत्पादक र उपभोक्ताको सोख या रहर मात्रै नभई स्वास्थ्य संवेदनशिलताका दृष्टिले बाध्यात्मक आवश्कयता पनि हो । गर्न जाने बढ्दो अग्र्यानिक बजारको अथाह अवसरलाई क्यास गर्न सक्ने दिगो व्यवसाय पनि हो । अग्र्यानिक ताजा तरकारी खेतीले केवल आम्दानी मात्रै दिदैन, राम्रो स्वास्थ्य पनि दिन्छ । अहिलेको अस्पतालका महङ्गा स्वास्थ्य सेवाको जमानामा स्वस्थ रहनु पनि कमाइ गरे जस्तै हो । त्यसैले अग्र्यानिक खेतीले उत्पादकलाई दुइपटक धन कमाउने अवसर दिन्छ– बजारमा अग्र्यानिक उपज बिक्री गरेर अनि स्वस्थ जीवन बनाएर । उपभोक्ताले पनि अग्र्यानिक खरीद गर्दाको अतिरिक्त खर्च स्वास्थ्यमार्फत फिर्ता पाउँछन् । बरु सरकारले अग्र्यानिक उत्पादन, बजारीकरण र उपभोगका लागि प्रोत्साहन नीति, प्राविधिक सेवा, प्रविधि र प्रमाणीकरणका सेवाहरु सुनिश्चित गरेर उत्पादक र उपभोक्ता दुबैलाई हौसला दिनु पर्दछ ।

(लेखकहरु विज्ञका रुपमा कृषि विकासका क्षेत्रमा क्रियाशील हुनुहुन्छ)

बिहिबार, ११ बैशाख, २०८२, दिउँसोको ०३:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर