विराटनगर । विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोह आज हुँदैछ । समारोहमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुनेछन् । विराटनगरस्थित मोरङ उद्योग, व्यापार संघको सभाहलमा बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत उद्योगी व्यवसायी तथा विशिष्ट व्यक्तिहरु सहभागी हुने जनाइएको छ ।
२०६१ साल वैशाख ६ गतेदेखि भूमिगत रुपमा प्रकाशन आरम्भ भएको तत्कालिन जनविद्रोह साप्ताहिक नै हाल हाम्रोमत दैनिकमा नामकरण भएको हो । कोशी प्रदेशस्तरीय उक्त पत्रिकाको पूर्वृेली जनसंञ्चार सहकारी संस्था लि.द्वारा प्रकाशितश भइरहेको छ । जसको अध्यक्ष विनोद घिमिरे, प्रधानसम्पादक विवेक गौतम, सम्पादक अर्जुनकुमार आचार्य, कार्यकारी सम्पादक गोकुल पराजुलीलगायत छन् ।
उक्त पत्रिकाले पछिल्लो समय भ्रष्टाचार, बेथिति, अराजकता र कुशासनको विरुद्धमा खोजी समाचारहरु प्रकाशित गर्दै आएको छ । त्यसमा पनि प्रदेश सरकार, प्रदेशसभालाई निगरानी र खबरदारीमा सो पत्रिकाको मुख्य भूमिका देखिन्छ । यसका साथै विराटनगरको आर्थिक विकासमा पनि पत्रिकाले उद्योगी, व्यापारी क्षेत्रहरुसँग सहकार्य गर्दै यसका समस्याहरु उजागर गर्दै आएको छ ।
पत्रिकाले मिटरब्याज पीडित, हिंसा पीडित महिला, जातीय उत्पीडनमा परेका दलित समुदायहरु, निम्न वर्गका जनता, किसान र मजदुरको हकहितमा पनि निरन्तर कलम चलाउँदै आएको छ । सो पत्रिकाले साप्ताहिक रुपमा मैथिली संस्कार र संस्कृतिलाई उजागर गर्न साप्ताहिक रुपमा शुक्रबार ‘हमल मिथिला’ प्रकाशित गर्दै आएको छ । आगामी दिनमा अन्य भाषा, संस्कार र संस्कृतिलाई प्रबद्र्धन गर्न आफूहरु प्रतिबद्ध रहेको प्रधानसम्पादक गौतमले बताए ।