आज इस्लाम धर्मावलम्बीहरु ‘ईद उल– फित्र’ मनाउँदै

विराटनगर । इस्लाम धर्मावलम्बीको महान पर्व ‘‘ईद उल– फित्र’ सोमबार मनाइँदै छ । ईदउलफित्र मनाउन मुस्मिलम समुदाय ‘ईदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन् ।
यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् । हाल उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो । रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।

इदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् । विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिंदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ । एक महिनासम्म चल्ने रमजानमा मुस्लिम धर्मालम्वीहरुले सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खाई सुरु हुने रोजा सूर्यास्तपछि सकिन्छ । रोजाको समयमा दिनभर मुसलमानहरु निराहार बस्नुपर्छ । रोजा लिनेहरुले आफ्ना पाँचै ईन्द्रीयहरुमा नियन्त्रण राखी दिनभरि निराहार बस्नुपर्ने मान्यता रहेको छ ।

रोजामा विहानको ४ः२३ बजेदेखि बेलुका ६ः०६सम्म निराहार बसिन्छ । त्यस पछि मात्र रोजा सकिन्छ । रोजा अवधिमा खानपिन, जेमा (यौन सम्पर्क) गर्न वञ्चित गरिएको हुन्छ । जानीजानी निषेध गरेको काम गर्यो वा खानेकुरा खायो भने जरिवानास्वरुप ६० जना गरिब असहायलाई भोजन गराउनुपर्ने नियम रहेको बताइएको छ ।

तीस दिनको रमजान महिनालाई तीन भागमा बाँडिएको हुन्छ । पहिलो १० दिनको अवधिलाई रहमत (अल्लाहबाट बक्सिस), दोस्रो १० दिनको अवधिलाई मगफेरत (पापबाट छुट्कारा पाउने) र अन्तिम १० दिनको अवधिलाई जहन्नम बाट आजादी ( मृत्युपश्चात स्वर्ग पाउने) भनिन्छ । मुसलमानहरु यही विश्वासका साथ अल्लाहको आदेश पालना गर्दै रोजा बस्ने गरेको मुस्लिम अगुवा साहेव अहमद गुड्डुले बताए । एक महिना मुस्लिम समुदायको लागि लगन, विश्वास र भरोसा (कसरथ)को महिना भएको र अल्लाहमा समर्पण गर्न, मुस्लिमको मगफिरत (धर्म गर्ने महिना) र जहन्नम (नर्क)बाट बच्ने महिनाको रुपमा मनाउने गरेको हाजि इमाम हैदरले बताए ।

रोजामा प्रत्येक मुसलमानले जनही एक किलो ७ सय ५० ग्राम गहुंको मूल्य बराबर फितरा (कर) निकाल्नुपर्छ । साढे सात तोला सुन र ५२ तोला चाँदीको मूल्यभन्दा बढी आर्थिक हैसियत भएका मुसलमानहरुले आफ्नो आम्दानीबाट अढाई प्रतिशत जकात (कर) दान गर्नुपर्छ । यस्तो फितरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ ।

फितरा र जकात ईदउलफित्र अर्थात् ईदको नमाज पढ्नुभन्दा अगावै निकालिसक्नु पर्छ । फितरा र जकात तिर्नुको अर्थ गरिव मुसलमानले पनि धनीले जस्तै रमजान मनाउनको लागि आर्थिक सहयोग पुगोस् भनेर करको व्यवस्था गरिएको बताइएको छ ।

सोमबार, १७ चैत, २०८१, बिहानको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर