विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैतदेखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आइतबार सरसफाई कार्यक्रम संचालन गरेको छ ।तीनपैनीमा भेला भई एमालेका नेता कार्यकर्ताहरुले सडकमा सफाइ गरेका हुन । झाडु लगाउँदै उनीहरु सफाइ अभियानमा खटिएका थिए । एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापालगायतका नेताहरुको सहभागितामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागी थिए ।
सरसफाई कार्यक्रम महानगरपालिकाको कार्यालय अघि पुगेर सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरका अध्यक्ष रोहित कोइरालाले पछिल्लो समय राजावादीको नाममा भइरहेका गतिविधि स्वीकार्य नहुने बताए । ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थाभन्दा उत्तम ब्यवस्था अरु केही हुन नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा महानगरका सचिव बलराम गिरीले एमाले रचनात्मक क्रियाकलापका साथै जनताको घरदैलोमा पुगिरहेको सुनाए । एमालेले सोमबार दिउँसो १ बजे विराटनगरको जनआन्दोलन चोकमा जागरण सभा गर्दैछ ।