विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितको शव दिन इन्कार गरेपछि शव लैजान मृतक परिवारलाई मुस्किल परेको थियो ।केही घण्टा शव लैजान नदिएको अस्पतालले निकै दबाब पछि एक महिनाभित्र उपचार खर्च भुक्तानी गर्ने कागज गरेर मात्र शव दिएको थियो ।
विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ३० वर्षीय सञ्जय कामतको उपचारको क्रममा बिहीबार ४ बजेतिर गोल्डेन हस्टिलमा मुत्यु भएको थियो । मृत्यु भएपछि परिवारले अस्पतालले भनेजति पैसा जुटाउन सकेन । त्यसपछि अस्पतालले पैसा नतिरी शव नदिने भन्दै झण्डै तीन घण्टा शव बन्धक बनाएको थियो ।
मनोज स्क्रिन प्रिन्टमा कार्यरत कामत काम सकेर घर फर्किंदै गर्दा सुनसरी बर्जु गाउँपालिका–५ का २७ वर्षीय राजेश चौधरीले मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । आठ दिनको उपचारपछि बिहीबार बिहान उनको मृत्यु भएको हो ।
दुर्घटना गराउने चौधरीले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले मृतक परिवारलाई ७ लाख रुपैयाँ तिर्न दबाब दिएको पाइएको छ । आर्थिक रूपमा कमजोर अवस्थामा रहेका मृतकका परिवारले यति ठूलो रकम जुटाउन नसक्दा अस्पतालले शव हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । मृतकका भाइ अजयकुमार कामतका अनुसार अस्पतालले ‘कि दुर्घटना गराउनेबाट पैसा जोहो गराउनुस् कि आफन्तहरूबाट उठाएर बुझाउनु,’ भन्दै अमानवीय व्यवहार प्रदर्शन गरेको थियो ।’ शव हस्तान्तरण नगर्नु भनेको मृतकको आत्मसम्मानको अवहेलना मात्र नभएर परिवारको दुःखद अवस्थामा थप पीडा थप्ने कार्य गरेको उनले बताए ।
अस्पतालको अडानपछि मृतकका आफन्तले स्थानीय जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका थिए । विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत र विराटनगर–६ का वडाध्यक्ष अक्षय सहनीको हस्तक्षेपपछि मात्र शव लैजान पाउने सहमति भएको थियो ।‘स्थानीय जनप्रतिनधीहरु आएपछि दुर्घटना गराउनेबाट एक महिना भित्रमा हस्पिटलले भनेजति पैसाँ तिर्नुपर्ने कागज गराएपछि मात्रै शव दिएको छ,’ विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले भने ।
यस विषयमा हस्पिटलका प्रतिनिधी मोहम्मद ज्याहुल हकसँग सम्र्पक गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।