प्रधानमन्त्री कप क्रिकेट : कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जीत

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ ।
२१९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए ।

यस्तै, साकिब हकले १३ रन र अंकित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन् सकेनन् । सुनिल धमला र दीपेन्द्र रावतले तीनरतीन विकेट बाँडे । यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए ।

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए ।

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई-दुई विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा एक-एक विकेट रह्यो ।

यससँगै कर्णाली प्रदेशले अंकतालिकामा थप दुई अंक जोडेको छ । पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जीत निकाल्दै चार अंक ल्याएको छ भने ६ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जीतका साथ दुई अंक ल्याएर अंकतालिकाको पुछारमा पुगेको छ ।

मङ्गलबार, ०४ चैत, २०८१, साँझको ०६:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर