विराटनगर। हिसान कोशीको आयोजना तथा हिसान मोरङको समन्वयमा विराटनगरमा भएको प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्याण्ड प्रवेश गरेका छन्। माघमा सकिएको हिसान क्रिकेटमा अरनिको र ग्रिनल्याण्डबिच भएको फाइनल खेलमा अरनिकोले उपाधि जितेको थियो।
विराटनगरको बैजनाथ क्रिकेट मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेजले बिर्तामोडको निदि कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।
टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १३१ रनको स्कोर बनाएको थियो। अरनिकोको जितमा प्लेयर अफ द म्याच रुद्रप्रताप साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए। निदिका विशाल मगरले सर्वाधिक ४ विकेट लिए।
१३२ रनको लक्ष्य पछ्याएको निदि १५ ओभरमा सबै विकेट गुमाई ६४ रनमा सीमित भयो। निदिका लागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए। अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए।
दोस्रो सेमिफाइनल खेलमा ग्रिनल्याण्ड कलेजले इटहरीको विश्व आदर्श कलेजलाई १६ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रनको स्कोर बनाएको थियो। ग्रिनल्याण्डका क्रिस चौधरीले २४ रन बनाउँदा अनिस सहनीले २३ रन बनाए। विश्व आदर्शका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि २(२ विकेट लिए।
९८ रनको लक्ष्य पछ्याएको विश्व आदर्शले पूरै ओभर खेल्दै ९ विकेट गुमाई ८१ रनमा सीमित भयो। विश्व आदर्शका आर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए। ग्रिनल्याण्डका प्लेयर अफ द म्याच सुनिल यादवले ४ विकेट लिँदा अमित चौधरी र गणेश यादवले २-२ विकेट लिए।
फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागी रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए।