संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको १०६३ मेगावाटको माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु भएको छ । भोटखोलामा निर्माण हुने अर्ध जलाशययुक्त जलविद्युत आयोजनाका लागि पहुँच मार्ग निर्माण थालिएको हो ।
आयोजनाको विद्युत गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर सडक बनाउनु पर्ने आयोजनाले जनाएको छ । माथिल्लो अरुण आयोजनाका लागि पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर ४१३ रोपनी क्षेत्रको २ हजार १००, रुख कटान भइसकेको माथिल्लो अरुण आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँच मार्ग निर्माणको काम थालिएको हो ।
माथिल्लो अरुण आयोजना निर्माणका लागि पक्की पुल निर्माण, ट्याक ओपन, ड्याम साडट स्थल जाने सडक निर्माण र रुख कटान भइरहेको आयोजनका प्रशासन प्रमुख चौहानले बताए । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख रुपैयाँ राजश्व वन विभागमा भुत्तानी गरिसकेको आयोजनका प्रशासन प्रमुख चौहानले बताए । उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँ तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था छ ।
आयोजनाले विरुवा रोप्न, हुर्काउन र बढाउनको लागि १३ करोड ६५ लाख रुपैयाँ वन विभागलाई भुक्तानी गरिसकेको छ । प्राधिकरणले २.०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको हो ।पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण हुनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा पहुँचमार्ग निर्माण हुने प्राधिकरणले जनाएको छ ।