
सम्पादकीय
शिक्षा सभ्यताको प्रतीक हो । शैक्षिक संस्थाहरू ज्ञान, विवेक र भोलिको समाज निर्माण गर्ने थलो हुनुपर्छ । तर, विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसभित्र विद्यार्थी राजनीतिका नाममा भएको हिंसात्मक झडपले गम्भीर चिन्ता उत्पन्न गराएको छ । नेविसंघका दुई समूहबीच भएको झडपले शैक्षिक संस्थाभित्र नै अराजकता मौलाइरहेको पुष्टि गर्दछ । यस्तो घटनाले शैक्षिक वातावरणलाई नकारात्मक रूपमा असर पार्दैछ ।
क्याम्पसभित्रको पछिल्लो घटनामा स्ववियु सभापति जसवन्त पौडेलसहितको समूहले नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलमाथि वञ्चरो र लाठी प्रहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भइसकेको छ । विद्यार्थी नेताहरू नै खुलेआम हतियारसहित भिडन्तमा उत्रिनु गम्भीर विषय हो । झडपमा नेविसंघ मोरङका सभापति पोखरेल, सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास घाइते भएका छन् । घटनाले क्याम्पसभित्रको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
क्याम्पसमा दिनदहाडी हातहतियारसहित झडपको घटनाले विद्यार्थीहरु त्रसित हुने अवस्था भनेको छ । यस्तो घटनाहरू बारम्बार भइरहँदा पनि प्रशासनको मौनता गम्भीर चिन्ताको विषय हो । क्याम्पसभित्र हिंसात्मक गतिविधि बढ्नुको प्रमुख कारण नै राजनीतिक संरक्षण हो । विद्यार्थी राजनीतिलाई स्वार्थपूर्तिको साधन बनाइँदैछ । जसका कारण क्याम्पस गुण्डागर्दीको अखडा बन्दै गएको छ । स्ववियु सभापति पौडेलले विगतमा सरकारी गाडी तोडफोड गरेको घटनासमेत संलग्न रहेको देखिन्छ । तर, यस्ता गतिविधिमा संलग्नहरूमाथि कानूनी कारबाही नहुँदा उनीहरूहरुको अराजकता बढेको छ । शैक्षिक संस्थाभित्रको हिंसा र अराजकता तत्काल रोक्नुपर्छ । यसका लागि क्याम्पस प्रशासन, सुरक्षा निकाय र विद्यार्थी संगठनहरू स्वयं जिम्मेवार हुनुपर्छ ।