सून्य समय : कसले के भने ?

जनतासँग सिङ जुधाउँदा नराम्रोसँग फुक्लिन सक्छ : गोम्बु शेर्पा, सोलुखुम्बु

मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा बिहीबार पनि झडप भएको छ । शुक्रबार बिहान पनि झडप भएको खबर प्राप्त भइराखेको छ । राज्य पक्षले सरकारले सरोकारवाला पक्षसँग वार्ता सुरु गरिसकेपछि फेरि यसरी निरन्तर झडप भइरहेको घटनाले हाम्रो प्रदेशलाई मात्र नभएर सिङ्गो नेपाललाई नै दुखिरहेको छ ।

नेपालको संविधानको धारा ३२ को उपधारा ३ ले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति, लिपी, र सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हक सुनिश्चित गरेको छ ।विकासको काम भनेको जनताको लागि गर्ने कुरा हो । र जनताको असन्तुष्टि भयो भने राज्यले त्यसलाई गम्भीरतापूर्वक लिएर पुनर्विचार गर्नु जरुरी छ । सरकारले खाली विकासलाई अवरोध भो भन्ने कुरा भनिराख्छ । तर, नेपालभरमा लाखौं विकासको काम भइरहेको छ तर त्यहाँ अन्यत्र त अवरोध भएको छैन । मुक्कुम्लुङमा विरोध भइरहेको छ भने किन भइरहेको छ भनेर सरकार किन गम्भीर नभएको हो ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु राज्यले कस्तो विकास चाहेको हो ? कुनै एउटा ठेकेदारको पक्षमा जबरजस्ती गरेर, गोली ठोकेर कस्तो खालको विकास खोजेको हो ? सरकारले मुठभेड गर्न खोजेको हो ? जनतासँग सरकारले सिङ जुधाउन खोजेको हो ? जनतासँग सिङ जुधाउन खोजेको हो भने म यसै सदनबाट भन्न चाहन्छु कि विश्वमा जुन शासकले जनतासँग सिङ जुधाउँछ उसको सिङ असाध्यै नराम्रोसँग फुक्लिएको र तिनीहरुको अस्तित्व इतिहासमा नामेट भएको तीतो सत्य साँक्षी छ । मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको काम तुरुन्त स्थगित गरेर सरोकारवालाहरुसँग तत्काल वार्ता गरेर निकास निकाल्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

घुर्मी–कटारी सडक तत्काल बनोस् : प्रदिपकुमार सुनुवार, ओखलढुंगा

गत असोज महिनाको बाढीले विपी राजमार्गमा ठूलो क्षति पुगेको छ । यद्यपि यो विपि राजमार्गको धुलिखेल खुर्कोट खण्ड विशष गरेर कोशी प्रदेशको १४ र बागमती जिल्लाका चार र मधेश प्रदेशका पाँच वटा जिल्ला गरेर २३ जिल्लाको मूलबाटो हो । यो बाटो अहिले दुःखसुख आवतजावत भइराखेको छ । अब चाँडै नै बर्षात्को समय सुरु हुने बेला भइसक्यो । यसको बैकल्पिक रुपमा संघीय सरकारले सोलु–ओखलढुंगा–रामेछाप र खोटाङका लागि के गर्दैछ ? बर्खामा यो बाटो कताबाट कसरी सुरु हुन्छ भनेर प्रदेश सरकार मार्फत संघीय सरकारसँग अनुरोध गर्न चाहन्छु । साथै वैकल्पिक रुपमा खुर्कोट धुलिखेलको रोसी खोलाको बाटो सञ्चालन नहुँदाखेरी कटारी घुर्मीको बाटो धेरै वर्ष अगाडिदेखि ठेक्का लागेको तर ठेकेदारबाट काम नभइराखेको र अघिल्लो साल केही रकम विनियोजन भएको भन्ने सुनिएको र हालसम्म त्यसको स्रोत सुनिश्चितता भएर अगाडि नबढेकोले यो बाटो छिटोभन्दा छिटो सुचारु होस् भन्ने अनुरोध गर्न चाहन्छु । साथै चतरा–घुर्मी सुनकोसी करिडोरको बाटो धेरै वर्ष अगाडि ठेक्का लागेको भन्ने सुन्नमा आएको तर त्यो प्रदेश र संघीय सरकार दुवैले बनाइरहेका छैनन् ? त्यो बाटोको अवस्था के हो र कहिलेबाट निर्माण सुरु हुन्छ ? तुरुन्त सुरुवात होस् भनेर प्रदेश सरकारको ध्यानाकर्षण गराउँछु ।

साल्पासिलिछो गाउँमा छैन सरकार : विनोद राई, भोजपुर

हामी जनताको लागि जनताको वारिसे । दुरदराजका कुराहरु सम्मानित सभामा वारिसेका रुपमा ल्याउँछौं । भोजपुर जिल्लाको सदरमुकामबाट २२ कोस टाढा भोजपुर सोलु जिल्लाको सिमाना जहाँ भोजपुर जिल्लाको सबैभन्दा उच्च भागमा बस्ने मानव बस्तीहरु छन् । एक हजार भन्दा धेरै घरधूरीहरु छन् साल्पासिलिछो गाउँमा । जहाँ सरकार छ भन्ने विश्वास हुँदैन । त्यो ठाउँमा बस्दाखेरि सरकारको उपस्थिति देखिदैन । अहिले २१औं शताव्दी संचारको र डिजिटल प्रविधि युग हो । तर त्यो ठाउँ हेर्दा लाग्छ राज्यको उपस्थिति छैन । त्यहाँका बुढाहरुले सोधे मलाई राज्य निरीह हो कि राज्य निर्दयी हो ? त्यहाँ झोलुङ्गे पुलहरु छैनन्, विद्यालयको कम्पाउण्ड छैन, खानेपानी छैन । अहिलेको दुनियाँमा एण्ड्रोइड मोवाइलले संसारलाई हेर्नुपर्ने ठाउँमा त्यहाँ टेलिफोन पुग्दैन । चारदिनसम्म अँध्यारोमा बस्नुपर्छ त्यसैले राज्यले गम्भीररुपमा हेर्नुपर्छ र यो विषयमा गम्भीररुपमा हेर्न अनुरोध गर्दछु ।

आगलागी पीडितलाई राहात दिन आग्रह : राधाकृष्ण खनाल, झापा

झापाको शिवसताक्षी १ फुलबारी चोकमा गत फागुन १ गते ११ बजेको समयमा टंकप्रसाद गड्तौलाको घरमा आगलागी भयो । अत्यन्तै विपन्न परिवार जम्मा १ कठ्ठा ७ धूर ऐलानी जग्गा मात्र भएको उहाँको घरमा आगलागी हुँदा घरभित्र रहेको धान, चामल, ओड्ने ओछ्याउनेलगायत उहाँले लगाउने लत्ताकपडाबाहेक सम्पूर्ण जलेर नष्ट भएको छ । प्रहरीको सर्जमिन मुचुल्काअनुसार उहाँको सम्पत्ति जम्मा १४ लाख बराबरको देखियो । त्यो सबै सम्पत्ति जलेर नष्ट भएकोले उहाँको परिवारलाई उचित राहत र क्षतिपूर्तिको प्रबन्ध गर्न प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको हवाला दिँदै एउटा समाचार बाहिरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशद्वारा खोटाङ जिल्लामा स्रोत सुनिश्चितता गरी सडक, पुलहरुको सूचि आएको छ । अन्य जिल्लाहरुमा पनि थुप्रै बहुवर्षे सडकहरु निर्माण गर्नुपर्ने छ । सरकारले यसलाई निर्णय गरेर अगाडि बढाउन सुरु गरेको हो या यो अनधिकृत ढंगबाट बाहिर आएको हो ? यसको आधिकारिकता के हो म सरकारसँग जवाफ माग गर्दछु ।

ध्वनी प्रदूषणले विरामी र विद्यार्थी प्रभावित : शिला दिक्षित कार्की, मोरङ

विवाह, ब्रतबन्ध, जन्मदिन होस् वा विभिन्न धार्मिक कार्य गर्दा विभिन्न बाजाहरु बजाइन्छ । आफू रमाइरमाइ नाच्दा अर्को घरमा सुतिरहेका बिरामीहरुलाई कस्तो असर गर्छ भन्ने हामी सोच्न सक्दैनौं । त्यस्तै डिजेको आवाजमा हामी रमाइरमाइ नाच्छौं । त्यही डिजेको आवाजले परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरुको पढाइमा कस्तो असर गर्छ भन्ने हामी सोच्न सक्दैनौं । साथै विभिन्न खालका मोटरसाइकलमा मुटु नै काम्नेखालका आवाज निकालिएको हुन्छ ।

जुन आवाजले ध्वनी प्रदूषण गर्दछ । अनावश्यक हर्नको ध्वनीले मुटुरोगी, माइग्रेन र उच्च रक्तचाप भएकाहरुलाई गम्भीर असर पर्दछ । झन् मुटुका रोगीहरुलाई त हृदयरोग हुने सम्भावना पनि हुन्छ । मुख्य चोकहरुमा अनावश्यक हर्न बजाइएको पाइन्छ । बढ्दो सवारीले प्रेसर हर्न बजाउँदा ध्वनी प्रदूषण हुन्छ । तसर्थ यिनीहरुलाई तोकिएको मापदण्डअनुसार मात्र हर्न बजाउन पाउने व्यवस्था लागू गर्न सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छु ।

बिमाको औषधि समयमा पाइएन कमला थापा मगर, झापा

कोशी प्रदेश खुला दिसामुक्त भइसकेको छ । तर, पूर्वपश्चिम राजमार्ग कानेपोखरी जंगलमा गाडीहरु रोकेर यात्रु ओह्रालेर दिसापिसाब गराउने गर्दछन् । त्यो गर्नु गाडीवाला वा यात्रुको बाध्यता हो वा लापरवाही हो ? त्यो समस्या समाधान गर्न सरकार समक्ष राख्न चाहन्छु । स्वास्थ्य बिमाको विषयमा गरिमामय सदनमा धेरैचोटी कुरा राखिसकेकी छु । आजपनि राख्न चाहन्छु कि बिमाको औषधि समयमा नपाउने, किन्न पनि नपाइने, बिमाको औषधि खानेहरु साह्रै पीडित छन् । यो समस्या कसरी समाधान गर्न सकिन्छ ? बिमा सस्तोको लागि होइन स्वास्थयका लागि हो ।

प्रदेश सरकारले स्याल आतंक नियन्त्रण गरोस् : रामदेव यादव, सुनसरी

भर्खरै विधेयक पनि आएको छ । स्याल यस्तो अवस्थामा जहाँ वन क्षेत्र छ त्यहाँ म भन्न सक्दिन तर गाउँघरमा स्यालको आक्रमणबाट मानिसलाई घाइते बनाइरहेको छ । यस्तो भयावह स्थिति छ दिनमा नै स्यालले मान्छेलाई टोक्न थालेको छ । यो स्यालको विषय कसरी नियन्त्रण हुन्छ म सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गर्न चाहन्छु ।

बर्जु १ मा दुई जना ऋषिदेवहरु भारतबाट आउँदै गर्दा सन्देशमा सौगातमा दुईवटा गोही (सुन गोहोरो) दिएका रहेछन् । जसलाई हामी सनगोही भन्छौं । नेपाल आउँदै गर्दा मोरङ जिल्लामा उनीहरुलाई प्रहरीले समातेर वनको जिम्मा लगाइदियो । जति भनेपनि केही भएन । बुचडी मुसहर र सुरेश ऋषिदेवलाई जेल नै पठाइयो । यी जातिहरुले तराइतिर सनगोहीलाई मार्ने र खाने नै काम गर्दछन् । त्यस्तो अवस्थामा मानिस जेल गइरहेको छ । यथाशीघ्र यो कुरालाई ऐनमा संशोधन गरोस् र त्यस्ता दलित, निमुखा व्यक्तिहरुलाई, जसको बोल्ने कोही छैन ती जेलमा गइसकेका छन् । त्यस विषयमा म सरकारलाई ध्यानाकर्षण गर्दछु ।

प्रकृति हत्याको घटनामा सरकार निकम्मा देखियो गोपालबहादुर विश्वकर्मा, पाँचथर

भारतको उडिसा केआइआइटी कलेजमा विद्यार्थी प्रकृति लम्सालको हत्या भएको सर्वत्र जानकारी भइसकेको छ । यो हत्याको छानविनदेखि नपाल सरकारको गृहमन्त्री र परराष्ट्र मन्त्रीले कुनै कारवाही गरेको देखिएन । हत्या भएको समाचार पत्रपत्रिकाले देखाउनसाथ गृहमन्त्री र परराष्ट्र मन्त्री गएर तत्काल जायदाद लिन पथ्र्यो । नेपाल सरकारले कान थापेर बसिरहेको छ । सबै बाबुआमाले छोराछोरीलाई पढाउन दुनियाँभरका देशमा पठाउँछन्, त्यहाँ के होला आज हालत ? छोराछोरीहरुको माया बाबुआमालाई कति लाग्छ सरकारलाई पनि लाग्नु पर्ने होइन ? किन गएन यो सरकार त्यहाँ जायदाद लिनलाई ? कुटनीतिक पहल किन गरेन ? पछि पत्रपत्रिका र सामाजिक सञ्जालले लेखेर हत्तु बनाएपछि बल्ल कुटनीतिक पहल सुरु भयो । भारत सरकारको शिक्षामन्त्रीले माफी माग्नु पर्ने एउटा वार्डेन (वार्डको इन्चार्जले) माफी मागेको देखियो । परराष्ट्र मन्त्रालयको नीति नियम नेपाल सरकारले राम्रो गरेन । त्यस कारणले नेपाल सरकारको गृह र परराष्ट्र मन्त्री निकम्मा भएको देखियो ।

त्यसैगरी नेपालको शान्तिसुरक्षाको बारेमा पाथीभरा मुक्कुम्लुङको के अवस्था छ आज ? हिजो पनि कुटाकुट भयो, आज बिहान पनि झगडा भयो । सरकारको जिम्मेवारी यही हो ? नेपाल सरकारले शान्तिसुरक्षाको दृष्टिकोणले अहिले स्थगित गर्नुहोस्, वार्ता गरेर यो काम गरौंला, दुवै पक्ष वार्ता गरेर यो काम पछि भनेर स्थगित गर्नुपर्ने जबरजस्ती आर्मी लगाएर बनाउँछौं भनेर केबलकार बनाउन कोसिस गरियो । यो भएन । नेपाल सरकारको निकम्मापन हो । जनताप्रति उत्तरदायी भएन । यथाशीघ्र त्यहाँको दुवैथरीलाई स्थगित गरेर, वार्ता गरेर, वार्ताको वातावरण पनि सिर्जना पनि गर्न सकेको छैन अहिलेसम्म सरकारले । त्यसकारणले ती घाइतेहरुलाई यथाशीघ्र उपचार गरेर तिनीहरुको राम्रो स्वास्थ्यको कामना गर्दछु । उनीहरुको उपचार होस् । सरकारले यस्तो वातावरण गर्नु हुँदैन । सरकारले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । यसरी जनताको झगडा सरकारले गराउनु हुँदैन । त्यहाँ सरकारले जनताको झगडा गराएको देखियो । त्यसकारण सरकारले शान्तिपूर्ण वातावरण सिर्जना गरेर, वार्ता गरेर त्यहाँ सरकार जिम्मेवारपूर्ण हुन अनुरोध गर्दछु ।

सरकारले जनता जनताबीच झडप गरायो : खिनु लङ्वा लिम्बू, इलाम

केन्द्रीय सरकार जनता जनताबीचमा झडप गराउँदै, आन्दोलित बनाउँदै राज्यसत्ता, शक्ति, प्रहरी प्रशासनको सहयोग, सशस्त्र फौजको बलबाट चर्को दमन गर्दै जबरजस्ती पवित्र भूमि मुक्कुमलुङमा केबलकार बनाउँदैछ । सरकार माथि नै प्रश्न छ र शंका छ । नो केबलकार समूह, मुक्कुमलुङ संरक्षण संघ संस्था, धार्मिक स.स्थाहरुले शान्तिपूर्वक आवाज, ध्यानाकर्षण, ज्ञापनपत्र, सार्वजनिक सूचनाको माध्यमबाट केबलकार बनाउन हुँदैन भन्दै आन्दोलन गर्दै आइराखेको थियो । यति हुँदाहुँदै बलजफ्ती, जबरजस्ती केबलकारको निर्माणको काम गर्न सशस्त्रबलको क्याम्प राखेर अगाडि बढायो सरकारले र माघ १२ गतेको घटना सरकारले घटायो । घटनापछि वार्ता टोली बनाउने भनेर सहमति ग¥यो । तर केबलकारको न त रोक्यो, न सशस्त्रबल नै फिर्ता लियो न त वार्ता टोली बनायो । फेरि फागुन ८ गते शान्ति पदयात्रामा सहभागी मुक्कुमलुङ बचाउँ अभियान्तामाथि दमन भइरहेको छ । मुक्कुमलुङ क्षेत्र अहिले युद्धभूमिमा परिणत भइराखेको अवस्था छ । दुवै तर्फबाट भिडन्तमा घाइते भएका छन् । घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । र केन्द्रीय सरकारले केबलकार निर्माणको निर्णय फिर्ता लिन र सशस्त्र प्रहरीको क्याम्प फिर्ता लिन सभामुख मार्फत केन्द्रीय सरकारलाई जोडदार माग गर्दछु । मुक्कुमलुङमा भएको घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछु ।

विकासको नाममा जनतालाई अत्याचार गरियो : निमसरी राजवंशी, झापा

पाथीभरा मुक्कुमलुङमा प्रदर्शनकारी र प्रहरी बिचको झडपमा दर्जनौं घाइते भएका छन् । घाइते प्रदर्शनकारीहरु र देशको सेवा गर्ने प्रहरीहरु दुवै पक्षको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पाथीभराको विषयमा पटक पटक विवाद भइराख्दा पनि सरकार पक्षलो त्यस पाथीभरामा रहेका विभिन्न आदिवासी जनजातिहरुको तथा मुक्कुमलुङकै धर्मालम्बीहरुको आस्थालाई दबाइ विभिन्न बहानामा त्यहाँका मानिसहरुलाई अत्याचार गरिरहेको छ । शान्तिपूर्ण आन्दोलन गरिराख्दा पनि प्रहरीको ज्यादती देखिएकोले तत्काल प्रदेश सरकारको माध्यमबाट संघीय सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नो केबलकार भनिराख्दा पनि सरकारको तर्फबाट आफ्नै जनता र प्रहरीबिच भिडाइराख्न सुहाउँछ ? प्रहरी पनि हाम्रै भाइभतिज र नेपालका जनताहरु हुन् । उहाँहरुलाई भिडाउने सरकारको कमजोरी हो । केबलकार नबनाउँदा के पाथीभराको मान मर्यादा मेटिन्छ ? हामी वातावरण सन्तुलन भन्छौं तर आफ्नो संस्कृति संरक्षण गर्नेलाई त्यसको नाममा विभिन्न बहानामा हत्याहिंसा र दमन गर्न सुहाउँछ ? यो कार्य दुवै पक्षको मन्जुरी सहमती भई वार्ताबाट समाधान गरियोस् ।

भर्खरै मेरो कचनकवल गाउँपालिकाको कमल खतिवडाको घरमा आगलागीको कारणबाट त्यस घरमा भएका विभिन्न धानचामल, नगदेबाली जिन्सी र घरमा भएका विभिन्न सामानहरु खाट पलङदेखि सबै ८ कोठाको घर संरचना जलेर ध्वस्त भएको छ । उहाँहरुले स्थानीय इलाका मार्फत ५५ लाख रुपैयाँको क्षतिपूर्ति माग गर्नुभएको छ । त्यसमा प्रदेश सरकारको पनि ध्यानाकर्षण होस् । प्रदेश सरकारले त्यस्तो आगलागी भएकालाई तत्काल उद्दारका लागि पहलकदमी गरियोस् ।

आइतबार, ११ फागुन, २०८१, बिहानको ०९:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर