विराटनगर । ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलमा पुगेपछि झडप भएको हो ।
झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको उनको भनाइ छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।
‘नो केबलकार’ पक्षधरले केबलकार निर्माणस्थलमा पुगेरको संरचनामा तोडफोड गरेका छन् । सो स्थान कब्जामा लिन खोजेपछि प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडप भएको हो ।
केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको प्रशासनको भनाइ छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेनसहितका नेताहरु त्यहाँ पुगेको बताए । ‘उहाँहरुले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हानेपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’ उनले भने, ‘त्यसक्रममा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना र नो केबलकार समूहका १ जना घाइते भएको कुरा आएको छ ।’
आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए । निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको नो–इन्ट्री भनिएको ठाउँमै पुगेर उनीहरुले भाषण गरेको उनको भनाइ छ । झडपका क्रममा घाइतेलाई लिन पठाएको एम्बुलेन्समाथि पनि आक्रमण हुँदा चालक घाइते भएको शर्माले बताए ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
