विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित रहेर पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ प्रकाशित भएको छ ।
तीन पटकसम्म चुनाव जितेपनि सामान्य जीवन बिताइरहेका तामाङका बारेमा साहित्यकार केशु विरहीले यो पुस्तक लेखेका हुन् । पुस्तकको बुधबार विराटनगरमा लोकार्पण गरिएको छ ।
विरहीले तामाङलाई राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक व्यक्तित्व भनेर पुस्तकमा थप चिनाएका छन् । विरहीका अनुसार ‘उपद्रष्टा हर्कमान तामाङ’ अनुसन्धानपरक (शोधमूलक) कृति हो । अग्रज स्रष्टा तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको विरहीले बताए ।
तामाङका बारेका तयार पारेको पुस्तकको बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने विरहीले बताए ।
उनले पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने र दोस्रो चरणमा भने राष्ट्रियस्तरका अनुसन्धातालाई पुरस्कृत गर्ने गरी कोष तयार पारिने बताए ।
राजनीतिक रूपमा सफल भएपनि पारिवारिक रूपमा भोग्नु परेका समस्याका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको विरहीले बताए ।
१९९७ साल साउन २५ गते भोजपुरको बोखिममा जन्मेका तामाङको बाल्यकाल भारतमा बित्यो । उनले पढ्दै राजनीति शुरू गरेका थिए । दार्जिलिङमा बसेर राजनीतिक चासो लिएर उनले विद्यार्थी राजनीति गरेका थिए । पञ्चायती व्यवस्था भएकाले राजनीति गर्न सजिलो थिएन ।
तामाङले जीविकोपार्जनका लागि ट्युसन पढाउने गर्थे । नेपालमा खुला राजनीति प्रतिबन्ध भएका बेला उनले सुनसरीको धरानबाट राजनीतिक यात्रा तय गरेका थिए ।
तामाङले २०४८, २०५६ सालको आमनिर्वाचन र २०५१ सालको उपनिर्वाचनमा मोरङको साविक ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए ।