कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर दोस्रो

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ ।

६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३.५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे-नगरेको, पारित गरे-नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे-नगरेको, राजस्वको विभाजन गरे-नगरेकोलगायत पर्छन् ।

आयोगका अनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत अंक ल्याएर पहिलो हुँदा विरगंज महानगरले ४३.१ प्रतिशत अंक प्राप्त गरेर छैटौं अर्थात् अन्तिम भएको छ । तेस्रो हुने ललितपुर महानगरले ६६.७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४.३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१.५ प्रतिशत अंक प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले प्रतिक्रिया दिए । विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरहरुलाई उछिन्नु नै खुसीको क्षण भएको उनको भनाइ थियो ।
विराटनगर महानगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर बनेको थियो ।

आइतबार, ०४ फागुन, २०८१, बिहानको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर