लोड हुँदैछ...

मेनु

निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपूर्जा खोजी

निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपूर्जा खोजी

विराटनगर ।मोरङको बेलबारी नगरपालिकाका आठौं तहका अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारी मुक्त गर्ने कार्यपालिकाको निर्णयले हलचल मच्चिएको छ । प्रशासन प्रमुख रहेका खड्काले इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको फेला परेपछि उनलाई जिम्मेवारी मुक्त गरिएको नगरपालिकाका प्रवक्ता विक्रम राई बताउँछन् । यद्यपि उनलाई जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दा भने कार्यपालिकाले कुनै कानुनी आधार टेकेको छैन ।

सोमबार बसेको कार्यपालिकाको १२७ औँ बैठकले खड्कालाई कार्यपालिकाको गोपनीयता भङ्ग गरेको तथा कार्यालयको हित विपरीत काम कारबाही गरेको आरोपमा प्रशासन शाखा प्रमुख पदबाट हटाएको थियो । उनलाई अन्यत्र सरुवा लैजान समेत मेयर सहितका जनप्रतिनिधिले दबाब दिएका छन् । बैठकले निजलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरेको थियो ।

खड्कालाई मंगलबार प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जिम्मेवारीबाट मुक्त गरेको पत्र थमाएका छन् । ‘प्रस्तुत विषयमा तपाइलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१।१०।२८ गते बसेको १२७औँ बैठकको निर्णयअनुसार तपाईँलाई अर्काे व्यवस्था नभए सम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ ।

खड्काले बेलबारीको प्रस्तावित रंगशालको डिपिआर, कोल्ड स्टोर निर्माणमा अनियमितता र बेलबारी ७ मा निर्माणाधिन शवदाहगृह निर्माणको क्रममा भएको भुक्तानीको विषयमा अख्तियारमा उजुरी हालेका थिए । ‘जनताको करबाट सेवा सुविधा लिने अनि बेलबारी नगरपालिकालाई विपक्षी बनाएर उजुरी हाल्न सुहाउँछ कि सुहाउँदैन ?,’ राईले प्रश्न गरे । खड्काले अख्तियारमा उजुरी गरेको निवेदनको ड्राफ्ट नगरपालिकाको ल्याप्टपमा फेला परेको थियो । शव दाह गृह १ करोड ११ लाख रुपैयाँमा भास्कर कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । प्रदेश सरकार र स्थानीयतहको साझेदारीमा उक्त शव दाह गृह निर्माण भइरहेको हो । हालसम्म ७२ लाख ७३ हजार खर्च भएको लेखा प्रमुख धना राईले बताइन् ।

तर, शव दाह गृह बनिरहेको जग्गा भने निजी रहेको पाइएको छ । लोहान्द्रा किनारमा उक्त जग्गा रहेको छ । हालसम्म उक्त जग्गा भने व्यक्तिको नाममै रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा कार्कीले बताए । ‘म निर्माण समितिको अध्यक्ष भए पनि अहिलेसम्म मलाई केही थाहा छैन,’ कार्कीले भने, ‘नगरपालिकाले ठेक्का लगाएको हो ।’ लक्ष्मी कार्कीको नाममा रहेको सो जग्गामा शव दाह गृह नगरपालिकाले बनाइरहेको हो ।

प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले भने खड्कालाई कारबाही भन्दा कारबाहीबाट जोगाउन जिम्मेवारी मुक्त गरेको बताए । कार्यपालिकाले गरेको निर्णय कुन कानूनमा टेकेर गरियो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो कारबाही नै होइन, उहाँलाई विभाग परिवर्तन गरिएको हो । बरु, उहाँलाई कारबाहीबाट जोगाउन गरिएको हो ।’

उजुरी दिएको पत्र भने आफूसँग नरहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । उजुरीबारे छानबिन नै नगरी कारबाही गरेपछि उपप्रमुख नितु थापा कोइरालाले भने खड्काको पक्षमा नगर प्रमुख राईको विरुद्धमा पत्रकार सम्मेलन नै गरेकी छिन् । ‘जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुको बदला झन् झन् दुरी बढाउने कामकारबाहीले कुनै पनि सफलता हासिल गर्न सकिन्न भन्ने कुरा महसुस गरी कार्यसम्पादनमा सबैको उपस्थिति र सहमतिलाई नजर अन्दाज नगर्न अनुरोध गर्दछु,’ उपप्रमुख थापाले भनिन् । खड्कालाई आफ्नो जिम्मेवारीबाट हटाउँदा स्पष्टीकरण दिने समय समेत नदिई उनलाई हटाइको भन्दै उनले विरोध गरेकी छिन् ।

नगर प्रमुख राईले कसैलाई लाख र पाखा बनाएको समेत उनले आरोप छ । निजी जग्गामा शव दाह गृह बनाएकाले अहिले समस्या देखिएको उनले बताइन । ‘यो जग्गाको विषयमा मेयरसावले नै जग्गा धनीसँग गर्नु भएको हो,’ उनले भनिन्, ‘कार्यपालिकामा छलफल भएको हो । मैले मेयरसाव र हाकिमसाबसँग पनि कुरा गरेको हो । मैले अनुगमन गरेर प्रतिवेदन नदिँदा मलाई दोषी देखाइयो ।’ खड्काले भने आफूलाई लगाएको आरोप पुष्टि नहुने बताएका छन् । ‘मलाई गैर कानूनी ढंगले जिम्मेवारीबाट हटाउने काम भयो । त्यसको विरुद्धमा म नियामक निकायमा जान्छु,’ उनले भने ।

नगर प्रमुख राई एमालेका हुन् भने खड्का पनि एमाले निकटकै कर्मचारी हुन् । खड्का स्थानीयतह कर्मचारीसँग कोशी प्रदेशका अध्यक्ष समेत हुन् । ‘नगरपालिकामा देखिएको समस्या कर्मचारी बिचको लफडा हो,’ एक कर्मचारीले भने, ‘पूर्व मेयर हालका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी निकट देखिएका कर्मचारी र अहिलेका प्रमुख राई निकट देखिने कर्मचारीको लफडा हो ।’ पूर्व प्रमुख सुवेदी र वर्तमान प्रमुख राईबीच पहिलेदेखि नै सम्बन्ध राम्रो नभएको बेलबारीवासी बताउँछन् । दुवै जना एमालेकै भए पनि सुबेदी १० बुँदे पक्षधरका हुन् भने राई संस्थापन पक्षका हुन् । बेलबारीमा १० बुँदे पक्ष नै बलियो रहेको नेताहरूले बताएका छन् । उपप्रमुख थापा भने काङ्ग्रेसबाट निर्वाचित भएकी हुन् । नगरपालिकाकै कार्यकक्षमा प्रमुख राई भेटिए पनि यो विषयमा भने बोल्न चाहेनन् ।

कर्मचारी संगठनको विरोध

यसैबीच खड्का माथि गरिएको कारबाही नसच्याइए स्थानीयतह कर्मचारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । स्थानीय तह कर्मचारी संघ कोशी प्रदेशका उपाध्यक्ष अनिता न्यौपाने कोइराला र सचिव किशोर कार्कीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा आन्दोलनको चेतावनी दिइएको हो । ‘यथार्थ विवरण केही नबुझी कोरा आरोप लगाइ निजलाई आफ्नो स्पष्टीकरणको मौकासमेत नदिइ कुनै ऐन कानुनको कुनै पनि दफा उपदफा समेत प्रयोग नगरी सोझै कार्यपालिका निर्णय मार्फत जिम्मेवारीबाट हटाउने निर्णयप्रति हाम्रो संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ कर्मचारी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कानुनको धज्जी उडाई कोरा आरोप लगाउने कार्यपालिकाको निर्णय प्रति हाम्रो संघ घृणा प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।