विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा भिसी (उपकुलपति) कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा सोमबारदेखि उपकुलपति (भिसी कप) रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
सोमबार विश्वविद्यालयका रजिष्ट्रार डा.दिलनाथ फुँयालले भिसी कप प्रतियोगिताको औपचारिक उद्घाटन गरे । उनले विश्वविद्यालयले प्राविधिक विषयसँगै विद्यार्थीहरूमा खेलकुदमा पनि अभिरुचि पैदा गराउन अन्तर संकाय उपकुलपति कपमार्फत प्रतिस्पर्धा गराउन थालेको बताए ।
आगामी वर्षदेखि अन्तरप्रदेशका विश्वविद्यालयहरूबीच प्रतिस्पर्धा गराउने योजना विश्वविद्यालयले जनाएको छ । खेलकुद संयोजक अधिकृत महेश राईका अनुसार तीन दिनसम्म सञ्चालन हुने भिसी कपमा विश्वविद्यालयअन्तर्गतका विभिन्न संकायका पाँच वटा विद्यार्थी टोलीले सातवटा खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत फुटबल, टेबल टेनिस, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस र डोरी तान खेल समावेश छन् ।
खेलकुद प्रतियोगितालाई सफल बनाउन विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङको इलेक्ट्रिक विभागका प्राध्यापक खेमनाथ खतिवडा, वरिष्ठ लेखा प्रमुख सुजन भुर्तेललगायतले शुभकामना दिए । उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रतिस्पर्धा पनि गरे ।
मनमोहन प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स स्नातक, एप्लाइड एन्ड हेल्थ साइन्सतर्फ फार्मेसी स्नातक, हस्पिटल म्यानेजमेन्ट स्नातकोत्तर तथा कानुनमा स्नातक तहको पठनपाठन हुँदै आइरहेको छ ।