जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स इङ्लिस स्कुलको १० औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा शनिवार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सिपमूलक शिक्षा दिएर अगाडी बढ्नुपर्ने बताए । व्यवहारिक शिक्षासँगै विद्यार्थीहरूलाई नैतिक शिक्षा दिएर विद्यालयहरू अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षासँगै गुणस्तरीय शिक्षा दिएको बताए । गुणस्तरीय शिक्षा दिएको कारणले जेभियर्स स्कुलले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । कार्यक्रममा विद्यालयकी अध्यक्ष सरिता राना मगर, सञ्चालकहरू सी एम रिजाल, रेवन्त श्रेष्ठ लगायतले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयले कुनै पनि कसुर बाँकी नराखेको बताए ।

सोही अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान गरेको थियो । यसरी सम्मानित हुने विद्यार्थीहरूमा दिया थापा मगर र कुशल विक रहेका छन् । कक्षा १२ मा अध्ययनरत कुशलले २०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै बुढीगंगा गाउँपालिका भरीमा प्रथम भएका थिए । त्यसैगरी सोही विद्यालयमा अध्ययनरत छात्रा दियाले एसइईको वार्षिक परीक्षामा ३.७० जिपिए ल्याएर उत्कृष्ट भएकी थिइन् । उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । त्यसैगरी विद्यालयका खेल प्रशिक्षक प्रभाकर राना मगरलाई पनि सम्मान गरियो । प्रभाकरले खेलकुद क्षेत्रको विकासमा ठुलो योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको विद्यालयका प्रिन्सिपल परेश पोख्रेलले जानकारी दिए ।

सोही अवसरमा विद्यार्थीहरूले नृत्य र गीत प्रस्तुत गरी सहभागी अभिभावक, अतिथि र शिक्षकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे । नर्सरी देखि कक्षा ११ सम्म पढाइ हुने जेभियर्स स्कुलमा करिब १ हजार विद्यार्थीहरू अध्ययनरत रहका छन् ।

शनिबार, २६ माघ, २०८१, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर