दूधको विविधिकरण : अब नेपालमै फ्लेवर गरिएको दूध, चेडार र गौडा चीज उत्पादन

सहज च्यालेञ्ज फण्ड दोस्रो चरणको विजेताहरुद्धारा विविध दुग्धजन्य उत्पादनको प्रदर्शन र स्वाद परीक्षण

विराटनगर । कोशी प्रदेशमा स्वीस सरकारद्वारा सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को दोस्रो चरणमा विजेता डेरी उद्योगबाट उत्पादन गरिएका दूग्धजन्य वस्तुको प्रदर्शन तथा स्वाद परीक्षण गरिएको

विराटनगरको बिग होटलमा मंगलबार साना प्याकेटमा लस्सी, फ्लेवर गरिएको दूध, चेडार र गौडा चीजजस्ता विविध डेरी उत्पादन राखिएको थियो भने ती वस्तुको स्वाद परीक्षण पनि गरिएको थियो ।

नेपालका डेरी क्षेत्रहरूमा कोशी प्रदेश नेतृत्वदायी भूमिका रहेको छ । कोशी प्रदेशमा मात्र करिब १४ हजार ६९८ परिवार डेरी फार्मिङमा संलग्न छन् । जसले वार्षिक ५ लाखदेखि ६ लाख टन दूध उत्पादन गर्छन् । सहजले गरेको लगानी, जस्तै च्यालेन्ज फण्डले यी डेरी किसानहरूको आय र जीवनस्तर सुधार गर्दै आयातित डेरी उत्पादनहरूमा निर्भरता घटाएको सहजकी टिम लिटर रिमा श्रेष्ठले बताइन् ।

स्वीस सरकारको सहयोगमा सञ्चालित परियोजना सहजले सहज च्यालेन्ज फण्डको दोस्रो चरणका विजेता डेरी उद्योगहरूको विशेषता प्रदर्शन पनि गरिएको हो । यो परियोजनाले डेरी, अलैंची, तरकारी, र मकै गरी चार प्रमुख कृषि क्षेत्रमा कार्यक्रम संचालन गरिरहेको छ ।

सहजमा १४६ आवेदकहरू मध्ये पाँच विजेताहरूलाई उद्योगका चुनौतीहरूको समाधान गर्न उनीहरूको प्रस्ताव र दृष्टिकोणको आधारमा छनौट गरिएको थियो । ती पाँच उद्योगबाट उत्पादित वस्तुको प्रदर्शन गरिएको श्रेष्ठले जानकारी दिइन् ।
दूधजन्य वस्तुको विविधिकरणमा संलग्न आधुनिक नेपाल डेरीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले सहजसँगको साझेदारीभन्दा पहिले कम्पनीले दैनिक ५ देखि ६ सय लिटर दूध प्रशोधन गरेको बताए । तर, अहिले तालिम लिएपछि, १ हजार ८ सय लिटरदेखि २ हजार लिटरसम्म दूधको प्रशोधन गरिरहेको जानकारी दिए ।

यस्तै विराटनगरको सूर्योदय डेरीका प्रबन्ध निर्देशक मनोज यादवले सहजको समर्थनले प्याकेजिङ साइजलाई ३ ग्रामदेखि १ किलोग्रामसम्म विविधतामा बदल्न सक्षम बनाएको बताए । पर्यटन क्षेत्रलाई लक्षित गर्दै नयाँ उत्पादन वैशाखमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

यस्तै रितिका डेरी, च्यालेन्ज फण्डका विजेताहरू मध्ये एक हो । उक्त डेरीले पनि आफ्ना उत्पादनहरूलाई विविधिकरण गरेर ठूला बजारमा विक्री गर्न थालेको बताएको छ । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले कोशी क्षेत्रका किसानहरुलाई सहयोग गर्न सरकारको प्रतिबद्धता दोहोर्याउँदै कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने लक्ष्ग्य राखेको बताए ।

डेरी उद्योग संघका प्रतिनिधि राजकुमार दाहालले च्यालेन्ज फण्ड पहलको प्रशंसा गरे । ‘यस किसिमको व्यवहारिक दृष्टिकोणले नवप्रवर्तन गर्न इच्छुकहरूलाई समर्थन गर्दछ, जसले केवल अनियमित रूपमा कोष वितरण गर्नुभन्दा धेरै प्रभावकारी छ,’ उनले भने ।

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भारतबाट डेरी उत्पादन आयातमा प्रतिबन्ध लगाएर डेरी उद्योगलाई सहयोग गर्ने सरकारको भूमिकालाई प्रशंसा गरे । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर सरदकुमार पाण्डेले डेरी उद्योगको सम्भावनाको महत्वलाई जोड दिए ।

बुधबार, १६ माघ, २०८१, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर