विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी मुद्दाका फरार अभियुक्त सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार अदालतमा उपस्थित भएका छन् । सोमबार दिउँसो उनी कानुन व्यवसायीलाई साथमा राखेर मोरङ अदालतमा उपस्थित भएका हुन् ।
अहिले उनको मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजालशमा बयान सुरू भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । बयान सकिएपछि थुनछेक बहस सुरु हुने उनले बताए । ‘अदालत उपस्थित भएपछि इजाशलमा अहिले बयान भइरहेको छ । बयान आज सकिएन भने भोली थुनछेक बहस हुनेछ,’ उनले भने, ‘त्यसपछि अदालतले आदेश गर्नेछ ।’
ठगी मुद्दामा रौनियारसहित २६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ । यो मुद्दामा रौनियारसहित पाँच जना अदालत उपस्थित भएका छन् । एक जना पुर्पक्षको लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा छुटेका छन् ।
यसअघि अदालतले सहकारीका सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाउँदा पूर्वसञ्चालक सार्वजानिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला र सन्तलाल खवासलाई भने धरौटीमा छाडेको छ ।
सहकारी ठगीको अनुसन्धान सुरु भएपछि आफू पनि पीडित भएको भन्दै निवेदन लिएर पुगेका राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सहकारी अनुसन्धानको क्रममा अन्य सञ्चालकहरु कसैलाई पनि पक्राउ गर्न चासो दिएन । अन्य २५ जनालाई फरार अभियुक्त करार गर्दै मंसिर २७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा २८ गते न्यायाधीश न्यायाधीश अरुणकुमार झाको इजलासले राजवंशीलाई थुनामा राख्ने आदेश दिएको थियो ।
सहकारीमा ठगी प्रकरण हुनुभन्दा अगाडि सञ्चालाक समितिमा रहेका खवासलाई न्यायाधीश मेघनाथ चापागाईंको इजलासले पुस १८ मा ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उनी नेकपा एमालेबाट निर्वाचित रंगेली २ का वडाध्यक्ष हुन् ।
यस्तै २६ पुसमा अदालमा उपस्थित भएकी सार्वजनिक लेखा समितिका सभापतिकी श्रीमति रहेकी कोइरालालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गरेको छ । पीडितको जाहेरी, प्रहरीको अनुसन्धान प्रतिवेदन र अदालतमा दायर गरेको अभियोगपत्र अनुसार अञ्जला र राजवंशी सञ्चालक भएको समयमा सहकारीमा अनियमिततता भएको देखिन्छ ।
बचतकर्ताहरुले जम्मा गरेको सहकारी संस्थाको जम्मा विगो २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा आर्थिक हिनामिना गरेकोले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय बमोजिमको कार्य कसूर गरेकोले सजाय गरी पाउन समेतको मागदावी लिई २६ जनाको विरुद्ध अभियोगपत्र दायर भएको छ ।