विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडि लैजाने बताएका छन् ।
विराटनगरमा शनिबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तो एक्स्पोले आर्थिक क्षेत्र चलायमन बनाउन ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।विराट एक्स्पोले उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत आर्थिक गतिविधिहरुमा सरोकार राख्ने सबै क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेर चलायमन बनाउन सहयोग पुर्याउने उनले बताए । ‘डिजिटल कोशीको थिममा आयोजना गरिएको विराट एक्स्पोलाई युवा लक्षित तालिम, सेमिनरहरु रोजगारले विद्यार्थीहरुलाई आफ्नो करियरको मार्गदिशा कोर्न ठूलो सहयोग पुर्याउनेछ,’ वरिष्ठ उपाध्यक्ष राठीले भने ।
विराट एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको उनले बताए ।
‘एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ता बिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास गर्नुको साथै नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ,’ उनले भने ।त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोवाइल लगायतको सहभागिताका अलावा उद्यमशीलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरु प्रदर्शन हुने बताइएको छ । ‘एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक सेसनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रवर्धन गर्नका लागी गन्तव्यहरुको प्रवर्धन, पर्यटन पूर्वाधार, सांस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्ने फरवार्ड र व्याकवार्ड लिकेज अभिवृद्धि गर्ने विभिन्न क्रियाकलापहरु सञ्चालन गरिनेछ,’ उनले भने ।
एक्स्पोमा ९ पेभिलियन रहने छ । व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि ४० वटा स्टल, अटोमोबाइल्स २० बटा स्टल, औद्योगिक ७५ वटा स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमइज ७५ वटा स्टल रहनेछ ।
रोजगार कोशी पेभिलियन अन्र्तगत युवाहरुलाई करिअर काउन्सेलिङ गर्दै हस्पिटालिटी, आइटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १ हजार ८०० जनालाई प्रत्यक्ष तालिम दिने भएको छ । उनीहरुलाई रोजगारीको व्यवस्था पनि मिलाउने तयारी गरिएको छ ।
उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशमा २६८ स्टलबाट औद्योगिक एवं व्यापारिक सामानको बिक्री र प्रचार–प्रसार भइरहेको छ ।पछिल्लो समय विद्यार्थीहरु रोजगारका लागि विदेश पलायन भइरहेकोले त्यसलाई रोक्नका लागि २ हजार ५०० विद्यार्थीलाई विराट एक्स्पो मार्फत सिपमूलक तालिम दिन लागेको संयोजक दुलालले जानकारी दिए ।