कार्कीलाई गरिएको निलम्बनको निर्णय गायब

विराटनगर । नेकपा एमालेका युवा नेता एवं कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य उदयपुरका विमल कार्कीलाई निलम्बन गर्ने निर्णय नेकपा एमाले लुकाएको छ । गत पुस २७ गते विराटनगरमा बसेको एमाले प्रदेश समितिको बैठकले नेताकार्कीलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका थ्एि । अहिले खतिवडाले बैठकको निर्णयबारे जारी गरेको परिपत्रमा भने कार्कीसहितमाथि गरिएको कारबाहीको कुरा उल्लेख छैन ।

अध्यक्ष खतिवडाले माघ ५ गते जारी गरेको अन्तर कमिटी निर्देशनमा कार्कीलाई कारबाही गरिएको विषय उल्लेख छैन । १२ पृष्ठको अन्तरपार्टी निर्देशनमामा अन्य विषय भएपनि कार्कीमाथिको कार्वाही उल्लेख छैन ।

भीम रावललाई संगठित सदस्यसमेत नरहनेगरि बैठकले कार्वाही गर्ने निर्णय गरेको थियो । पार्टीभित्र असर पुग्ने देखिएपछि गरिएको निर्णय अहिले लुकाएको एमालेका एक नेताले बताए । ‘एमालेभित्र कारबाहीको डन्डा बजाउँदा पार्टीभित्र असन्तुष्ट हुनेको संख्या धेरै देखियो’ ती नेताले भने ‘त्यहि भएर पनि विमलजीलाई गरिएको कारबाही गुपचुप राखिएको होला ।’
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला पार्टी हितविपरितका क्रियाकलापको बारेमा पूर्वसांसद कार्कीले आलोचना गर्दै आएका थिए । मिनबहादुर रायमाझीबाट जग्गा दान लिने निर्णयको उनले आलोचना गरेका थिए । यस्तै, पार्टीका नेताहरु भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि गरिएको कार्वाहीको पनि उनले विरोध गर्दै आएका थिए ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असन्तुष्टि कार्कीले विरोध गरेपछि एमाले प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको र तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै उनलाई प्रदेश कमिटीले पदबाट ६ महिनाका लागि निलम्बन गरेको थियो ।

कार्कीले तीन दिने स्पष्टिकरण सोधेर कार्वाही गरेकोमा कार्वाहीको औपचारिक जानकारी नपाएको कार्कीले बताएका छन् । बैठक बसेको २ सातावितिसक्दा पनि निलम्बन गरिएको विषय मिडियाबाट मात्रै आफूले थाहा पाएको उनले बताए । पार्टीको औपचारिक पत्र नआएको र नेताहरुले पनि त्यसबारे केहि नबताएको उनको भनाइ छ ।

पार्टीको परिपत्रमा कार्वाहीको विषय उल्लेख नभएपछि एमालेकै नेताहरूले बैठकले कार्कीलाई कारबाही गर्ने निर्णय नै नगरेकोमा अध्यक्षले आफूखुसी कार्वाहीबारे मिडियामा बोलेको बताउनु थालेका छन् । पार्टीको पदाधिकारी लेवलमा कार्कीको बारेमा छलफल भएको भएपनि कार्वाहीको निर्णय नै नभएको एमाले प्रदेश कमिटिका प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले दावी गरेका छन् ।

प्रदेश कमिटीका उपाध्यक्ष टिका चेम्जोङले भने निलम्बन गर्ने निर्णय भएको बताएका छन् । प्रदेश कमिटीको बैठकले निलम्बन गर्ने निर्णय गरेको दावी गर्दैै उनले परिपत्रमा कसरी छुट्यो भन्ने थाहा नभएको बताए । कार्कीलाई निलम्बनपछि पार्टीले पत्र दिनुपर्नेमा किन नदिएको हो भन्ने विषयमा कार्यालय सचिवलाई सोध्नुपर्ने उनले बताए ।एमाले प्रदेश कार्यालय सचिव नरेन्द्र बरालले भने कार्कीलाई निलम्बनको पत्र पत्र पठाइसकेको बताएका छन् । ‘हामीले पत्र पठाएका थियौं, किन पुगेन बुझ्छौं’ उनले भने ।
गत मंसिर १६ गते एमाले कोशीले कार्कीलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । कार्कीले ढिलो गरेर स्पष्टीकरणको जवाफ फर्काएका थिए । पार्टीले कार्कीसहित अन्य नेतालाई पनि स्पष्टिकरण सोधेकोमा उनीहरुले गल्ती स्वीकार गरेकोले कार्वाही नगरेको अध्यक्ष खतिवडाले जानकारी दिएका थिए । तर, कार्कीले स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको, ढिलो गरि जवाफ पठाएको र गल्ती पनि स्वीकार नगरेकोले कार्वाही गरेको उनको भनाइ छ ।

कार्कीमाथि कार्वाही भएको विषयमा नेताहरुकै फरक–फरक धारणा अहिले आउन थालेकोले अन्योल देखिएको छ । परिपत्रमा पनि त्यो विषय समावेश नभएपछि कार्की पनि आफैं अन्योलमा देखिएका छन् ।

शुक्रबार, ११ माघ, २०८१, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर