विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले माघ १२ गते शनिबार प्रदर्शनी स्थलमा एक्स्पोको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
आठांै संस्करणको विराट एक्स्पो आगामी माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरको मैदानमा आयोजना गर्ने तयारी छ । एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा लैजान उद्घाटन कार्यक्रम एक दिनपछि सारेको आयोजकले जनाएको छ ।
यसपटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको उद्योग संगठनले जनाएको छ । उद्यम तथा व्यवसायका लागी संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागी रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेश, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङ, आर्यडियालाई उद्यमशिलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेशनलाई झल्काउने थिमेटिक फेशन–शो, दैनिक विद्यार्थीहरुका लागि उद्यमशिलता माईन्डसेट सम्बन्धी प्रशिक्षण कार्यशाला, कफि सम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफि टेष्टिङ, दैनिक साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रममार्फत सबै वर्गलाई लक्षित गरिएको आयोजकको दावी छ ।
माघ २० गतेसम्मका निर्धारित अन्य सबै कार्यक्रमहरु यथावतरुपमा सञ्चालन हुने आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।