विराटनगर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण धमाधम गरिरहेको छ । तर नवीकरण शुल्क भने मनपरी उठाएको पाइएको छ । कांग्रेसको यही माघ ३ गते महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परिपत्र जारी गरेका छन् । कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पुस १९ गते बसेको बैठकको निर्णय अनुसार महामन्त्री थापाले सबै जिल्ला समितिलाई पठाइएको उक्त परिपत्र गरेका हुन् । परिपत्रमा माघ १५ गतेदेखि फागुन १ गतेसम्ममा ‘क्रियाशील सदस्यता नवीकरण कार्य र नवीकरण शुल्क रु.२०० (दुई सय) मात्र लिई सम्पन्न गर्ने,’ भनिएको छ । आगामी चैत २९ गतेसम्ममा क्रियाशील सदस्यहरुको नवीकरणको अद्यावधिक विवरण, सदस्यता शुल्क लगायतका कागजात केन्द्रीय कार्यालयमा बुझाइसक्न परिपत्रमा निर्देशन गरिएको छ ।
कांग्रेसको नियमावली २०७६ को नियम ५ (४), (३) बमोजिम वडा, पालिका, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समितिले आफू भन्दा माथिल्लो निकायमा नवीकरण फारम बुझाउँदा आफ्नो समितिले प्राप्त गर्ने प्रति क्रियाशील सदस्यता वापत रु.१० (दश) का दरले हुने रकम कट्टा गरी बाँकी रकम माथिल्लो तहमा बुझाउने र जिल्ला कार्यसमितिले समेत मातहतका तहहरुबाट प्राप्त भएका क्रियाशिल सदस्यहरुको नव्ीकरण फारम संख्याका आधारमा प्रति फारम रु.१० जिल्ला कार्यसमितिमा राखी बाँकी रहेको प्रति फारम रु. १५० (प्रदेश कार्यसमितिले प्राप्त गर्ने प्रति फारम रु.१०।–समेत गरी) का दरले एकमुष्ट रकम केन्द्रीय कार्यालयमा पठाउन परिपत्रले निर्देशन गरेको छ ।
तर, कांग्रेस झापाले भने केन्द्रको उक्त परिपत्र विपरीत औपचारिक निर्णय गरेरै प्रति सदस्य ७०० रुपैयाँ नवीकरण शुल्क लिएको छ । मोरङ र सुनसरीले प्रति क्रियाशील सदस्य २०० रुपैयाँ लिएको जनाएको छ । झापामा नवीकरण शुल्क बढी लिएको भन्दै विरोध सुरु भएको छ । ‘क्रियाशील सदस्यको नाममा केन्द्रले तोकेभन्दा उठाइएको बढी पैसा तुरुन्त फिर्ता हुनुपर्छ,’ झापाका एक कांग्रेस कार्यकर्ताले भने, ‘बढी पैसा लिएर सभापतिले केन्द्रको परिपत्र विरुद्ध गए ।’
झापाका कतिपय क्रियाशील सदस्यले भने साढे ५ सय तिरेको बताएका छन् भने कसैले ७०० तिरेको बताएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले भने नवीकरण शुल्क ७०० रुपैयाँ लिएको स्वीकार गरे । नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाको गत असार ७ गतेको बैठकले क्रियाशील सदस्यता नवीकरण फारम भर्नका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ लिने निर्णय गरेको थियो । सो रकममध्ये वडा समितिमा १००, गाउँ नगर समितिमा ५० रुपैयाँ, प्रदेशसभा क्षेत्रीय समितिमा ३० रुपैयाँ, संसदीय निर्वाचन क्षेत्रीय समितिमा ४० रुपैयाँ र अरु रकम जिल्ला समिति, कोशी प्रदेश समिति र केन्द्रीय समितिमा बाँडफाँड गर्ने जनाइएको छ । हालसम्म नवीकरणको काम ७० प्रतिशतजति सकिएको थेबेले बताए । उनका अनुसार झापामा ३४ हजार हाराहारीमा क्रियाशील सदस्य रहेका छन् ।
क्रियाशील सदस्यता नवीकरण गर्दा ७०० रुपैयाँ लिने निर्णय भने जिल्ला सम्मेलनले गरेको उनको दाबी छ । ‘धेरैले जिल्ला समितिले गरेको निर्णय भनेका छन् । हामीले जिल्ला सम्मेलनबाट यो शुल्क निर्धारण गरेका हौं,’ उनले भने, ‘२०० रुपैयाँ केन्द्रमा पठाउने भनेको हो । ७०० रुपैयाँ लिने भनेको ५ वर्षको हो । ७०० रुपैयाँ जिल्लाले लिने भनेको विषय अरु पनि छन् । यो भनेको गत वर्षको जिल्ला सम्मेलनले गरेको निर्णय हो । त्यो जिल्ला समितिले ब्रेक डाउन मात्रै गरेको हो ।’
केन्द्रले भनेअनुसार लेबी उठाउँदा केही गर्न नसक्ने भएकोले बढी उठाएको उनको भनाइ छ । ‘केन्द्रले त १० रुपैयाँ वडालाई दिने भनेको छ । १० रुपैयाँले एउटा चुरोट पनि आउँदैन के गर्ने ? महिनामा ३ वटा समवेदना लिएर जानुपर्छ । त्यसकारण हामीले बढाएर वडालाई १०० रुपैयाँ दिने भनेका छौं,’ उनले भने ।
७०० रुपैयाँ शुल्क लिएको विषयमा आलोचना भएकोबारे टिप्पणी गर्दै उनले विधान अनुसार शुल्क फिर्ता लिने भनेर निवेदन दिए फिर्ता दिने बताए । ‘एमालेको वा अन्य पार्टीको ५ वर्षमा ७०० मात्रै लिन्छ होला ? घण्टीले त १ हजार रुपैयाँ काटेर सदस्य बनिरहेका छन् । अनि विधानले तोकेको, जिल्ला सम्मेलनले तोकेको विषय शुल्क लिएको हो । त्यसलाई मिडियाबाजी गर्ने हो भने त्यो पार्टीमा रहन्छ होला र ? यो हिसाबकिताब चाहियो भने हामी जहाँ पनि देखाउन तयार छौं,’ थेबेले भने ।
मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता नवीकरणको लागि २०० रुपैयाँ लिने गरेको बताए । यस्तै सुनसरीका सभापति केदार भण्डारीले पनि क्रियाशील सदस्यता नवीकरण शुल्क २ सय मात्रै लिने गरिएको बताए । ‘क्रियाशील सदस्यताको लागि प्रत्येक वडामा फारम पठाइसकिएको छ । कडाइका साथ २०० रुपैयाँ मात्रै उठाउन भनिएको छ,’ भण्डारीले भने ।
मोरङमा कांग्रेसका क्रियाशील सदस्य ४० हजार बढी रहेको कांग्रेस नेताहरु बताउँछन् । उनीहरुबाट २०० रुपैयाँको दरले रकम उठाउँदा पनि नवीकरण शुल्क ८० लाख रुपैयाँ उठ्ने देखिन्छ । यस्तै सुनसरीमा ३१ हजार क्रियाशील सदस्यहरुको नवीकरण शुल्क २०० रुपयाँ उठाउँदा ६२ लाख भन्दा बढी रकम संकलन हुने देखिएको छ । मोरङ र सुनसरीका ८१ हजार क्रियाशील सदस्यको नवीकरण शुल्क १ करोड ४२ लाख हुँदा झापामा ३४ हजारको मात्रै ७०० को दरले उठाउँदा नवीकरण शुल्क २ करोड ३८ लाख हुने अनुमान छ । झापा, मोरङ र सुनसरीबाट मात्रै कांग्रेसले सोही आधारमा रकम उठाउँदा ३ करोड ८० लाख जम्मा गर्ने देखिएको छ ।