विराटनगर । नेकपा एमाले विराटनगरको विवाद फेरि सतहमा आएको छ । एमाले विराटनगर कमिटीको पुस २९ गते बसेको बैठकले वडा नम्बर ३ सहित ५ वटा वडामा अधिवेशन गराउने गरी ३० दिनको म्याद दिएर नयाँ वडाकमिटी गठन गरेपछि फेरी विवाद सुरु भएको हो । एमाले विराटनगर कमिटीको बैठकले वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटालाई महानगर कमिटी सदस्यमा मनोनित गरेको थियो ।
तर, उनले वडा कमिटी अध्यक्षलाई न्याय नभएसम्म कुनै पनि कमिटीमा नबस्ने भन्दै राजीनामा दिएको घोषणा गरेका छन् । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका हुन् । नेकपा एमाले मोरङ जिल्ला कमिटिले तत्कालिन महानगरकमिटी अध्यक्ष सागर थापा, सहचिव नवराज नेपाल टुप्पीसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेपछि देखिएको विवाद केही समय मत्थर हुन नपाउँदै फेरी बल्झिन थालेको हो ।
सापकोटाले सबैको साझा धारणा अनुसार पार्टी सदस्यका रुपमा बस्ने तर कुनै पनि पद अस्वीकार गर्ने जनाएका हुन् ।
एमाले स्रोतका अनुसार नव गठित वडा कमिटीका अधिकाँश सदस्यहरुले समेत राजीनामाको तयारी गरिरहेका छन् । माथिल्लो तहमा रहेकाहरुलाई हतोत्साहित गर्ने गरी तल झारेको र पार्टीका अरु संगठित सदस्यलाई समेत कमिटी सदस्यमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
