मिटरब्याजीलाई कारवाही गर्न पीडितको माग : गलपासो बन्यो साहुको ऋण

विराटनगर । मोरङको पथरीमा मिटरब्याजमा ऋण लागानी गरेर सर्वसाधरणलाई उठिबास लगाउनेलाई कारवाही गर्न माग राखेका छन् । यहाँका स्थानीय, राजनैतिक दल र विभिन्न संघसंगठनहरुले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर यस्तो माग राखेका हुन् ।

अनुचित लेनदेन मिटब्याज जस्तो गम्भीर सामाजिक अपराधलाई नियन्त्रण गर्न र पीडितलाई कानुनी तथा सामाजिक न्याय दिन प्रशासनसँग माग गरिएको स्थानीय अर्जुन जम्मेली राईले बताए । ‘पथरीमा पछिल्लो समय मिटर ब्याजको आतंक देखिएको छ । मिटर ब्याज सामाजिक अपराधको शिकार बन्दै आएको छ । यस्तो अपराध जरैदेखि निर्मूल पारी पीडितलाई न्याय दिलाउने काम प्रशासनले गर्नुपर्दछ,’ उनले भने, ‘मिटर ब्याज जस्तो अपराध जरैदेखि उखेलेर फाल्न र पीडिकहरुलाई छानविन गरी हदैसम्मको कारवाही गर्न हामीले पथरीमा सर्वपक्षीय भेलाबाट निर्णाय समेत गरिएको छ ।’

ज्ञापन पत्र बुझेदै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रेव यादवले घटना विषय बुझेर प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिने बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले दुवै पक्षलाई छलफलमा बोलाएर घटना विषयमा बुभ्mन इलाका प्रहरी कार्यालय पथरीलाई भनेको बताए ।

मोरङको पथरीशनिश्चरे २ घर भएकी ४१ वर्षीया राजकुमारी राईले मिटरब्याजमा ११ वर्ष अगाडि लिएको ५० हजार रुपैयाँ ऋण अहिले उनलाई गलपासो बनेर आएको बताइन् । फूलको व्यापार गर्दै आएकी राईले ०६९ मा भाइ धनबहादुरलाई वैदेशिक रोजगारीमा मेलेसिया पठाउनको लागि पथरीशनिश्चरे ८ की धनमाया राईसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ५० हजार ऋणको ब्याज १५ दिनमा पाँच हजार रुपैयाँ बुझाउँदै आएको उनी बताउँछिन् । २०७६ सालसम्ममा उनले ऋण लिएको धनमायालाई ५० हजारको साँवा र ब्याज गरेर २५ लाख रुपैयाँ दिइसकेको राजकुमारीको भनाइ छ । अझै ९ लाख रुपैयाँ दिनुपर्ने भन्दै धनमायाले दिनरातको टर्चर दिने गरेको उनले सुनाइन् ।

‘५० हजार रुपैयाँ लिएको ऋणको ब्याज १५ दिनमा ५ हजार रुपैयाँ दिने गरेको थिएँ । ब्याज तिर्न नसकेपछि साभामा गाभ्ने गरेको थियो । त्यसपछि १ लाखको १० हजार ब्याज हुन थाल्यो । फूलको पसल गर्दै आएको थिए । ६ वर्षमा मैले २५ लाख दिइसके । अझै ९ लाख दिनुपर्ने भन्दै अहिले दिनहँु धम्की आउने गरेको छ । गाउँमा मिटरब्याजमा ऋण लगाउने धनमाया र उनका केटाहरुको गाली सहन नसकेपछि गाउँको भद्र भलाद्मीलाई भनेर जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिन आएका छौं,’ जिप्रकामा भेटिएकी राजकुमारीले भनिन्, ‘गाउँमा मिटरब्याजको आतंकले सहन नसक्ने भयौं । हामीलाई न्याय दिलाइदिन हामी पीडितहरु प्रशासनमा आएका हौं ।’

यसरी मिटरब्याजमा लगानी गर्ने पथरीकी धनमाया राईबाट पीडित भएर आएकी राजकुमारी मात्रै होइन् । उनीसँगै आएकी अर्का पीडित पथरीकी लिलावती राईको पनि समस्या उस्तै छ । उनले पनि धनमायासँग एक लाख रुपैयाँ ऋण लिएकी थिइन् । १ लाखको १९ लाख रुपैयाँ दिइसक्दा पनि अझै सावाँ र ब्याज तिनुपर्ने भन्दै धम्की दिने गरेको गुनासो गरिन् । ‘विभिन्न मितिमा ऋण लिएको १ लाखको २९ लाख रुपैयाँ बुझाइसकें । धनमायाले उल्टै खाली चेक लगेर १२ लाख ६० हजार तिनुपर्ने देखाउँदै अहिले चेक बाउन्सको मुद्दा हाल्नुभएको छ,’ पीडित लिलावतीले भनिन् ।

लेनदेनको कागज नदेखिए पनि लिलावतीले मनमायालाई चेक दिएका थिए । ऋण लिँदा ज्ञारेन्टीका लागि दिएको ब्ल्यांक चेकमा धनमायाले मनलाग्दी रकम भरेर आफूलाई फसाएको उनको भनाइ छ । धनमायाबाट पथरीशनिश्चरेका राजकुमारी राई, चन्द्रकला राई, गंगा राई, देवकी पौदार पीडित भएको भन्दै मिटरब्याजमा लगानी गर्नेलाई कारवाहीको माग राख्दै उनीहरुसहित पथरीशनिश्चरेका पूर्व नगर प्रमुख दिलिपकुमार राईसहित विभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिहरुले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेका छन् । उनीहरुले गाउँका सिधासिधा सर्वसाधरणहरुलाई मिटरब्याजमा लगानी गर्ने र उनले भनेजित रकम नदिए उठिबास लगाउने धम्की दिनेलाई कारवाहीको माग राखे ।

त्यसैगरी पथरीशनिश्चरे ९ की इन्द्रकुमारी लिम्बूले पनि मिटरब्याजमा ऋण लगाउने गरेको पीडितहरुको गुनासो छ । इन्द्रकुमारीले छिमेकी देबीमाया राईलाई पाँच वर्षअगाडि १ लाख ५० हजार रुपैयाँ ऋण दिएकी थिइन् । उनले पटक पटक गरी १ लाख ५० हजारको ३० लाख रुपैयाँ दिइसकेको सुनाइन् । अझै ४९ लाख ७० हजार रुपैयाँ दिनुपर्ने भन्दै दिनहुँ टर्चर दिने गरेको उनको गुनासो छ । ‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्,’ जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएकी राईले भनिन्, ‘१ लाख ५० हजारको ऋण ३० लाख रुपैयाँ दिइसक्दा पनि अझै ऋण चुक्ता भएन ।’ साहुले अझै साँवा र ब्याज गरेर ४९ लाख ७० हजारको दिनुपर्ने भन्दै चेक बाउन्समा मुद्दा हालेको उनले बताइन् ।

यसरी एकपछि अर्को गर्दै मिटर ब्याजको जालोमा पर्ने उल्लेखित घटना प्रतिनीधिमूलक हुन् । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आव्हान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २ सय २० जना बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय मोरङको अभिलेखमा देखिन्छ । प्रशासनमा दर्ता भएका २२० मध्ये ५७ वटा निवेदन उपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति हुन नमिलेपछि अदालत पठाएको छ भने १६३ निवेदन विचाराधीनमा रहेको छ ।

शुक्रबार, ०४ माघ, २०८१, बिहानको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर