विराटनगर । सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अन्य समस्यामा रहेका सहकारीको विषयमा पनि अध्ययन भइरहेको बताए । ‘पहिलो चरणमा हामीले अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौं,’ उनले भने, ‘बाँकी समस्यामा रहेका सहकारीहरुलाई पनि क्रमशः घोषणा गरेर समस्या समाधानको पहल गर्छौं ।’
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । पक्राउ परेका कतिपय अरु सञ्चालकहरु भने धरौटीमा रिहा भएका छन् ।
सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बू (अमृता सुब्बा) पनि संलग्न छन् । सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारबढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।
कोशी प्रदेश सरकारले गत पुस १८ गते बरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । समिति गठन भएको पाँच दिनपछि अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रुपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा संघको सम्पत्ती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न व्यवस्थापन समिति गठन गरिएको हो ।
मन्त्रालयको अनुगमनबाट समस्याग्रस्त देखिएका सहकारीको पहिचान गरि समस्याग्रस्त घोषणा गरिएको सचिव पाण्डेले जानकारी दिए । प्रदेश सहकारी ऐन २०७६ को दफा ८४ को उपदफा २ अनुसार अब सरकारले गठन गरेको समितिले सहकारीको चल तथा अचल सबै सम्पत्ती नियन्त्रणमा लिएर बचतकर्ताको बचत फिर्ताको प्रक्रिया अगाडि बढाउने उनले बताए ।