विराट एक्स्पोको तयारी : उद्योग संगठनले किन्यो दुई करोडमा ‘डोम’

विराटनगर । व्यवस्थित र स्थायी प्रदर्शनी स्थल नहुँदा हरेक पटक एक्स्पो वा व्यापारिक महोत्सव आयोजकले डोम भाडा बापत लाखौं रुपैयाँ तिर्नुपर्ने बाध्यता अब विराटनगरमा अन्त्य हुने भएको छ ।

उद्योग संगठन मोरङले करिब २ करोड लगानी गरेर तीन वटा ‘डोम’ खरिद गरेपछि विराटनगर र आसपासका जिल्लामा आयोजना हुने महोत्सवहरुका लागि आवश्यक पूर्वाधार उपलब्ध हुने भएको हो ।

उद्योग संगठन मोरङले खरिद गरेको डोम पहिलो पटक आगामी माघ ११ गतेबाट आयोजना हुने विराट एक्स्पोमा उपयोग गर्दैछ । संगठनका अध्यक्ष राकेश सुरानाले भने ‘हामीले २ करोड लगानी गरेर आफ्नै डोम खरिद गरेका छौं, यसबाट हरेक पटक डोमको भाडाका लागि २५÷३० लाख रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसलाई हामी भाडामा लगाउने प्रयोजनमा पनि प्रयोग गर्नेछौं, यसले डोमकै लागि बाहिरिने नेपाली रकम स्वदेशमै राख्न सहयोग पुग्नेछ ।’

यसअघि यहाँका उद्योगी व्यवसायीहरुले एक्स्पो वा प्रदर्शनकीका लागि भारतको कोलकता तथा अन्य भारतीय सहरबाट डोम भाडामा ल्याउने गरेका थिए ।

एक्स्पोलाई विशेष बनाइँदै

उद्योग संगठनले आगामी महिना १० दिनसम्म आयोजना गर्ने विराट एक्स्पोलाई विशेष बनाउने तयारी गरेको छ ।
एक्स्पोमा उत्पादनहरुको प्रदर्शनीमा विशेष ध्यान दिने र लगानी तथा लगानीको अवस्थाका बारेमा विषयगत छलफललाई प्राथमिकता दिएर एक्स्पोलाई बहुआयामिक बनाउने तयारी रहेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । उनले एक्स्पोलाई मेलाको रुपमा लिने गरिएको भन्दै विराट एक्स्पो वास्तवमै एक्स्पो हुने दाबीसमेत गरे ।

उनले भने, ‘मेला भनेको इन्टरटेन्मेन्ट (मनोरञ्जन)का लागि आयोजना गरिन्छ । तर एक्स्पो भनेको प्रोडक्टहरुको शोकेसिङ गर्नु हो । यसपटक सेकेसिङका अतिरिक्त टेक्नोलोजीलाई हामीले प्राथमिकताका साथ समावेश गरेका छौं । सूचना प्रविधि क्षेत्रका ३० जना जनशक्तिले यसपटक नियरन्तर काम गरिरहेका छन् । त्यसैले हामी कसरी स्वदेशी उत्पादन बढाउन सकिन्छ, जनशक्ति कसरी यहिँ रोक्न सकिन्छ र उनीहरुलाई कसरी उद्यमशील बनाउन सकिन्छ भन्नेमा बढी केन्द्रित हुनेछौं ।

अध्यक्ष सुराना भन्छन् ‘नेपालबाट मानिसहरु पलायन हुने क्रम तीब्र भइरहेकोले उनीहरुलाई स्वदेशमै रोजगार दिने वा उद्यमी बनाउनका लागि गर्नुपर्ने प्रयासका बारेमा छलफल गर्नेछौं भने युवाहरुलाई उद्यमी र रोजगार गर्न सक्षम बनाउने आत्मविश्वास जगाउन तालिमहरु दिनेछौं । कोशी प्रदेश धेरै सम्भावना भएको प्रदेश भएकोले बढीभन्दा बढीलाई उद्यमशीलता विकास गर्नेतर्फ हामीले ध्यान दिनेछौं । यस पटक हामीले ३ हजार भन्दा बढी युवालाई एक्स्पो अवधिमै १० दिने तालिम दिने तयारी गरेका छौं । त्यसैले हामी अहिलेसम्मकै उत्कृष्ट एक्स्पो आयोजना गर्छौं भन्ने प्रण गरेर तयारीमा जुटेका छौं ।’

युवाहरुलार्य कफी बनाउने, मोबाइल मर्मत गर्ने, इलेक्ट्रिसियन आदि तालिमहरु दिने उनले बताए । त्यसले युवाहरुलाई कुन तालिम लिँदा के सम्भावना छ, कहाँ तालिम लिन सकिन्छ, कुन क्षेत्र छनोट गर्ने, त्यसको बजारको सम्भावना, व्यापार र रोजगारको सम्भावना सबै बुझ्न सहयोग हुने अध्यक्ष सुरानाले बताए । तालिमका लागि युवाहरुले अनलाइनमार्फत आवेदन गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । सोमबार उद्योग संगठनले आयोजना गर्ने पत्रकार सम्मेलनमा अझ विस्तृतमा यसका बारेमा जानकारी दिने भन्दै उनले युवाहरुमा आशा गजाउनु सबैको जिम्मेवारी रहेको पनि बताए ।

यस्तै अध्यक्ष सुरानाले विराट एक्स्पोलाई प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई प्रभावकारी हुनसक्ने गरी नै तय गरेको पनि बताए । यद्यपि लगानी सम्मेलन गर्ने नगर्ने वा कहिले गर्ने भन्ने विषय प्रदेश सरकारले टुंग्याउने भएकोले एक्स्पो अवधिमै आयोजना गरेको खण्डमा सरकारका लागि पनि उपलब्धिमूलक हुने बताए । उनले भने, ‘हामीले एक्स्पोलाई लगानी सम्मेलनका लागिसमेत थप प्रभावकारी हुनसक्ने गरी नै तयारी गरेका थियौं, तर हाम्रोमा संकीर्ण सोच भएकाहरु पनि छन् । तर, हामी सबैले राम्रो गर्नुपर्छ, अरुले पनि राम्रो गरौं भन्ने हामी ठान्छौं । प्रदेश सरकारले हामीसँग कोलाब्रेसन गरेको भए, हाम्रो प्लेटफर्म उपयोग गरेको भए राम्रै हुन्थ्यो, सरकारले आवश्यक ठानेमा त्यो प्लेटफर्म अझै पनि प्रयोग गर्न सक्छ किनभने सरकार भनेको हाम्रो हो ।’ उनले प्रदेश लगानी सम्मेलनलाई सफल बनाउन उद्योग संगठन तत्पर रहेको भन्दै एक्स्पोमा साझेदारी नगरेपनि कुनै असर नपर्ने उनले बताए ।

सोमबार, २२ पुष, २०८१, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर