विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेपनि नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको दावी गरेका छन् ।
राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै सिटौलाले नेपाली काँग्रेसको नीतिलाई ओलीले अगाडि बढाइहरेको बताए ।
‘अहिले ‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ’ सिटौलाले भने, ‘राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला । तर, नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’
नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताए । ‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ’ उनले भने, ‘पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ, आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्याउनु छ ।’