उद्योग बन्दहुँदा मजदुर घर चलाउनै कठिन

विराटनगर । मोरङ सुनसरी औद्योगिक करिडोर अन्तरगत सुनसरीको दुहवीमा सञ्चालनमा रहेको युनाइटेड टेनरिज बन्द हुँदा त्यहाँ कार्यरत मजदुरहरु समस्यामा परेका छन् । उनीहरुलाई जहान परिवार चलाउन समस्या हुन थालेको छ । २०४६ सालदेखि निरन्तर चल्दै आएको उद्योग बन्द हुँदा त्यस उद्योगमा आश्रित भएर परिवार चलाउँदै आएका मजदुरहरु समस्यामा परेका हुन् ।
दुहबी नगरपालिका वडा नम्बर ६ स्थित युनाइटेड टेनरिज गत असोज छ गतेदेखि बन्द छ ।

स्थानीयहरुको विरोधले गर्दा उद्योग बन्द भएको हो । जनावरको छाला प्रशोधन गरी इटाली, चीन, भियतनाम, इन्डोनेसिया, टर्कीलगायतका मुलुकमा निर्यात गर्दै आएको उक्त उद्योग स्थानीयको विरोधका कारण सञ्चालन गर्न नसक्ने अवस्था भई बन्द भएको हो ।स्थानीयले दुर्गन्ध र प्रदुषण फैलाएको र त्यसका कारण मानिसमा विभिन्न रोगव्याधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा उद्योग बन्द भएको हो ।

उद्योग बन्द हुँदा त्यस उद्योगमा प्रत्यक्ष रोजगारी गरिरहेका ७० जना मजदुर तथा कर्मचारीहरुले रोजगारी गुमाएका छन् । त्यस्तै ७० जना मजदुरको करिव ५०० जना मजदुर परिवार प्रत्यक्षरुमा प्रभावित भएका छन् । उद्योग बन्द हुदाँ मजदुरहरुलाई घरपरिवार चलाउन र छोराछोरी पठाउन समस्या भएकोे मजदुरहरुले बताएका छन् ।

युनाइटेड टेनरिज दुहबीमा कार्यरत्त मजदुर मो.कलामले काम बन्द हुँदा घरव्यवहार चलाउन समस्या भएको बताए । उनले ३० वर्ष निरन्तर काम गर्दे आएका उद्योग बन्द हुदाँ गरिखाने बाटो बन्द हुनुका साथै छोराछोरी पढाउन समस्या भएको सुनाए । अर्का मजदुर मो.समसुलले काम बन्द हुँदा घरबनाउन लिएको किस्ता तिर्न नसक्दा बिच्चलीमा परेको बताए । विगत ३५ वर्षदेखि काम गर्दे आएको छौं उनले भने –‘अर्को उद्योगमा काम गर्न जानका लागि हामीसँग सीप छैन, सीप भएको उद्योग बन्द भयो ।’
दुहवीका स्थानीय टोलका केही स्थानीय युवाले नियोजित रुपमा छाला गन्हाएको नाममा उद्योग बन्द गराउन खोजेको केही स्थानीयको आरोप छ ।

मजदुर पनि स्थानीय रहेको सो उद्योग सञ्चालन गर्न चाहिने आवश्यक प्रक्रिया पूरा गरे पनि स्थानीयहरु उद्योग चल्न नदिने भन्दै बन्द गराएका हुन।उद्योगले कानून बमोजिम गर्नुपर्ने वातवरणीय प्रभाव मूल्यांकन नगरेका कारण प्रदेश सरकारले उद्योग सञ्चालनमा रोक लगाएको स्थानीय सरकारको भनाइ छ ।

वडाध्यक्ष, दुहवी नगरपालिका वडा नम्बर ६ घनश्याम हलुवाईले वतावरणीय प्रभाव मुल्यांकन नगरेको कारण स्थानीयको दबाबमा उद्योग बन्द भएको बताए । तर, उद्योग सञ्चालकले वातावरण वातावरण मन्त्रालयको निर्देशन बमोजिम उद्योग परिसरभित्रै प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) गर्न सार्वजनिक सुनुवाइको राखिएको थियो । तर, वडाध्यक्ष हलुवाईले सार्वजनिक सुनवाई बाहिर गर्न लगाउँदा अनधिकृत व्यक्तिहरुले सुझाव टिपोट गरेको माइन्युट नै च्यातिदिएका थिए । जसले उद्योग संचालन हुने भन्दा बन्द हुने वातावरण बनाउन सहयोग पुगेको उनीहरुको भनाइ छ ।

उद्योग सञ्चालक अरसलान अख्तरले उद्योगले वातवारणीय प्रभाव मुल्यांकन गर्ने प्रक्रियामा रहेको अवस्थामा गत पुस २ गते सार्वजनिक सुनुवाईको कार्यक्रम गरेको बताए । उक्त कार्यक्रममा एउटा समूहले निर्णय पुस्तिका च्यातेर वातवरणीय प्रभाव मुल्याङ्कन गर्ने प्रकृयालाई अवरोध गरेका बताउदै उलने भने –‘आफ्नो उद्योग बन्द गराउने लक्ष्यका साथ एउटा समूह लागेर आफूलाई दुःख दिइरहेको छ ।

उद्योग स्थापनाकालदेखि कसैलाई केही समस्या भएको थिएन, उनले भने –‘अहिले केही समूहले बन्द गराउन लागेको छ ।’
उद्योगले वातावरणीय क्षति नगरेको उल्टो जनावरको छाला व्यवस्थापन गरी वातावरण जोगाएको उद्योगको तर्क छ । उद्योगले पानी प्रशोधन केन्द्र स्थापना गरिसकेकाले उद्योग सञ्चालन गर्न दिनुपर्ने उद्योगमा कार्यरत मजदुरहरूको माग छ । उद्योग करिव ५ महिनादेखि बन्द रहेको र उद्योगलाई बदनाम गराउन केही व्यक्तिहरु लागिपरेको आरोप मजदुरहरुले पनि लगाउन थालेका छन् ।

सुनसरीको दुहबीमा रहेको युनाइटेड टेनरिज प्राइवेट लिमिटेडले वार्षिक १५ करोड रूपैयाँको छाला निर्यात गर्दै आएको थियो । उद्योगले मरेका जनावर र मासुका लागि काटिएका जनावरको छाला संकलन गरी प्रशोधन गर्दै आएको छ । उक्त उद्योगलाई नेपाल सरकारले आठ वर्षअघि आसिपी अवार्डसमेत दिएको थियो । उद्योगले छालाको जुता, व्याग लगायतका सामग्रीसमेत उत्पादन गर्ने तयारी गरिरहेको र आवश्यक मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न खोजिरहेको जनाएको छ ।

आइतबार, १४ पुष, २०८१, बिहानको १०:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर