
कुमार लुइँटेल
बुङ्बुङ्ती उड्ने धुलोको कुइरी मण्डल । भत्किएको रेलिङ । हेर्दै फोहोरी देखिने संरचना । रंग उडेको पिलर र त्यसमाथि बाँकी रहेको एउटा जुत्ताको अवशेष । नयाँ पुस्तालाई त यसबारे खासै चासो–सरोकार भएन नै । लेनादेना पनि नहुन सक्छ । तर, आफूलाई पुरानो पुस्ता भन्नेहरुका लागि चाहिँ इतिहास बिर्से झैं महसुस हुन्छ । दिनहुँ पूर्वीदक्षिण मोरङतिर हुइँकिने नेतृत्व लाज पचाउँदै जुत्ता हेर्छन अनि गाडीको ‘एक्सिलेटर’ जोडले थिचेर ‘स्पिड’ बढाउँछन् । खासमा यसकोे नाता–साइनो मोरङका कांग्रेसजनसँग जोडिएको छ । उनीहरु नै यसको मालिक र हकवाला । संरक्षणकर्ता र रखवाला पनि हुन् ।
विराटनगरबाट ठ्याक्कै १३ किलोमिटर पूर्व मोरङको कर्सिया बजार अवस्थित छ । कर्सिया हिजोआज उमागौरी कृषि सहकारी ठगी प्रकरणले चर्चामा छ । संघीय सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीको नाम ‘सर्वसाधारणको बचत अपचलन र ठगीमा’ जोडिन पुगेको छ । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको छ । दिनहुँ दैनिक पत्र–पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनमा कर्सियाको नाम आएर यो ठाउँको कुप्रचार मात्र भएको देखिन्छ । तर, हिजोको कर्सिया अर्कै हिसाबले प्रचारित थियो । कांग्रेसजनको महत्वको स्थल भनिन्थ्यो । भला वर्षमा एक पटक भएपनि कांग्रेसीहरु भेला हुन्थे । अनि प्रजातान्त्रिक समाजवाद उराल्ने चर्काचर्का भाषण गर्थे र फर्कन्थ
कर्सियामा भत्काइएको शालिकमा बाँकी रहेको जुत्ताको अवशेष अरु कसैको नभएर नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको हो । उनी घोडा चढेर हुलाकी मार्ग हुँदै भद्रपुरसम्म पुग्थे । जनसभा र पार्टीका कार्यक्रम गर्थे । यसबारे बिपीको आत्मवृत्तान्तमा उल्लेख छ । त्यसबेला विराटनगर–भद्रपुरको व्यापार यही मार्ग भएर गरिन्थ्यो । रंगेली, गौरीगञ्ज, झापा बजार र भद्रपुर गुलजार थिए । धान, गहुँ, तोरी, सनपाट र अरु अनाजका दर्जनौ मन्डी थिए । तेलहन र धानका गोला–मिलहरु चल्थे । अहिले फेरि यी बजार पक्की हुलाकी मार्गले जोडिने क्रममा छन् । पिच सडकले विराटनगर छुन लागेको छ ।
बिपी र उनको पृष्ठभूमि र विरासतसँग मोरङ कांग्रेस जोडिएको छ । बिपी जयन्तीमा हरेक वर्ष कार्यक्रमका लागि औपचारिक कार्यक्रम हुन्छन् । तर, मधेश आन्दोलनका क्रममा कर्सियामा ढालिएको बिपीको शालिक पुर्नस्थापित गर्न मोरङ कांग्रेस र तिनका नेताले पहल लिएको पाइँदैन । यसैले पनि पछिल्लो करिब एक दशकसम्म मोरङ कांग्रेसको नेतृत्वमा आसिन जिल्ला सभापति डिगबहादुर लिम्बूको कार्यकाल बिर्सन लायक बन्न पुगेको छ । आवधिक निर्वाचनका क्रममा पछिल्लो उपनिर्वाचनमा ग्रामथानमा कांग्रेसको पराजय त्यसकै एउटा उदाहरण हो । संगठन सुदृढीकरण, भ्रातृ र शुभेच्छुक संस्थाको हालतबारे त सबै कांग्रेसजन जानकार नै छन् । धेरै लेखिरहनै परेन ।
आन्दोलनकारीले कर्सियामा गिराएपछि पुनः नउचालिएको बिपीको त्यस्तै शालिक मोरङ कांगे्रस कार्यालय परिसरभित्र त नेतृत्व आफैले ढालिदियो । शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनावरण गरेको अर्धकदकोे शालिक लिम्बू नेतृत्वले ढालेको थियो । के ढाल्यो मात्र ? महिनौंसम्म उखेलिएको शालिकको सिंढीमुनि बास भयो । बिपीलाई मुन्तिर पारेर सिंढीबाट आफ्नो शानदार कार्यकक्षमा चढ्ने नेतृत्वले संचार माध्यममा समाचार प्रकाशन भएपछि बोराले छोपछाप पारेर मिल्काई दिए । शालिक पुनःनिर्माण गर्न र स्थापित गराउन अहिलेसम्म नेतृत्वले चासो दिएको कतै सुनिएको छैन ।
बिपीका पितापुर्खाले निर्माण गरेको कोइराला निवास विराटनगरमा इतिहासको साक्षी बनेर जीवित उभिएको छ । तर, कांग्रेस कार्यालय र कर्सियामा बिपीमाथि उनकै अनुयायीहरुले गरेको हेपाइती भने सहिनसक्नुको छ । बिपी स्मृति दिवसमा देखावटी अनि जनताले नपत्याउने चर्का भाषणमात्र ठोक्ने काम अझै भइरहेकै छ । त्यसैले ‘एउटा पत्यारलाग्दो र राम्रो काम गरेका थियौं’ भनेर भावि पुस्तालाई बताउन पनि कार्यकाल सकिन लागेको असफल मोरङ कांग्रेस नेतृत्वले बिपीका दुबै शालिक पुर्नःनिर्माण र स्थापना गर्न ध्यान दिने हो कि ? जय नेपाल ।