विराटनगरमा निर्माण सामाग्री बोकेको गाडीमा आगजनी, ५० लाखको क्षति

विराटनगर । विराटनगर–५ शान्तिचोकमा निर्माण सामाग्री बोकेको गाडीमा आगजनी भएको छ । एसुती निर्माण सेवाको अलकत्रा बोकेको गाडीमा शनिबार साढे ४ बजे एक्कासी आगजनी भएको निर्माण कम्पनीले जनाएको छ ।

विराटनगरको एभरेष्ट कलेजदेखि केसेलिया रोडसम्मको ठेक्का एसुती निर्माण सेवाले लिएको छ । करिब तीन किलोमिटर सडक कलोपत्रे गर्ने तयारी उक्त कम्पनीले गरेको थियो । ‘अलकत्र लगाउनु अगाडि सडकमा प्राइम लगाउने काम भइरहेको थियो । त्यसको लागि अलकत्र बोक्ने डिस्टीबेटर गाडीबाट अनलोड गर्ने तयारी भइरहेको थियो । त्यही क्रममा एक्कासी आगजनी भयो,’ निर्माण कम्पनीका निर्देशक किशोर भट्टराईले भने, ‘हिट नगरी अलकत्रा झर्दैन । आगो लगाएर हिट गर्ने क्रममा आगलागी भएको हो ।’ गाडीसँगै एउटा सुपर स्पेलेन्डर मोटरसाइकल पनि आगजनी भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल निर्माण कम्पनीकै रहेको छ । आगजनीबाट करिब ५० लाख बढीको क्षति भएको प्रारम्भीक अनुमान छ ।

शुक्रबार, ०५ पुष, २०८१, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर