विराटनगर । नेपाली काँग्रेस केन्द्रीय समितिले भेला रोक्न दिएको दबाब अस्वीप्कार गर्दै डा.शेखर कोइराला पक्षले विराटनगरमा पालिकाहरूको भेला आयोजना गरेको छ ।
मोरङका पालिका सभापतिहरु आयोजक रहेको भेलामा प्रदेशका १३७ पालिकामध्ये ११३ पालिकाका सभापति सहभागी भएको संयोजक रहेका विराटनगर महानगर सभापति दिपक चापागाईंले जानकारी दिए ।भेलाका नेता डा.शेखरले नै उद्घाटन गरे । आयोजकले गुटको कार्यक्रम नभएको दावी गरेपनि ‘नेपाली काँग्रेस प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१’ लेखिएको ब्यानर लेखिएको कार्यक्रमको मञ्चमा कोइराला पक्षका नेता मात्र थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुले शेखर कोइरालालाई १५ औं महाधिवेशनबाट पार्टी सभापति बनाउने र २०८४ को आम निर्वाचनपछि प्रधानमन्त्री बनाउने दाबी गरे । नेपाली काँग्रेसमा अहिले देखिएको समस्या र देशमा देखिएको समस्याको समाधान शेखरले मात्र गर्नसक्ने उनीहरुको दावी थियो ।
काँग्रेस ओखलढुङ्गाकी पूर्वसभापति गोमा केसीले शेखर अबको प्रधानमन्त्री र अबको पार्टी सभापति हुने ठोकुवा गरिन् । पाँचथरका काँग्रेस पूर्वसभापति नरेन्द्र केरुङले कार्यकर्ताको टुटेको मन र भावना जोड्ने काम कार्यक्रमले गरेको दावी गरे ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले भेला रोक्न दबाब दिएको भन्दै दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश पोखे । ‘केन्द्रीय समितिमा चटक देखाउनेहरू मात्रै छन् । दुई महामन्त्रीलाई विधान पढ्न पठाउनु पर्ने भयो,’ उनले भने, ‘शेखर कोईरालालाई तर्साउने काम नहोस् ।’
पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले आफ्नो समूहले राखेको कार्यक्रमबारे केन्द्रीय कार्यालयलाई थाहा नभएको भन्दै जिल्ला सभापतिहरुलाई पठाएको पत्रको चर्चा गर्दैै कार्कीले यस्तो आक्रोश व्यक्त गरेका हुन् । उनले आफू पदाधिकारी भए १५ लाख भोट बढाउँछु भन्नेहरुलाई कति भोट बढ्यो भनेर प्रश्न गर्नुपर्ने पनि कार्कीले बताए । ‘१५ लाख भोट बढाउँछु भनेर पदाधिकारी हुनेलाई सोध्नुहोला उपनिर्वाचनमा कति भोट बढ्यो ? कति घट्यो ? नोटले भोट आउँदैन’ उनले भने, ‘भोट किन्छु र जित्छु भन्ने जमाना सकियो ।’
सुनसरी सभापति केदार भण्डारी, मोरङ सभापति डिकबहादुर लिम्बूले शेखर कोइरालालाई सबै जनताले पर्खिएर बसेको दाबी गरे । ‘जनताको त्यो चाहनालाई तपाईंले व्यवस्थापन गर्नुपर्छ । १५ औं महाधिवेशनसम्म यो अभियान जारी रहनुपर्छ,’ लिम्बूले भने । उनले उपनिर्वाचनमा मोरङमा व्यहोरेको पराजयको नैतिक जिम्मा आफूले लिने पनि बताए ।
काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले केन्द्रीय कार्यालयले पठाएको पत्र बम भनेर हल्ला गरेको बताउँदै त्यसले पटाकाको पनि काम नगरेको दावी गरे । ‘केन्द्रको पत्रलाई बम भनियो । तर, त्यो पत्रले बमको होईन पटेकाको पनि काम गरेन,’ उनले भने, ‘यो कार्यक्रमले शेखर कोईरालालाई १५ औं महाधिवेशनमा सभापति बनाउने कुराको संकल्प पारित गरोस् ।’
काँग्रेस नेता गुरूराज घिमिरेले हरेक निर्वाचनमा जनमत खुम्चदै जानुको कारण समीक्षा गर्नुपर्ने बताए । ‘पार्टीभित्र बाघचाल, बुद्धचाल र चेस नखेलौं’ उनले भने, ‘पार्टीको चाल, चेहरा र चरित्र बदल्न शेखर कोईराला नेतृत्वमा पु¥याउनु पर्छ ।’ घिमिरे पनि केन्द्रले पठाएको पत्रमै केन्द्रीत हुँदै पार्टी कर्मचारीतन्त्रले नचल्ने टिप्पणी गरे ।
सांसद सरिता प्रसाईंले अर्को पक्षको भेला तथा कार्यक्रमलाई रोक्न खोजेर मुख बन्द गराउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले ठूलो बनाएको भएपनि प्रधानमन्त्री बन्न किन नसकेको भन्दै प्रश्न गरिन् ।
काँग्रेस नेता मिनेन्द्र रिजालले भने पार्टीमा कटुता र तिक्तता हुन नहुनेमा जोड दिए । ‘पार्टीमा कटुता र तिक्तता हुनु हुँदैन । रेखा कोर्न खोजेको अवस्था छ । त्यो रेखा राजनीतिक पार्टीमा सम्भव छैन । तर, महाधिवेशन भएको तीन वर्षको अवधि पुग्दा समीक्षा गर्नु र छलफल गर्नु आवश्यक होला नि त ?,’ उनले भने ।
डा.शेखर कोईरालाले भने प्रशिक्षण कार्यक्रममा ११३ वटा पालिकाका सभापति आएको भन्दै खुसी व्यक्त गरे । ‘उहाँहरू कुनै धाक धम्कीदेखि डराउनु भएन । तपाईहरूको सुरक्षा म गर्छु भन्ने विश्वास दिलाउन चाहन्छु । यसमा डराउनु पर्ने नर्भस हुनु पर्दैन,’ कोइरालाले भने ।
दुई ठूला दल काङ्ग्रेस र एमाले मिलेर संविधानमा सुधार, सुशासन र आर्थिक सुधारको कुरा गरेर अगाडि बढेको बताउँदै यो सरकारलाई असफल हुने छुट नभएको कोइरालाले बताए । ‘तर, अप्ठ्यारो मानिमानि म भन्दैछु, चार महिना भयो संविधानको विषयमा दुईवटा दलसँग छलफल पनि भएको छैन’ उनले भने, ‘सुशासन नभई, भ्रष्टाचार रोक्न सकिँदैन । भ्रष्टाचारले देश चुर्लुम्म डुबिसकेको छ । काङ्ग्रेस बरालिएको हो कि जस्तो पनि लाग्छ । हामी हाम्रो गन्तव्यमा पुग्नका लागि सबैलाई एक ठाउँमा उभिनु पर्छ ।’
१५ औं महाधिवेशनपछि गलत कुराहरू हुन नदिने बताउँदै कोइरालाले महाधिवेशन हुन एक वर्षभित्र हुनुपर्छ भनेर दबाब सिर्जना गर्न कार्यकर्तालाई आह्वान गरे । ‘अहिलेको तरिकाले अधिवेशन तोकिएको समयमा हुने सम्भावना छैन’ उनले भने, ‘अहिले पनि नवीकरण हुन सकेको छैन ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।