एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्ग्स पराजित

विराटनगर । लाहिरु मिलान्थाको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले ११६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो ।

मिलान्था ५२ बलमा ९ चौका र २ छक्का सहयोगमा ७५ रनमा अविजित रहे । ठाकेर ३३ बलमा २ चौका सहयोगमा २९ रनमा नटआउट रहे । मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि पहिलो अर्धशतक पूरा गरेका हुन् । एनपीएलमा यो दोस्रो अर्धशतक हो ।

जनकपुरका मार्की आशिफ शेख पहिलो ओभरको चौथो बलमा नै बोल्ड आउट भए । आशिफ शुन्य रनमा नै क्रिस सोलेको बलमा आउट भएका थिए । यस्तै कप्तान अनिल शाह ५ रनमा बोल्ड आउट भएका थिए । उनी दोस्रो ओभरको अन्तिम बलमा सोलेको बलमा बोल्ड आउट हुन पुगे । विराटनगरका क्रिस सोले र प्रतिश जिसीले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गुप्टिलले सर्वाधिक ५५ रनको योगदान दिए । उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

गुप्टिल १४ औँ ओभरको अन्तिम बलमा हर्ष ठाकेरको बलमा अनिल शाहको हातबाट क्याच आउट भए । गुप्टिलले १३ औँ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । अ‍ोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए । ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिर्दै लोकेशलाई पेभेलियनको बाटो देखाए ।  

नवौं ओभरको दोस्रो बलमा अकिब इलियास १५ रन बनाउँदा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले अकिब इलियासलाई एलबीडब्लु धरापमा पारे । १२ औँ ओभरको अन्तिम बलमा निकोलस किर्तन ९ रन बनाउँदा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए । बसिर अहमद र सन्दीप लामिछाने समान ७ र राजेश पुलामी १ रनमा आउट भए भने प्रतिश जिसी २ रनमा बोल्डआउट भए । जितेन्द्र मुखिया शुन्य रनमा नै बोल्ड आउट भए ।

किशोरले १८ औँ ओभरको तेस्रो बलमा सन्दीप र चौथो बलमा जितेन्द्र मुखियालाई आउट गराएका थिए । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए भने हर्ष ठाकेर र किशोर महतोले समान २ विकेट झारे । मोहम्मद मोहसिन र वेन माइकले समान एक विकेट आफ्नो नाममा गरे ।

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

शनिबार, १५ मंसिर, २०८१, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर