उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि सुरु हुने व्यवस्था छ ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।

निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक÷एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

बिहिबार, १३ मंसिर, २०८१, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर