नेप्से र कारोबार रकम दुबै बढ्यो


विराटनगर ।मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन करिब १६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने करिब साढे ३३ अंक बढेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ३३.४१ अंक बढेर २७१६.६६ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार ५७२ पटकको कारोबारमा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपयाँबराबरको १ करोड ४२ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ ।
यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ ७० पैसा घटेर १ हजार ३२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

मङ्गलबार, ११ मंसिर, २०८१, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर