नेप्से सूचकमा ३१ अंकको गिरावट

विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेको हो ।यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक ८ कारोबार दिनपछि २७०० विन्दुभन्दा तल बन्द भएको हो ।

यसअघि गत कात्तिक २१ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो । सो दिन नेप्से २६७५.५१ विन्दुमा बन्द भएको थियो । यस दिन नेप्से घटेर सोही विन्दु नजिक झरेको छ ।बिहीबार नेप्से परिसूचक ३१.३१ अंक घटेर २६८०.४४ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८४ हजार ८५८ पटकको कारोबारमा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरै बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १९ करोड नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

बिहिबार, ०६ मंसिर, २०८१, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर