मर्यादा भुलेकाहरुले गरेको प्रदेशकै बद्नामी

 सम्पादकीय

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतबार पक्राउ परे । उनलाई मन्त्रीकै पदमा रहेको बेला मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आरोप लागेको छ । प्रदेश र संघ सरकारको अनुमतिबिनै गत कात्तिक १३ गते जापान उडेका अधिकारीले नक्कली काजगातको आधारमा अन्य चार जना पनि साथमा लिएर गएको र जापान प्रवेश गारउन खोजेको आरोपमा अनुसन्धान भइरहेको छ । प्रदेशको आन्तरिक मामिलामन्त्री भनेको प्रदेश सुरक्षा र कानुनको नेतृत्व गर्ने मन्त्री हो । अर्थात प्रदेशको गृह मन्त्रालयलाई आन्तरिक मामिला मन्त्रालय भनिएको हो । संघीय सरकारले प्रहरी हस्तान्तरण गरिनसकेको भएपनि सुरक्षा निकायलाई निर्देशन र परिचालयनमा केहि न केहि अधिकार प्रदेशको गृहमन्त्रीले प्रयोग गरिरहेको हुन्छ । अधिकारी त्यहि भूमिकामा थिए, एक साता अगाडिसम्म । उनी प्रहरीलाई निर्देशन र परिचालन गरिरहेका थिए । तर, अहिले उनी प्रहरी हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीको अपराध कति हो भन्ने अनुसन्धानबाटै खुल्ला । यद्यपी उनले पदीय मर्यादा र आचरण तथा कुटनीतिक क्षमता देखाउन नसकेको भने पुष्टि भइसकेको छ ।

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा विवादमा पर्ने सांसद अधिकारी मात्रै हैनन् । सोलुखुम्बु निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित नेकपा एमालेका सांसद बुद्धिकुमार राजभण्डारी गत साउनमा जुवाखालबाटै पक्राउ परेका थिए । कोशी प्रदेशका पूर्वमन्त्री रहेका उनलाई गत सान २६ गते काठमाडौंबाट प्रहरीले रंगेहात जुवातास खेलिरहेको बेला पक्राउ गरेको थियो । काठमाडौंको गौरिघाटस्थित राजु महतको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका भण्डारीसहित ११ जना तीन दिनपछि जनही १० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । प्रदेशसभामा अन्य सांसद र आफू इतरका दललाई नैतिकता, इमान्दारिता, निष्ठा र संसदीय आचरणको बारेमा प्रवचन दिने राजभण्डारी जुवाखालबाट पक्राउ पर्दा उनलाई मत दिने मतदाताहरु नै लजाउने अवस्था बन्यो ।

विवादित छविका कोशी प्रदेशका सांसद खगेनसिंह हाङ्गाम त अहिले बहालवाला मन्त्री छन् । उनले २०८० साल भदौ अन्तिममा तत्कालीन ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए । फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले तत्कालीन डीएसपी (हाल एसपी) लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका थिए । ‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले लिम्बूलाई धम्की दिँदै भनेका थिए । कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएपछि अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका उनी मन्त्री बन्न सफल भएका छन् ।

पूर्वराज्यमन्त्री इन्दिरा थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेको खुलासा यसअघि भएको थियो । धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेको विषय अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । सो प्रकरण बाहिर आएपछि भने नेपाली काँग्रेसकी समानुपातिक सांसद थापाले उक्त जग्गा आफू अध्यक्ष रहेको संस्था केयर वुमेन नेपालको नाममा ल्याएकी छन् । पाख्रिबास ८ मुगा ठेगाना रहेको केयर वुमेनको नाममा थापाको आमानको नाममा रहेको जग्गामा घर बनाएर पटक–पटक प्रदेश सरकारले करोडौं बजेट खर्चिएको छ । झापाका एमाले सांसद राधाकृष्ण खनाल सहकारी ठगीमा मुछिएका छन् । सहकारी ठगीमा उनका छोरा सुमन खनाल पक्राउ परिसकेका छन् । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको प्रकरण निर्वाचन अगाडि आउँदा खनालले चुनाब जितेपछि समस्या समाधान गर्ने प्रतिबद्धता मतदाताबीच गरेका थिए । तर, एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी फिर्ता नगर्दा उनका छोरा अहिले प्रहरी नियन्त्रणमा छन् । कांग्रेसका इस्राइल मन्सुरीले सभामुखको लेटरप्याड दुरुपयोग गर्दै पत्राचार गरेको सार्वजनिक भएको थियो । सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभाका केहि बैठकको अध्यक्षता गरेका उनले आफूलाई सभामुखकै हैसियत देखाउँदै लेटरप्याड बनाएपछि विवादमा परेका थिए ।

सांसदहरुलाई माननीय सम्बोधन गर्ने गरिन्छ । माननीयको अर्थ सबैले मान्ने हो । सांसद हुनेहरुको आचरण, व्यवहार, निष्ठा र क्षमता सबैले सम्मान गर्ने उदाहरणीय हुन्छ भन्ने विश्वासमा नै उनीहरुलाई माननीय भनिएको हो । तर, पछिल्लो समयमा माननीय भएकाहरुले आफ्नो मात्र बद्नामी गरेका छैनन्, सो पद, उनीहरुलाई मत दिने मतदाता र देशकै बद्नामी गरेका छन् । पछिल्लो समयमा कोशी प्रदेशसभाका सदस्यहरुको एककपछि अर्को हर्कत बाहिर आउँदा सिंगै प्रदेशवासीको शीर निहुरिने अवस्था बनेको छ भने उनीहरुको व्यवहारले प्रदेश र संघीयताकै बद्नामी भएको छ ।

मङ्गलबार, २७ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर