कोशी प्रदेश : प्राविधिक शिक्षा संकटग्रस्त, विद्यार्थी भर्ना हुनै आउँदैनन्

भर्ना भएका पनि बिचैमा कक्षा छाड्ने क्रम बढ्दो

विराटनगर । कोशी प्रदेशका सिटिइभिटी तथा अन्य शिक्षालयहरुमा संचालित प्राविधिक धारको शिक्षा संकटग्रस्त देखिएको छ । ती शिक्षालयमा विद्यार्थीको भर्ना दर कमजोर हुँदै गएको छ भने भर्ना भएका विद्यार्थीले बीचैमा पढाइ छोड्ने दर पनि उच्च भएको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशको सीपयुक्त जनशक्तिको माग र आपूर्ति सर्वेक्षण एवं प्रक्षेपणको विषयमा अध्ययन गरेको थियो । त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रले गरेको अध्ययन प्रतिवेदन अनुसार यस्तो तथ्याङ्क भेटिएको हो ।

कोशी प्रदेशका १४ जिल्लामा सिटिइभिटी अन्तर्गत आंगिक शिक्षालय ७, साझेदार शिक्षालय १४, सम्बन्धन प्राप्त सामुदायिक विद्यालय ४१, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट अनुदान प्राप्त १०२, निजी प्राविधिक विद्यालय ४२ र तालिम संचालन गर्ने निजी शिक्षालय १३१ गरी जम्मा ३३७ शिक्षालय रहेका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको परीक्षा नियन्त्रण कर्यालयबाट प्राप्त तथ्याङ्क हेर्दा कृषि विधाको बाली विज्ञानको डिप्लोमा तहमा २०७४ सालपछि उत्पादन क्षमता नियमित रुपमा वृद्धि गरेपनि विद्यार्थी भर्ना संख्या सोही अनुपातमा बढ्न सकेको छैन । २०७७ सालपछि भर्ना दर घट्दो छ ।

यस्तै डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान) कार्यक्रममा भने राष्ट्रिय स्तरमा भर्ना संख्या ७७ प्रतिशत मात्रै छ । कोशी प्रदेशमा भने भर्नादर ९१ प्रतिशत रहेको छ । यो कार्यक्रममा नेपालमा ६३ प्रतिशतले नियमति पास गर्दा कोशीमा ६० प्रतिशतले मात्रै नियमित पास गरेका छन् ।
यो कृषि विधाको पशु विज्ञानको डिप्लोमा तहमा विद्यार्थी संख्या पनि घट्दो क्रममा देखिएको छ । २०७७ सालमा कोशी प्रदेशमा पशु विज्ञानको डिप्लोमा तहमा ३६४ जना विद्यार्थी भर्ना भएका थिए । तर, २०८० सालमा आइपुग्दा उक्त संख्या घटेर २३९ मा आइपुगेको छ । विद्यार्थी भर्नाका लागि कोटा भने २०८० सालमा ४४० जनाको रहेको थियो ।

यस्तै डिप्लोमा इन फरेष्ट्रीमा पनि विद्यार्थी भर्ना संख्या घट्दो क्रममा देखिएको छ । २०७७ सालमा यो विधामा ७८ जना विद्यार्थी भर्ना हुँदा १२० जनाको कोटामा २०८० सालमा भने ४७ जना मात्रै भर्ना भएका छन् । यो कोटाको तुलनामा भर्ना संख्या ३९ प्रतिशत मात्रै हो । २०७५ सालदेखि सुरु गरिएको यो कार्यक्रमको उत्पादन क्षमता भने बढाउँदै लगिए पनि विद्यार्थीको भर्ना कम संख्यामा भएको देखिएको छ ।

यस्तै डिप्लोमा इन सिभिल इन्जिनियरिङमा आंगिक शिक्षालय, साझेदार, सामुदायिक, निजी गरेर ३० वटा विद्यालयमा १ हजार ४८० जना विद्यार्थी पठन पाठन गराउन सक्ने कोटा छ । २०७७ सालमा यो कार्यक्रम अन्तर्गत १९२ जनाको क्षमता हुँदा विद्यार्थी भर्ना संख्या १४१ थियो । तर, २०८० सालमा यसको कोटा बढाएर २३२ जना पुर्याउँदा विद्यार्थी भर्ना संख्या घटेर १३१ रहेको छ ।

यस्तै डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रममा भर्ना भएर पढाई छाड्नेको संख्या औसतमा ३ प्रतिशत रहेको छ र नियमित पास हुनेको संख्या औसतमा ८० प्रतिशत रहेको थियो । यो कार्यक्रममा पनि कोटा बढाइरहँदा विद्यार्थी भर्ना दर भने ६१ प्रतिशत मात्रै छ । २०८० सालमा यो संख्या ९२ प्रतिशत पुगेको छ ।

यस्तै डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम अन्तर्गत पनि कोशी प्रदेशका विद्यालयमा उत्पादन क्षमता अनुसार विद्यार्थी भर्ना नभएको देखाउँछ । २०८० सालमा ५७६ जनाको उत्पादन क्षमता भएका विद्यालयहरुमा २७२ जना मात्रै भर्ना भएका छन् । २०७७ मा ८९ प्रतिशत रहेको भर्ना संख्या २०८० मा पुग्दा ४७ प्रतिशतमा सिमीत भएको छ ।

यस्तै सोही कार्यक्रम संचालन गरिरहेका निजी शिक्षालयहरुमा पनि विद्यार्थी भर्ना संख्या लगातार घट्दो रहेको देखिएको छ । औसत भर्ना संख्या २०७६ मा ९२ प्रतिशत थियो भने २०८० मा आइपुग्दा २५ प्रतिशतमा झरेको छ । एउटा निजी विद्यालयले भने २०८० सालमा सो कार्यक्रम अन्तर्गतका कोटामा विद्यार्थी नै भर्ना नभएको अध्ययन प्रतिवेदनले जनाएको छ । ‘प्रतिवेदनमा विगत नौ वर्षको औसत भन्दा २०८० मा केही बढी विद्यार्थी भर्ना भएको तथ्याङ्कले देखाएको भएपनि २०७७ सालदेखि भर्ना संख्या घटेर २०८० मा आइपुग्दा ४५ प्रतिशतमा झरेको र यो क्रम नरोकिने हो भने आउँदा वर्षहरुमा केही शिक्षालयहरुमा यो कार्यक्रम नै बन्द हुने अवस्थामा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

कोशी प्रदेशमा २ वटा सामुदायिक विद्यालय र ३ वटा निजी शिक्षालयले संचालन गरिरहेको डिप्लोमा इन कम्प्युटर कार्यक्रममा पनि भर्ना दर घट्दै गएको देखिएको छ । २०८० मा एक निजी शिक्षालय र एक सामुदायिक विद्यालयले त यो कार्यक्रममा विद्यार्थी भर्ना नै गरेनन् । छुट्याइएको कोटाको १९ प्रतिशत मात्रै विद्यार्थी भर्ना भए । ‘विगत केही वर्षमा विश्व डिजिटलाइजेसन तर्फ द्रुत गतिमा अगाडि बढ्दै गर्दा त्यसको प्रभाव डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमको भर्ना दरमा देखिनु पर्नेमा अत्यन्तै न्यून भर्ना संख्या देखिनुमा ११ र १२ कक्षामा पढाई हुने कम्प्युटर विज्ञान साथै ९–१२ प्राविधिक धारमा पढाई हुने कम्प्युटर इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना संख्या बढ्नु एक कारण रहेको छ भने अर्को कारण कम्प्युटरको रोजगार बजारका लागि आवश्यक सफ्टवेयर, हार्डवेयर, नेटवर्किसँग सम्बन्धीत ठूलो उद्योगहरु कोशी प्रदेशमा नहुनु देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै डिप्लोमा इन इलेक्ट्रोनिक्स कार्यक्रममा पनि विद्यार्थी भर्ना संख्या घटिरहेको छ । २०७७ सालमा उत्पादन क्षमता ४८ रहेकोमा भर्ना क्षमताको तुलनामा भर्ना संख्या नै कम भएपछि २०७८ सालमा २४ बनाइयो । तरपनि यो कार्यक्रममा विद्यार्थी भर्ना संख्या खस्कदो छ । यो कार्यक्रमको बिचमा पढाई छाड्नेको संख्या पनि औसतमा २३ प्रतिशत रहेको छ । भर्ना संख्या २०८० सालमा यो कार्यक्रममा १५ जना मात्रै रहेको छ ।

रोजगारदाताहरुले इलेक्ट्रोनिक्स र इलेक्ट्रिकको समिश्रण रहेको पिसिएल टेक्नोलोजीको नेपालका उद्योगहरुमा प्रशस्त माग रहेको छ । तर, नेपालमा उत्पादित जनशक्तिले पिसिएल टेक्नोलोजीमा काम गर्ने क्षमता नराखेकोले सो कार्यक्रमको उत्पादित जनशक्तिको खपत नेपालका उद्योगहरुमा गर्न नसकिएको बताएका छन् । सोही कारण पनि विद्यार्थीको संख्या घट्दो क्रममा देखिएको छ ।
कोशी प्रदेशमा २०७६ सालबाट डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रमको उत्पादन सुरु भएको छ । हाल ४ वटा साझेदार शिक्षालयबाट अध्यापन भइरहेको यो कार्यक्रमको भर्ना क्षमताको तुलनामा विगत तीन शैक्षिक सत्रमा विद्यार्थीको संख्या घट्दो देखिएको छ ।

यस्तै डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा पनि २०७८ सालपछि विद्यार्थी संख्या घट्दो रहेको भेटिएको छ । ४८ जनाको कोटा रहेको उक्त कार्यक्रममा ३० जना मात्रै विद्यार्थी भर्ना भएका छन् । डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजीमा पनि ४१ प्रतिशत औसत भर्ना संख्या रहेको छ ।
डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङमा विद्यार्थी भर्ना संख्या शून्यमा छ । कोशी प्रदेशमा २०७६ सालमा अध्यापन सुरु गरी २०७७ सालमा उत्पादन क्षमता बढाइएको डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङको भर्ना संख्या शुरुबाट नै कम थियो । २०८० सालमा आइपुग्दा त शून्य हुन पुगेको हो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसलाइज्ड इन हाइड्रोपावर)मा पनि विद्यार्थी भर्ना दर कम देखिन्छ । हाइड्रोपावरलाई लक्षित गरेर उत्पादन गरिने जनशक्ति उत्पादन २०७७ सालबाट सुरु गरिएको थियो । सामुदायिक विद्यालयमा सञ्चालित यो कार्यक्रमको भर्ना संख्या पनि समग्रमा घट्दो रहेको पाइएको छ ।

उता, डिप्लोमा इन नर्सिङ (प्रमाणपत्र तह नर्सिङ)को उत्पादन क्षमता अनुसार विद्यार्थी भर्ना संख्या र नियमित पास हुने विद्याथीृको संख्या भने उल्लेख्य रहेको पाइएको छ । तर, चार वर्ष अघिको तुलनामा हाल भने उत्पादन क्षमता नै घटाइएको देखिन्छ । २०७२ सालमा ४ सयको कोटा रहेको यो कार्यक्रमको कोटा घटाउँदै २०८० सालमा २८० मा सिमीत गरिएको छ ।

उता, डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजीमामा भने कोटा बढाइए पनि भर्ना संख्या बढ्न नसकेको देखिएको छ । यो कार्यक्रममा २०७८ सालसम्म भर्ना क्षमता १५० प्रतिवर्ष रहेको भएपनि २०८० मा ६३० पुर्याइएको छ । जसमध्ये ३८२ जना मात्रै भर्ना भएका छन् । डिप्लोमा इन फार्मेसी कार्यक्रममा विद्यार्थी भर्ना संख्या ६७ प्रतिशत रहँदा डिप्लोमा इन फिजियोथेरापी (मेडिकल साइन्स)मा ४० जना विद्यार्थी भर्ना गर्ने कोटा रहेपनि २६ जना मात्रै भर्ना भएका छन् ।

डिप्लोमा इन होटल म्यानेजमेन्ट कार्यक्रममा पनि विद्यार्थी भर्ना दर सन्तोषजनक नरहेको देखिएको छ । यो कार्यक्रममा २०७७ सालमा ४० जनाको कोटा हुँदा २४ जना विद्यार्थी भर्ना भएका थिए । २०८० सालमा कोटा बढाएर ८० पुर्याएको भएपनि विद्यार्थी भर्ना भने २९ जना मात्रै भएका छन् ।

प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङमा पनि २०८० सालमा नेपालको विद्यार्थी भर्ना कोटा २ हजार ५२० जनाको थियो । भर्ना भने ९२४ जना अर्थात् ३७ प्रतिशत मात्रै भए । कोशी प्रदेशमा पनि विद्यार्थी भर्ना कोटा ४ सयको रहँदा भर्ना १४६ अर्थात् ३७ प्रतिशत मात्रै रहेको छ । विगत ५ वर्षको तथ्याङ्कलाई हेर्दा उत्पादन क्षमता घटाइएको छ भने विद्यार्थी संख्या पनि घट्दो क्रममा छ । प्रि डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा पनि २०८० सालमा जम्मा ८ जना मात्रै भर्ना भएका छन् । जबकी यसको कोटा ८० जनाको थियो । २०७६ सालमा २ सय जनाको कोटा हुँदा भर्ना संख्या ९० रहेको थियो ।

उता प्रि–डिप्लोमा इन लाइभस्टक प्रोडक्सन÷एनिमल हेल्थ कार्यक्रममा पनि विद्यार्थी भर्ना निराशाजनक छ । २०८० सालमा १२० जनाको कोटामा उक्त कार्यक्रमका लागि ४२ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । भेटेरिनरी साइन्स, प्लान्ट साइन्स, डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्राविधिक धारमा पनि विद्यार्थी भर्ना दर कमजोर छ ।

आकर्षण केमा ?

वैदेशिक सहयोगमा संचालिन एप्रिन्टिससिप मोडलको कार्यक्रममा भने आकर्षण बढेको देखिएको छ । सो कार्यक्रममा विद्यार्थीले तीन महिना पन्ध्र दिन शिक्षालयमा अध्ययन गर्ने र उन्नाइस महिना पन्ध्र दिन उद्योगमा गई औद्योगिक प्रशिक्षार्थीका रुपमा काम गर्दै सिक्दै कमाउदै अध्ययन गर्न पाउँछन् । भत्ता सहितको र रोजगारीको अनुवभ सहितको कार्यक्रम भएको हुनाले एप्रिन्टिससिपि मोडलको कार्यक्रममा विद्यार्थीको उत्सुकता बढेको देखिएको छ ।

यो कार्यक्रममा २०७६ सालमा ८० जनाको कोटामा ६३ जना विद्यार्थी भर्ना भएका थिए । तर, २०८० सालमा ५० जनाको कोटामा शतप्रतिशत विद्यार्थी भर्ना भएका छन् । प्रि–डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा कोटा अनुसार विद्यार्थी भर्ना भएको देखिएको छ । यस्तै प्रि डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङमा पनि विद्यार्थी भर्ना दर राम्रो देखिएको छ ।

यस्तै प्रि डिप्लोमा इन इफमेसन टेक्नोलोजीमा पनि विद्यार्थी भर्ना दर उत्साहजन देखिन्छ । यो कार्यक्रममा २०७६ सालमा ४० जनाको कोटामा शतप्रतिशत विद्यार्थी भर्ना भए । २०८० सालमा १८० जनाको कोटामा १७८ जना विद्यार्थी भर्ना भएका छन् । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ प्राविधिद्दक धारमा भने विद्यार्थी भर्ना दर उत्साहजनक छ । डिप्लोमा इन जनरल मेडिसिनमा पनि विद्यार्थी भर्ना राम्रो रहेको छ ।

अध्ययन टोलीले प्राविधिक धारमा समग्रमा र तहगत रुपमा विद्यार्थी र शिक्षार्थीले बिचैमा कक्षा छाड्ने प्रवृति उच्च देखिएको निष्कर्ष निकालेको छ । ‘यो समस्यालाई नीतिगत रुपमै सम्बोधन गर्न आवश्यक छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘प्राविधिक धारतर्फ कार्यरत शिक्षकको दरवन्दी, योग्यता, शिक्षक र कर्मचारीको रोजगारीको सुनिश्चितताको अभाव छ ।’

उक्त अध्यया टोलीमा प्रा.डा. अर्जुनकुमार बराल, डा. लक्ष्मी कान्त शर्मा, डा.चन्द्र उपाध्याय तिम्सिना, इ. युवराज चौधरी, धर्मराज ढकाल, निरज ठाकुर र अमृत कटुवाल रहेका थिए । अध्ययनले प्राविधिक एवं व्यवसायिक शिक्षा तथा तालिमसँग सम्बन्धीत श्रम बजारका माग पक्ष र आपूर्ति पक्षको अवस्था अध्ययन एवं आगामी पाँच वर्षको प्रक्षेपण गरेको छ । अध्ययनका क्रममा सीपयुक्त प्राविधिक जनशक्तिको उत्पादन र खपत हुने कृषि र वन, निर्माण र इन्जिनियरिङ, स्वास्थय, हस्पिटालिटी र केही अन्य क्षेत्रलाई समेटेको थियो ।

शुक्रबार, १६ कार्तिक, २०८१, दिउँसोको ०२:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर